News Summary
Generated by OK AI. Editorially reviewed.- आसामी बाँदर मुख्यत: पहाडी र मध्यम पहाडी भेगका घना वन क्षेत्रमा बसोबास गर्छन् । यो प्राय: मध्य र पश्चिमी पहाडी क्षेत्रमा देखिन्छ, यद्यपि पूर्वी नेपालमा भने निकै विरलै मात्रामा देखिने अभिलेखित छ ।
- नेपालमा आसामी बाँदर (Macaca assamensis) सानो संख्यामा संरक्षित वन्यजन्तुको रूपमा पाइन्छ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित छ।
- स्थानीय बासिन्दाले पनि आसामी बाँदरलाई अन्य सामान्य बाँदर प्रजातिबाट छुट्याएर चिन्न सक्नुपर्छ, किनकि गलत पहिचानकै कारण यस संरक्षित वन्यजन्तु संरक्षणको दृष्टिले थप जोखिममा पर्न सक्छ ।
‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूको घर बनेको पनि देख्न सक्दैन’ भन्ने उखान नेपालमा निकै प्रचलित छ ।
सुनसरीस्थित बराहक्षेत्रबाट २०८२ पुसको पहिलो साता सप्तकोशी किनार हुँदै काठमाडौं फर्कंदै गर्दा सडक छेउमा देखिएको बाँदरको एक झुण्डले ध्यान तान्यो । पहाडी भूभागको प्राय: खोला किनारमा कतैकतै आसामी बाँदर हुन्छ भन्ने सुनेको थिएँ । नियालेर हेरें । गाडी रोक्दै क्यामेरा उठाउँदा ती आसामी बाँदर (Macaca assamensis) नै हुन् भन्ने यकिन गरें ।
गाडीभित्रैबाट फोटो खिचें । बाहिर निस्कँदा तिनीहरू भाग्छन् भन्ने थाहा पाएको थिएँ । किनभने, यो मेरो विगत चार वर्षमा आसामी बाँदरको तस्बिर खिच्ने तेस्रो प्रयास थियो । २०७९, पुसमा इलामको हाँसपोखरी नजिक बाटोमा देख्दा क्यामेरा निकाल्न नपाई तिनीहरू टाढा भागेका थिए । निकैबेर लुकामारी गर्दै पछ्याउँदा पनि तस्बिर खिच्न पाइनँ ।
त्यस्तै, २०८१ पुसमा ताप्लेजुङबाट तमोर करिडोर भएर फर्कंदा सिमरा पुल नजिक आसामी बाँदर देखें तर फोटोग्राफीका लागि आधा घन्टा पछ्याउँदा पनि राम्रो तस्बिर खिच्न सकिनँ ।
नेपालमा आसामी बाँदर संकुचित एवं सानो झुण्डका रूपमा जंगल क्षेत्रमा मात्रै देखिएको छ । यसको संख्या थोरै र आंशिक रूपमा विखण्डित रहेको अनुमान छ ।
संसारभरका वन्यजीवको अवस्था बताउने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले आसामी बाँदरलाई रातो सूचीमा समावेश गरेको छ । यसैगरी, यो प्रजाति नेपालको ऐनमा संरक्षित वन्यजीव पनि हो । यसकारण वन्यजीवप्रति रुचि राख्नेका निम्ति आसामी बाँदरप्रति यसै आकर्षण हुने नै भयो ।
आसामी बाँदर मानव उपस्थितिबाट सजिलै भाग्ने बानी भएकाले यस प्रजातिको फोटोग्राफी प्राय: चुनौतीपूर्ण नै रहन्छ । सप्तकोशी किनारमा यसपटक तस्बिर खिच्दै गर्दा आसामी बाँदर सम्बन्धी लक्ष्मण खनाल, अस्मित सुब्बा र अरूहरूले लेखेको (सन् २०२४ मा नेपलिज जर्नल अफ जुलोजी मा प्रकाशित) एउटा लेख सरसर्ती सम्झें ।
त्यो लेखमा भेरी नदी किनारतिर गरिएको अध्ययन थियो । जसमा आसामी बाँदरबारे नेपालमा जानकारी अत्यन्त कम छ भन्ने बुझेको थिएँ ।
बाँदर–ढेंडु
नेपालमा एक अर्को बाँदर प्रजातिको संख्या अत्यधिक वृद्धि भइरहेको छ । तिनले मानिसको जनजीवन प्रभावित बनाएका छन् । अर्कोतिर, आसामी बाँदर प्रजाति ज्यादै न्यून संख्यामा छन् । सर्वसाधारणले यी दुवै प्रजाति एकै प्रजाति हुन् भन्ठानेर सकेसम्म लखेट्छन् र तालपरे कुकुर लगाएर मार्ने प्रयत्न समेत गर्छन् ।
हाम्रा गाउँघरमा करिब तीनदशक अघिसम्म जंगल बाहिर बाँदर विरलै निस्कन्थे । हिजोआज गाउँघरमा बाँदरले बाली नष्ट गर्ने, घरभित्र पसेर आम समुदायका दैनिक जीवनमा समस्या सिर्जना गर्दै आएको छ । यसले कतिसम्म दु:ख दिन्छ भने घरमा सुटुक्क पसेर फ्रिज खोलेर फलफूल खाइदिन्छ । दुर्गममा त बाँदरले मानिसको बसाइँ हिंडाएको छ । उसो त पहाड र तराईका जंगल आसपासका बासिन्दा मात्र होइन, काठमाडौं उपत्यकाका बासिन्दा पनि बाँदरबाट प्रताडित छन् ।
बाँदर जस्तो आकृति भएको अर्को जनावर ढेंडु हो । हिजोआज ढेंडु पनि जंगल बाहिर निस्कँदो रहेछ । तर, यी दुई फरक–फरक वंशका जनावर हुन् ।
नेपालमा ‘बाँदर’ भनेर चिनिने मकाका (Macaca) वंश र ‘ढेंडु’ सेम्नोपिथेकस (Semnopithecus) वंशका हुन् ।
बाँदरको अनुहार रातो वा गुलाबी, रौंरहित हुन्छ र यसको पुच्छर शरीरको आधाजति लामो हुन्छ । हिंड्दा तल झुन्डिएको देखिन्छ । ढेंडुको अनुहार भने प्राय: गाढा कालो हुन्छ, वरिपरि सेतो वा खरानी रङका रौंले घेरिएको हुन्छ । यसको पुच्छर झन्डै शरीर जतिकै लामो हुन्छ र जमिनमा हिंड्दा धनुष जस्तै अगाडितिर बङ्ग्याएर राख्छ । आकारमा ढेंडु बाँदरभन्दा अग्ला, पातला र रूखमा लामो फड्को मार्न बढी सक्षम हुन्छन् ।
मकाका वंश
सामान्यत: बाँदरलाई मंकी भनिन्छ । तर, अध्ययन अनुसन्धानकर्ताहरूले मंकी नभनेर प्राय: रिसस् (Rhesus) लेख्छन् । उनीहरूले रिसस् मात्र होइन, रिसस् मकैक (Rhesus macaque) लेख्छन् । जीवको वैज्ञानिक नाम दुई शब्दबाट जनाइन्छ । वैज्ञानिक नाममा अघिल्लो शब्द वंश नाम र पछिल्लो शब्द प्रजाति जनाउने नाम (Species epithet) लेख्ने चलन छ । जबकि रिसस् भनेको वंश नाम होइन । रिसस वंश नाम नभएपछि मकैक पनि प्रजाति नाम होइन । त्यसैले रिसस् मकैक वैज्ञानिक नाम भनेर बुझ्नु गलत हुन्छ ।
रिसस् प्राचीन ग्रीक शब्द हो । ग्रीसको प्राचीन साहित्यमा काल्पनिक राजालाई रिसस् भनेर लेखिएका छन् ।
अफ्रिकाको उप–सहारा क्षेत्रमा बोलिने एक भाषा बान्टु हो । बान्टु भाषामा बाँदरलाई मकाका भनिन्छ । बान्टु भाषाको मकाकालाई फ्रेन्चहरूले मकैक भने । कालान्तरमा बाँदर राजा भन्ने अर्थमा बाँदर जनाउने दुई वटा शब्द रिसस् मकैक प्रचलनमा आयो ।
सन् २०२३ मा eLife जर्नलमा The rhesus macaque as a success story of the Anthropocene शीर्षकमा एक लेख प्रकाशित भएको छ । लेखमा रिसस् मकैक भनेको हामीकहाँ जताततै पाइने रातो बाँदर हो । यसको वैज्ञानिक नाम मकाका मुलाटा हो । उल्लिखित लेख अनुसार, मकाका वंशमा २४ प्रजाति छन् ।
त्यसमध्ये रिसस् मकैक ठूलो बथानमा रहने, उच्च आनुवंशिक विविधता भएका र उल्लेखनीय पारिस्थितिक लचिलोपन प्रदर्शन गर्ने प्रजाति हो । यही लचिलोपनका कारण, तिनीहरू विभिन्न किसिमका वासस्थानमा बस्न र अनेक प्रकारका आहारमा बाँच्न सक्षम छन् ।

मकाका वंश अन्तर्गतका प्रजातिहरू २५ लाखदेखि ११ हजार ७०० वर्ष अवधि बीच एउटै साझा पूर्वजबाट विकसित भएको मानिन्छ । त्यसताका समुद्र सतह अहिलेभन्दा धेरै तल थियो, जसका कारण, पूर्वी एशिया, दक्षिणपूर्वी एशिया, ताइवान र जापानका केही भू–भागहरू अस्थायी रूपमा स्थल–जडान (Land bridges) द्वारा जोडिएका थिए । यी स्थल–जडानहरूले प्रारम्भिक मकाका समूह विभिन्न दिशामा फैलिन सजिलो भएको थियो ।
पछि हिमयुग समाप्त भई समुद्र सतह बढ्दै जाँदा ती स्थल–जडानहरू क्रमश: समुद्री अवरोधमा रूपान्तरण भए । यसले गर्दा एक–आपसमा जडित मकाका समूह विभिन्न भौगोलिक रूपमा अलग–थलग (जियोग्राफिकल आइसोलेसन)मा परे ।
यही अलगावले समयक्रममा आनुवंशिक विचलन, स्थानीय वातावरण अनुसारको अनुकूलन र अन्तत: नयाँ प्रजातिहरूको विकास गरायो । यही प्रक्रियाको परिणामस्वरुप रिसस् बाँदर मुख्यभूमि एशियामा ताइवान बाँदर ताइवान टापु र जापानी बाँदर जापानमा उद्विकास हुनपुगे ।
आसामे बाँदर
ई–लाइफ जर्नलमा प्रकाशित लेखमा प्रस्तुत एक तालिका अनुसार मकाका प्रजातिहरू उद्विकासका आधारमा जम्मा ७ समूहमा विभक्त गरिएका छन् ।
करीब ७ देखि १० लाख वर्षअघि मकाका वंशमा व्यापक रूपमा विविधता देखिन थाल्यो भन्ने वैज्ञानिक मान्यता छ । यही क्रममा मकाका वंशबाट पहाडी सुख्खा तथा खोला किनारातिर बस्ने मकाका समूह थोरै भिन्न किसिमको स्वरुपमा विकसित भयो ।
सम्भवत: उत्तर–पूर्वी भारत (असम, अरुणाचल प्रदेश), भुटान, उत्तर म्यानमार, दक्षिण–पश्चिम चीन (युनान) तथा पूर्वी नेपालका पहाडी वन क्षेत्रहरूमा जहाँ धेरै गर्मी न धेरै जाडो; ती क्षेत्रहरूमा भिन्न प्रजातिका रूपमा विकास भए होलान् । मकाका प्रजातिलाई सन् १८४० मा जोन म्याक्लेल्याण्डले आसाममा फेला पारे र त्यसको वैज्ञानिक नाम मकाका आसामेन्सिस् राखे ।
यसको शरीर कडा, बलियो र अलि बाक्लो रौं, रौं खैरो–खरानी रंगको हुन्छ । यसमा अर्को बाँदर प्रजातिमा जस्तो रातोपना भएको जस्तो हुँदैन । पेटतर्फ फिका खैरो–खरानी रंगको हुन्छ ।
मैले सस्तकोशी किनारमा देखेको भालेको शरीरको रौं खरानी रंगको र छाती, ढाड र हातखुट्टाको भाग हल्का खैरो थियो । ढाडको रंग गाढा, चकलेट–खैरोदेखि फिका वा धेरै फिक्का रंगसम्म फरक–फरक हुन सक्छन् भनेर विवेक मेननले लेखेको Indian Mammals: A Field Guide शीर्षक पुस्तकमा उल्लेख छ । (सन् २०२३, पृ. ८८)

आसामी बाँदर नेपालमा सर्वत्र पाइने बाँदरसँग छुट्टिने भनेको पीठ भागतिर सुन्तला जस्तो रंग नहुने रहेछ । पुच्छर पनि अलि फरक हुँदोरहेछ । यसको पुच्छर अक्सर सिधा वा थोरै ढल्किएको जस्तो हुन्छ ।
जबकि हामीकहाँ पाइने अर्को बाँदर प्रजातिमा टुप्पोको भाग धनुष आकारको वा घुम्रिएको जस्तो हुन्छ । वयस्कमा स्पष्ट दाह्री अनि गालामा लामो रौं हुँदोरहेछ । मकाका वंशका आधा दर्जन प्रजाति पुच्छरका आधारमा पनि पहिचान हुँदोरहेछ ।
आसामी बाँदरको पुच्छर मध्यम लम्बाइको भए पनि प्राय: शरीरसँगै झुन्डिएको जस्तो देखिन्छ । भाले र पोथी बीच आकारमा केही फरक देखिन्छ । भाले सामान्यतया ठूलो र बलियो हुन्छ । उसको आँखा वरिपरि गाढा छाया देखिन्छ । टाउकोको माथिल्लो भाग अलि सपाट हुनु यसको विशेष पहिचान हो ।
आसामी बाँदर मुख्यत: पहाडी र मध्यम पहाडी भेगका घना वन क्षेत्रमा बसोबास गर्छन् । यो प्राय: मध्य र पश्चिमी पहाडी क्षेत्रमा देखिन्छ, यद्यपि पूर्वी नेपालमा भने निकै विरलै मात्रामा देखिने अभिलेखित छ । यो प्रजाति रूखमा चढ्न र जमिनमा हिंड्न दुवैमा सक्षम हुन्छ । दिनको समयमा सक्रिय रहने यो बाँदर समूहमा बस्छ । समूहभित्र यसको सामाजिक सम्बन्ध निकै बलियो हुन्छ । संकटका बेला समूहका सदस्यहरू एक–अर्कालाई सचेत गराउँदै सुरक्षित स्थानतर्फ सर्ने व्यवहार देखिन्छ ।
आहारका दृष्टिले आसामी बाँदर सर्वहारी हो । यसले वनमा पाइने फलफूल, कोपिला, पात, बीउ, जरा जस्ता वनस्पति पदार्थका साथै कहिलेकाहीं कीरा, साना जीव र कृषि बाली पनि खान्छ । यही कारणले कतिपय स्थानमा मानव–बस्ती नजिक यसले बालीमा क्षति पुर्याएको गुनासो सुनिन्छ ।
तर वन–पारिस्थितिकी सन्तुलनमा यसको महत्वपूर्ण भूमिका छ । किनकि यसले बीउ फैलाउने काम गर्छ । यही जैविक महत्वका कारणले पनि आसामी बाँदर नेपालमा कानूनी रूपमा संरक्षित वन्यजन्तुका रूपमा सूचीकृत गरिएको हो ।
मुलाटा र आसामेन्सिस बीच भिन्नता
आसामी र रिसस् बाँदर बीचको मुख्य भिन्नता पहिलो दृष्टिमा नै अनुहार र शरीरको बनोटबाट छुट्याउन सकिन्छ ।
आसामी बाँदरको अनुहार सामान्यतया फुस्रो–खैरो वा हल्का गुलाबी देखिन्छ, अनुहारमा रौं हुँदैन र अनुहारको भाव केही शान्त देखिन्छ । यसको टाउको माथिल्लो भाग हेर्दा गोलो भएर उचालिएको देखिंदैन, बरु निधारदेखि टाउकोको माथिल्लो भागसम्मको रेखा हल्का समतल/सपाट जस्तो देखिन्छ । यही कारण, यसको टाउको चौडा र च्याप्टो प्रभाव दिने देखिन्छ । यो लक्षण विशेष छेउबाट हेर्दा स्पष्ट देखिन्छ, जहाँ निधार धेरै उठेको हुँदैन ।
आसामी बाँदरको शरीर कडा तथा बाक्लो रौंले ढाकिएको हुन्छ । यसको पुच्छर मध्यम लम्बाइको भए पनि शरीरसँग झुन्डिएको जस्तो देखिन्छ । यसको विपरीत, हामीकहाँ भएको अर्को प्रजाति अर्थात् मुलाटाको अनुहार स्पष्ट रूपमा रातो वा गाढा गुलाबी हुन्छ । यस्तै, मुलाटा प्रजातिको अनुहार खुला र चम्किलो देखिन्छ । पुच्छर आसामी बाँदरभन्दा अलि लामो हुन्छ ।
बसोबास र व्यवहारको आधारमा पनि यी दुई प्रजाति फरक देखिन्छन् । आसामी बाँदर प्राय: घना वन, पहाडी र दुर्गम क्षेत्रमा सीमित रहन्छ र मानव बस्तीबाट टाढा बस्न रुचाउँछ । यो स्वभावत: अलि डरपोक र मानवसँग कम घुलमिल हुने खालको हुन्छ ।
यसको विपरीत, मुलाटा बाँदर मानव बस्ती, शहर, मन्दिर, सडक छेउ र खेतीयोग्य क्षेत्र वरपर रहन रुचाउँछ । मानिससँग नजिक हुने, खानेकुरा खोस्ने र भीडभाडमा नडराउने स्वभाव मुलाटा प्रजातिको प्रमुख विशेषता हो, जसका कारण यो नेपालका धेरै ठाउँमा अत्यधिक देखिने बाँदर बनेको छ ।
आसामी बाँदर मुख्यत: वनमा पाइने फलफूल, पात, कोपिला र प्राकृतिक आहारमा निर्भर हुन्छ र कृषि क्षेत्रमा कम निर्भर हुन्छ । त्यसैले यसले तुलनात्मक रूपमा कम बाली नोक्सानी पुर्याउँछ ।
मुलाटा बाँदर भने अत्यन्तै अनुकूलनशील प्रजाति हो, जसले प्राकृतिक आहारसँगै मानवले फ्याँकेका खाना, अन्न, तरकारी र बाली समेत सजिलै खान्छ । यही कारण मुलाटा प्रजाति छिटो फैलिने र संख्या बढ्ने प्रजाति मानिन्छ, जबकि आसामी बाँदर भने सीमित रहेको, कमै मात्र देखिने र संरक्षणको दृष्टिले बढी संवेदनशील प्रजाति हो ।
ऐनमा आसामी बाँदर
बाँदर जंगली जनावर हो । कानूनले कुनै पनि जंगली जनावर मार्नु वर्जित छ । बाँदर मार्ने क्रममा यदि मकाका आसामेन्सिस् पर्यो भने बँदेल, हरिण, चित्तल, जरायो मारेभन्दा बढी सजाय छ ।

ऐन संरक्षित भएका कारण यसको अस्तित्व बाघ, गैंडा, जंगली हात्ती, सालक, रेडपान्डा, जंगली याक लगायत मारेसरह हुन्छ । किनभने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ बमोजिम मकाका आसामेन्सिस् अर्थात् आसामी रातो बाँदर संरक्षित वन्यजन्तु हो ।
हामीकहाँ, संरक्षित वन्यजन्तुलाई मारे वा हानि नोक्सानी गरेबापत गरिने सजाय सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २१ अन्तर्गत सजाय हुने प्रावधान समावेश छ ।
यो ऐनको दफा २१ को उप–दफा १ (ग) बमोजिम संरक्षित वन्यजन्तु वा सोको नमूना सम्बन्धी कसुर गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म वा दुवै जरिवाना गर्न सक्ने जनाइएको छ ।
यस्तै, दफा २१ को उपदफा (२) बमोजिम कसुर ठहरिने कुनै कार्य गर्ने व्यक्तिलाई मद्दत गर्ने वा कुनै किसिमले सहयोग पुर्याउने मतियारलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
उप–प्रजाति पेलोप्स
मसँग भारतको स्तनधारी जनावरका तस्बिर समावेश केही पुस्तक छन् । ती पुस्तकमा समावेश आसामी बाँदरको तस्बिर र सप्तकोशी नदी किनारमा भेटिएको दुरुस्तै मिल्दैन । यस्तै, इलाम हाँसपोखरीमा सुनाखरी विज्ञ भक्तबहादुर रास्कोटीले खिचेको आसामी बाँदर पनि अलि फरक छ ।
जनावर सम्बन्धी मेरो अध्ययन कम भएकाले म र रास्कोटीले खिचेको तस्बिर आसामी बाँदरको हो कि होइन भनेर मैले बाँदरविज्ञ मुकेशकुमार चालिसे सरसँग सम्पर्क गरें । उहाँले, दुवै आसामी बाँदर हुन् भनेपछि तस्बिर खिचेको सार्थक भयो भन्ने ठानें ।
मसँग भएका पुस्तकमा आसामी बाँदरको तस्बिर थोरै फरक हुनुको कारणचाहिं नेपालमा भएको बाँदरको फरक उप–प्रजाति रहेछ । आसामी बाँदरका जम्मा दुई वटा उप–प्रजाति रहेछन् । नेपाल सहित छिमेकी देशका केही भूभागमा भएको उप–प्रजाति मकाका आसामेन्सिस् पेलोप्स रहेछ । भारतको धेरैजसो भागमा हुने उप–प्रजाति चाहिं मकाका आसामेन्सिस आसामेन्सिस रहेछ ।
यी दुई उप–प्रजातिमध्ये पेलोप्सको पुच्छर यसको टाउकोदेखि शरीरको लम्बाइको आधाभन्दा बढी र आसामेन्सिसको चाहिं आधाभन्दा अलि छोटो हुने रहेछ ।
हामीकहाँ भएको आसामी बाँदर धेरै कम चिनिएको, सीमित वितरण भएको र संरक्षणको दृष्टिले संवेदनशील वन्यजन्तु हो ।
प्राय: सबै बाँदरलाई एउटै ठानेर हेर्ने हाम्रो सामाजिक बुझाइका कारण यो प्रजाति न सही रूपमा पहिचान हुनसकेको छ, न त यसको संरक्षणको आवश्यकताबारे नै पर्याप्त चेतना फैलिएको छ ।
नेपालको सीमित वन क्षेत्रमा छरिएर मात्र पाइने आसामी बाँदरको अस्तित्व आज जंगल संकुचन, मानव हस्तक्षेप र गलत पहिचानबाट थप जोखिममा परेको छ । यो प्रजाति कानूनी रूपमा संरक्षित भए पनि व्यवहारमा संरक्षण चेतना कमजोर छ ।
त्यसैले आसामी बाँदर र अन्य बाँदर प्रजाति बीचको स्पष्ट भिन्नता जनस्तरसम्म पुर्याउने, स्थानीय अवलोकन र अभिलेखनलाई प्रोत्साहन गर्ने तथा वन–आधारित संरक्षण रणनीतिलाई बलियो बनाउने आवश्यकता छ ।
अन्तत: आसामी बाँदर केवल एउटा दुर्लभ प्रजाति मात्र होइन, नेपालको वन–पारिस्थितिक सन्तुलनको मौन संकेतक पनि हो । यसलाई सही रूपमा चिन्ने, बुझ्ने र जोगाउने जिम्मेवारी राज्य, अनुसन्धानकर्ता र आम नागरिक सबैको साझा दायित्व हो ।
विशेषगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र डिभिजन वन कार्यालयका कर्मचारीहरूले आसामी बाँदरको प्रजातिगत पहिचान गर्न सक्ने क्षमता विकास गर्नु, यसको वितरण क्षेत्र पहिचान गर्नु तथा नियमित जनसंख्या गणना सञ्चालन गर्नु अत्यन्त आवश्यक छ ।
यसैगरी; वन कर्मचारी, सामुदायिक वन उपभोक्ता समूह तथा वनसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय बासिन्दाले पनि आसामी बाँदरलाई अन्य सामान्य बाँदर प्रजातिबाट छुट्याएर चिन्न सक्नुपर्छ, किनकि गलत पहिचानकै कारण यस संरक्षित वन्यजन्तु संरक्षणको दृष्टिले थप जोखिममा पर्न सक्छ ।
आजको सचेत पहल, वैज्ञानिक गणना र संस्थागत जिम्मेवारीले मात्र भोलि हाम्रो वन र त्यसका मौलिक जीवहरू सुरक्षित रहन सक्छन् । अर्कोतिर, मकाका मुलाटा प्रजातिका बाँदरहरूबाट जनजीवनका निम्ति सास्ती भइरहेको छ । यसको संख्या घटाउनतर्फ सरकारले कार्यविधि बनाउनुपर्छ ।
मुकेश चालिसेका अनुसार आसामी बाँदरलाई पहरे बाँदर भनिन्छ । वन व्यवस्थापन सम्बद्ध व्यक्तिहरूले हाम्रा ऐनको लाज राख्न पनि पहरे बाँदर चिन्न सक्नु र संरक्षणका उपायहरू अवलम्बन गर्नु/गराउनुपर्छ ।
प्रतिक्रिया 4