१७ पुस, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झाले आसन्न निर्वाचनमा रास्वपाको बहुमत आउने पक्का भएको दाबी गरेका छन् ।
बुटवलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
नेता तथा कार्यकर्तालाई संयमित, धैर्य र अनुशासित भएर अघि बढ्न उनको आग्रह थियो ।
‘बालेन शाह र कुलमान घिसिङजीसँगको पार्टी एकतापछि अब रास्वपाको बहुमत आउने पक्का भयो,’ झाले भने ।
तर बहुमत आउँछ भन्ने दम्भ पालेर अहिल्यैदेखि अरूको अस्तित्व स्वीकार नगर्नेतर्फ रास्वपा नलाग्ने उनले बताए ।
झाले बालेन र कुलमानको पार्टीसँग एकता गर्दा निर्वाचन आयोगले तोकेको समय सीमा अन्तिम बेला भएकाले समानुपातिक उम्मेदवारको सूचीमा गल्ती भएको स्वीकार गरे ।
‘समय अभावका कारण विधि प्रक्रिया अनुसार छनोट गर्न सकिएन, गल्ती भएको हो स्वीकार गर्छौं,’ झाले भने ।
गुप्ता र चौधरी रास्वपा प्रवेश
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सञ्जय गुप्ता र सल्लाहकार एवं राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य धनेस्वरी चौधरी रास्वपा प्रवेश गरेका छन् ।
उनीहरू सहित दुई दर्जनलाई रास्वपा प्रवक्ता मनिष झा लगायतले रास्वपामा स्वागत गरेका हुन् ।
गुप्ता एमाले रोहिणी गाउँपालिका पूर्वइन्चार्ज समेत हुन् ।
प्रतिक्रिया 4