
७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यहरू आन्दोलनमा सहभागी भएको बताएका हुन् ।
पार्टीको झण्डा नबोकी सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उनको भनाइ थियो ।
पूर्व केन्द्रीय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रीय सदस्यहरू गणेश कार्की, कान्तिशिखा लगायत आन्दोलनमा सक्रिया भूमिका रहेको उनले बताए ।
तुलनात्मक रुपमा जेनजी आन्दोलनमा सबैभन्दी बढी रास्वपाका कार्यकर्ताहरू सहभागी भएकोसमेत उनको दाबी छ ।
‘हाम्रो पार्टीमा जेन जी अहिले पनि हुनुहुन्छ । हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेनजी पुस्ताबाट हुनुहुन्छ । उहाँहरू पनि जानुभएको थियो । केन्द्रीय सदस्य त्यो बेलामा हुनुहुन्थ्यो सुमनाजी पनि जानुभएको थियो,’ उनले भने, ‘गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रीय सदस्यहरू, सम्भवत: अरु पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रुपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ, त्यहाँ । तर हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो, अगुवाइ हो भनेर दाबी गरेका थिएनौँ ।’
भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागीता रहेपनि २४ गतेको घटनामा भने सहभागिता नरहेको उनको भनाइ छ । २४ गतेको घटनामा सहभागिताका लागी पार्टीले कुनै आवह्वान नगरेको उनले बताए ।
प्रतिक्रिया 4