+
+
Shares
विचार :

राष्ट्रिय मेलमिलाप दिवस, भूराजनीति र कांग्रेसको कार्यभार

विगतमा सत्ता स्वार्थमा लिप्त हुँदा आम मानिस नेपाली कांग्रेससँग रिसाएका छन् । नयाँ पुस्ता जेनजीले  बीपीलाई देखेको छैन वैकल्पिक शक्तिहरू १० वर्षको भिजन लिएर जनतामा जाँदै गर्दा लामो इतिहास बोकेको कांग्रेस भने आफैँभित्र रुमल्लिएको छ ।

डा. डिला संग्रौला डा. डिला संग्रौला
२०८२ पुष १६ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पुस १६ गते राष्ट्रिय एकता मेलमिलाप दिवस मनाउँदै आएको छ जुन बीपी कोइरालाले ०३३ सालमा भारतको निर्वासनबाट फर्किएको दिन हो।
  • बीपी कोइरालाले ०३३ सालमा लिएको राष्ट्रिय मेलमिलापको नीति नेपालमा पञ्चायती व्यवस्थाको समयमा राष्ट्रियता जोगाउन जोखिम मोलेर लागू गरेका थिए।
  • नेपाली कांग्रेसले पार्टीभित्रको गुटगत समस्या समाधान गरी १५ औं महाधिवेशन सफल बनाउन र राष्ट्रिय एकता कायम राख्न पहल गर्नुपर्ने अवस्था छ।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला ०३३ सालमा भारतको निर्वासनबाट फर्किएको दिनको सम्झनामा हरेक वर्ष नेपाली कांग्रेसले पुस १६ गते राष्ट्रिय एकता मेलमिलाप दिवस मनाउँदै आएको छ ।

बीपी नेपाल फर्किँदै गर्दा नेपालमा राजाको सक्रिय नेतृत्वमा पञ्चायती व्यवस्था थियो भने  दक्षिण एसियाको भूराजनीति पनि जटिल बन्दै गएको अवस्थामा उहाँ नेपालको राष्ट्रियता जोगाउन  जोखिम मोलेर ‘राष्ट्रिय मेलमिलापको नीति’ लिँदै भारतबाट  काठमाडौं उत्रिनु भयो ।

त्यतिबेला उहाँले लिएको राष्ट्रिय मेलमिलापको नीति केवल एउटा राजनीतिक रणनीतिमात्रै थिएन, त्यो देशभक्ति र दूरदर्शिताको महत्वपूर्ण कदमका रुपमा नेपाली राजनीतिमा सधैं चर्चामा रहँदै  आएको छ ।

बीपीले ०३३ सालमा लिएको नीति सत्ता स्वार्थभन्दा माथि उठ्दै छुट्टै अस्तित्वमा रहेको सिक्किम राज्य भारतमा विलय भएपछि नेपालको अस्तित्व पनि संकटमा पर्ने खतरा देखेर नै उहाँले ‘त्यतिबेलाका राजा र प्रजातन्त्रवादी शक्तिहरु नमिल्ने हो भने देशैं रहँदै’ भन्ने निष्कर्ष निकाल्नु भएको थियो ।

भू राजनीतिक चुनौती मेलमिलापको औचित्य

देश अहिले  विकराल अवस्थाबाट गुज्रिरहेको छ भने संक्रमणकाल झन लम्बिन सक्ने खतरा पनि उत्तिकै छ । त्यसैले अहिले देशकै ठूलो पार्टी भएकाले नेपाली कांग्रेसले  सबैलाई मिलाएर निकास दिने  पहल गर्नु पर्छ  ।

५० वर्ष पहिलेको तुलनामा नेपालका भू राजनीतिक चुनौती अरु बढेका छन्।  हाम्रा छिमेकीहरु भारत र चिन विश्वकै प्रमुख शक्ति बन्ने दिशामा अगाडि बढी रहेका छन् ।

यतिबेला चीनले अमेरिकासँग आर्थिक, सामरिक, प्राविधिक लगायतका क्षेत्रमा प्रतिस्पर्धा  गरिरहेको छ। यस्तोबेला मुलुकभित्र सबै दल र सबै पक्षको बीचमा सहमति र सहकार्य हुन नसके मुलुक द्वन्द्वमा फस्ने र देशको अस्तित्व नै मेटिन सक्ने खतरातर्फ हामी सबै सचेत हुनु पर्छ।

रुस-युक्रेन युद्ध, संसारमा बढ्दो हात हतियारको दौड अनि आर्थिक संकट तथा जलवायु परिवर्तन जस्ता चुनौतीले नेपालजस्ता अल्पविकसित मुलुकका लागि थप चुनौती सिर्जना गरेका छन्।

रुस-युक्रेन युद्ध, संसारमा बढ्दो हात हतियारको दौड अनि आर्थिक संकट तथा जलवायु परिवर्तन जस्ता चुनौतीले नेपालजस्ता अल्पविकसित मुलुकका लागि थप चुनौती सिर्जना गरेका छन्।  यस्तोबेला सुझबुझपूर्ण निर्णय गर्न सक्ने र सबैलाई समेटेर अगाडि बढ्न सक्ने नेतृत्व मुलुकले खोजेको छ।

नेपालका विगतका हरेक आन्दोलनमा नेपाली कांग्रेसले मुख्य भूमिका निर्वाह गरे पनि पछिल्लो २०८२ भदौ २३–२४ को जेनजी विद्रोहको भेउसम्म नपाउनु आफैंमा हाम्रा लागि पनि लज्जाको विषय हो । यसको गम्भीर समीक्षा हुन जरुरी छ ।

सत्तामा भएको कांग्रेसले देशमा के हुँदैछ भन्नेसम्मको जानकारी नपाएर एकाएक संविधान नै घाइते बन्ने अवस्था आउनु दुखद् कुरा हो । अहिले नेपाली कांग्रेसमात्रै होइन, अन्य पुराना  राजनीतिक दलहरु सामु  दिनानुदिन चुनौतीहरु बढिरहेका छन् । नयाँ र वैकल्पिक भनिएका शक्तिहरुले पुराना भनिएका दलहरुमाथि धावा बोल्दा प्रष्टसँग नीति लिएर जनतासमक्ष पूग्नुपर्ने कांग्रेस अहिले आन्तरिक कलहमा अल्झिरहेको छ।  यसले पार्टी नै असान्दर्भिक हुन सक्ने खतरा देखिएको छ  ।

जेनजी आन्दोलन हुनुमा नेपाली कांग्रेसको पनि केही न केही  जिम्मेवारी छ । त्यो जिम्मेवारी लिएर पार्टी अगाडि बढ्नु पर्छ । नेपाली कांग्रेस सत्तामा हुँदा पनि स्वतन्त्रता उपभोग गर्न नपाएपछि कुशासन र भ्रष्टाचार बढेकै कारण युवाहरुले २७ घण्टामा नेपालको राजनीति नै परिवर्तन गरे । त्यसपछि सडकमा पुगेको नेपाली कांग्रेसले अहिले जिम्मेवारीपूर्वक संविधानलाई ट्रयाकमा ल्याउनकै लागि निर्वाचनका लागि तन–मन लगाउनु पर्ने अवस्था छ ।

तर, अहिले पनि डेढ महिनासम्म चलेको केन्द्रीय कार्यसमितिको बैठक र त्यसपछि बसेको  कार्य सम्पादन समितिको बैठक देख्दा आम मानिसले प्रश्न गर्न थालेका छन् ‘कांग्रेस चुनावदेखि डराएकै हो ?’ यो प्रश्नमा हरेक कांग्रेसीले दिने जवाफ ‘लोकतन्त्रको प्राणवायु चुनाव हो र यसमा हामी खरो उत्रिनेछौं’ भन्ने हुनु पर्छ ।

कांग्रेसको कार्यभार

विगतमा नेपाली कांग्रेस सत्ता स्वार्थमा लिप्त हुँदा सधैं आफ्नो मात्रै फाइदा देख्ने परिपार्टीकै कारण आम मानिस नेपाली कांग्रेससँग रिसाएका छन् । २०७९ सालकै चुनावमा कार्यकर्तालाई हसियाँ हथौडामा भोट हाल्न लगाउने, अहिले सरकार बनाउने बेलामा प्रतिपक्ष बन्ने फेरि सत्ताकै लागि प्रतिस्पर्धी शक्ति एमालेसँग हस्ताक्षर गरेर राजनीतिक नैतिकताको प्रश्न पनि उब्जिएकै हो ।

संसदका दुई ठूला दलहरु नै सत्तामा रहेपछि कमजोर प्रतिपक्ष हुँदा सरकारले गलत निर्णय लिन पुग्यो भने त्यसको विरोधमा युवाहरु सडकमा उत्रिँदा २७ घण्टामै प्रधानमन्त्री हेलिकप्टर चढेर भाग्नु पर्‍यो भने मन्त्रीहरु पनि कोही भेटिने अवस्था रहेन ।

अब हामीले विगत विर्सिएर बीपीले भनेजस्तै  राष्ट्रिय आवश्यकताका लागि सम्पूर्ण राजनीतिक दलहरु र जेनजीहरुलाई पनि विश्वासमा ल्याउने काम गर्नुपर्छ । तर, त्यसका लागि पहिला आफूभित्रै एकता हुन जरुरी छ ।

अहिले नेपाली कांग्रेस १५ औं महाधिवेशनको संघारमा छ । पुस २६–२८मा नियमित केन्द्रीय महाधिवेशन गर्ने भनेर मिति तोकिए पनि अब १० दिनमा महाधिवेशन हुने सम्भावना कमजोर भइरहेको परिप्रेक्षमा कांग्रेसकै नेताहरु एक अर्काप्रति आक्रामक अभिव्यक्ति दिइरहनु भनेको घर झगडा माइक लगाएर सुनाउनु जस्तै हो । पहिला हामी हामीभित्र मेलमिलाप हुनुपर्छ ।

नेपाली कांग्रेस १५ औं महाधिवेशनको संघारमा छ । पुस २६–२८मा नियमित केन्द्रीय महाधिवेशन गर्ने भनेर मिति तोकिए पनि अब १० दिनमा महाधिवेशन हुने सम्भावना कमजोर छ । यस्तोमा एकअर्का विरुद्ध उत्रिनु भन्दा हामीभित्र मेलमिलाप हुनुपर्छ ।

नेपाली कांग्रेसमा गुटगत समस्या एउटा लिगेसी नै भइसकेको छ । विगतमा बीपी, सुवर्ण शमसेर र गणेशमानबीचमा कयौँ विषयमा मतभेद हुँदा पनि आपसी छलफल र सहमतिमा सबै कुराहरु टुंगाउने गरिन्थ्यो । तर, अहिले हाम्रा नेताहरुका विवाद छलफल भन्दा पनि निषेधमा बढी केन्द्रीत हुने गरेका छन् । यसले व्यक्तिलाई क्षणिक फाइदा त होला तर दीर्घकालमा सबैलाई घाटा हुने पक्का छ ।

नयाँ पुस्ता जेनजीले  बीपीलाई देखेको छैन । कतिपयले त नाम पनि सुनेका छैनन्  । उनीहरूको आफ्नै ‘मुभमेन्ट’  र एजेन्डा छन् । वैकल्पिक शक्तिहरू १० वर्षको भिजन लिएर जनतामा जाँदै गर्दा, लामो इतिहास बोकेको कांग्रेस भने आफैँभित्र रुमल्लिएको छ । कांग्रेसले बीपीको मेलमिलापको नीतिलाई समयानुकूल व्याख्या  गरेर नयाँ पुस्ताको भावना सम्बोधन गर्ने गरी एजेन्डा ल्याउन ढिलो भइसकेको छ ।

दैनिक झन्डै दुई हजार  युवाहरु रोजगारी र पढाइका लागि विदेश गइरहेका छन्।  महिला, दलित, जनजाति  लगायतका समुदायविरुद्ध भेदभाव कायमै छ।  हामीसँग समय छैन।  अब कांग्रेसले आउँदो १० वर्ष भित्र देशको रुपान्तरण गर्ने, अल्प विकसित स्थितिबाट मुलुकलाई विकासशील मुलुक बनाउने, देश भित्रै रोजगारी र उद्यशीलाता बढाउने, सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार ल्याउने स्पष्ट एजेन्डा अगाडी ल्याउनु पर्छ।

देश निर्माणका लागि कुनै पनि शक्तिलाई बहिष्कार गर्नु हुँदैन।  सबैसँग हातेमालो गरेर अगाडि बढ्नु पर्छ।  त्यसैले राष्ट्रिय एकता र मेलमिलापको नीति कांग्रेसको लागि मात्रै हैन, सिंगो मुलुकका लागि अरु बढी सान्दर्भिक बन्न  पुगेको छ।

(नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद डा. संग्रौला पार्टीको पेशागत तथा बौद्धिक विभागकी अध्यक्ष हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?