+
+
Shares

दलहरूलाई समानुपातिक सूची सच्याउने समय एक साता

राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची सच्याउन एक साता समय पाउने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १६:०७

१८ पुस, काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची सच्याउन एक साता समय पाउने भएका छन् ।

निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘कलस्टर नमिलेको अवस्थामा आयोगले यही पुस २० गतेसम्म सम्बन्धित दलहरूलाई सूचित गरिसक्छ । त्यसपछि सम्बन्धित दलको तर्फबाट यही पुसको २१ गतेदेखि २७ गतेसम्म आयोगले बताएअनुसार संशोधन गरेर पेस गर्ने कार्यक्रम हुनेछ ।’

दलहरूले यही पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए । त्यसउपर आयोगले छानबिन गरिरहेको छ । यही पुस २० गतेसम्म आयोगले कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहे-नरहेको अध्ययन गर्नेछ । अध्ययन पश्चात २० गते नै दलहरूलाई के के मिलेको छैन भनेर पत्राचार गर्ने तालिका छ ।

आयोगले कलस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गरेपछि सम्बन्धित दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न समय पाउनेछन् ।

उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।

त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ ।

आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।

माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।

आयोगको तालिका अनुसार आगामी माघ २० गते बिहान १० बजेदेखि  बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ । फागुन २१ गते मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?