+
+
Shares

‘टक्सिक’ को टिजरलाई रोक लगाउन किन माग गर्दैछन् भारतीय महिला संगठन ?

महिला संगठनले टिजरलाई सामाजिक सञ्जालबाट हटाउन र भविष्यमा यस्ता सामग्रीविरुद्ध कडा कानुन बनाउन माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण भारतीय स्टार यश अभिनित फिल्म ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’ को टिजर अश्लील र आपत्तिजनक भन्दै कर्नाटक महिला आयोगमा उजुरी दर्ता भएको छ।
  • महिला आयोगले केन्द्रीय फिल्म प्रमाणीकरण बोर्डलाई टिजरको समीक्षा गरी आवश्यक कारबाही गर्न पत्र पठाएको छ।
  • सामाजिक अभियन्ता दिनेश कल्लाहल्लीले पनि टिजरमा रहेका दृश्यलाई अश्लील र नैतिक मूल्यको विरुद्ध भएको उजुरी दिएका छन्।

मुम्बई । दक्षिण भारतीय स्टार यश अभिनित फिल्म ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’ विवादमा परेको छ । फिल्मको टिजरमा समावेश दृश्य अश्लील, आपत्तिजनक र नैतिक मूल्यको विरुद्धमा रहेको भन्दै राजनीतिक दल र सामाजिक अभियन्ता फिल्मविरुद्ध सेन्सर बोर्डमा पुगेका छन् ।

इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार आम आदमी पार्टी (आप) को महिला संगठन र अन्य सामाजिक अभियन्ताले टिजरविरुद्ध कर्नाटक राज्य महिला आयोगमा उजुरी दर्ता गराएका छन् ।

आरोपअनुसार टिजरमा देखाइएको दृश्य अश्लील रहेको र यसले महिलाको गरिमामा चोट पुर्‍याउने उल्लेख छ । साथै बालबालिका र समाजमा गलत प्रभाव पार्ने चिन्ता व्यक्त गरिएको छ । महिला संगठनले टिजरलाई सामाजिक सञ्जालबाट हटाउन र भविष्यमा यस्ता सामग्रीविरुद्ध कडा कानुन बनाउन माग गरेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार आपको महिला संगठनको उजुरीपछि कर्नाटक राज्य महिला आयोगले केन्द्रीय फिल्म प्रमाणीकरण बोर्डलाई पत्र पठाउँदै टिजरका विषयमा आवश्यक कारबाही गर्न माग गरेको छ ।

महिला आयोगका अनुसार कुनै सेन्सर वा चेतावनी बिना टिजर सार्वजनिक गर्नुले महिलाको गरिमामा चोट पुर्‍याउँछ र कन्नड संस्कृतिको पनि अपमान गर्छ । आयोगले नियमअनुसार टिजरको समीक्षा गरी यस विषयमा प्रतिवेदन पेश गर्न पनि अनुरोध गरेको छ ।

फिल्मलाई लिएर सामाजिक अभियन्ता दिनेश कल्लाहल्लीले पनि उजुरी दर्ता गराएका छन् । उनले टिजरमा रहेका केही दृश्यलाई अश्लील, आपत्तिजनक र नैतिक मूल्यहरूको विरुद्धमा रहेको बताएका छन् ।

एएनआईको रिपोर्टअनुसार, सेन्सर बोर्ड अध्यक्ष प्रसून जोशीलाई बुझाइएको उजुरीमा सामाजिक अभियन्ताले ‘टक्सिक’ को टिजरमा अत्यधिक अश्लील, यौनजन्य र अभद्र दृश्य रहेको बताएका छन् । सामाजिक सञ्जालमा खुलेआम उपलब्ध ती दृश्यलाई बालबालिका र युवाले पनि हेरिरहेको र यो कार्य कानुन र समाज दुवैका लागि उचित नभएको उनको भनाइ छ ।

गीतु मोहनदास निर्देशित फिल्म आगामी १९ मार्चमा प्रदर्शन तयारीमा छ । गतसाता टिजर सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?