१ माघ, गुल्मी । तीन जिल्लाको संगमस्थल तथा ऐतिहासिक–धार्मिक क्षेत्र गुल्मीको रुरुक्षेत्र गाउँपालिका–स्थित रिडीमा माघे सक्रान्ति मेलाको अवसरमा श्रद्धालु भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलमा रहेको रिडीमा माघे सक्रान्तिको अवसरमा कालीगण्डकी नदीमा स्नान गर्ने र हृषिकेश मन्दिरको दर्शन गर्ने भक्तजन बिहानैदेखि भीडभाडका साथ उपस्थित भएका छन् ।
माघे सक्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरी हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । यही विश्वासका कारण हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि रिडी क्षेत्रमा जम्मा हुने गरेका छन् । रिडीमा स्नान गर्न गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँचीसहित देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनको सहभागिता रहने गरेको छ ।
चार धाममध्ये एक मानिने प्रसिद्ध धार्मिक स्थल रुरु (रिडी) मा माघे सक्रान्ति मेला सुरु भएसँगै स्नान तथा दर्शन गर्नेहरूको भीड लाग्ने गर्दछ । यहाँ स्नान गर्नाले देवऋण र पितृऋण तिरिने, अन्जानमा गरेका पाप नष्ट हुने र मनमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको भक्तजनहरूको भनाइ छ ।
धार्मिक मान्यताअनुसार यस क्षेत्रमा प्राचीनकालमा देवदत्त ऋषिले तपस्या गरेका थिए । धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने रुरुक्षेत्रको हृषीकेश मन्दिरमा नेपालकै सबैभन्दा ठूलो भगवानको मूर्ति समेत रहेको छ ।

मेलाको अवसरमा रुरुक्षेत्र गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मी, कृषि ज्ञान केन्द्र गुल्मी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मी,घरेलु तथा साना उद्योग कार्यालय गुल्मी, सत्यवती, छत्रकोट र गुल्मी दरबार गाउँपालिकाको सहकार्यमा माघ १ गतेदेखि ३ गतेसम्म जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी आयोजना गरिएको छ ।
मेलामा विशेषगरी रुरुको गुड, कम्मल, काम्ला, राडी–पाखी, बाँस तथा चोयाबाट बनेका सामग्री, ओखरका घाँजीलगायत स्थानीय उत्पादनहरूको राम्रो व्यापार हुने गरेको छ । व्यापार तथा धार्मिक पर्यटनका लागि रुकुम, रोल्पालगायतका जिल्लाबाट पनि व्यापारीहरू रिडी आउने गरेका छन् ।
मेला व्यवस्थापन समितिका प्रचारप्रसार खटिएका स्थानीय चिरञ्जीवी ज्ञवालीका अनुसार मेलामा घरेलु उत्पादन, कृषि उपज तथा स्थानीय सामग्रीको प्रदर्शनी गरिएको छ । उनका अनुसार मेलामा २ सयभन्दा बढी स्टल राखिएका छन् । साथै राष्ट्रिय स्तरमा खेती प्राप्त कालाकार, बाल उडान, पिङ, कालीगण्डकीमा र्याफ्टिङ, कृषि मेला प्रदर्शनी, तीनै जिल्लाको संस्कृति झल्किने नाचगान तथा विविध परिकारहरूले मेलालाई थप आकर्षक बनाएको बताए ।
ऐतिहासिक क्षेत्र रिडीमा माघे सक्रान्तिसँगै एकादशी, साउने सक्रान्ति, असारे एकादशी, भदौ कृष्ण अष्टमी, कार्तिक ठूला एकादशीलगायतका पर्वहरूमा पनि मेला लाग्ने र स्नान–पूजाआजा गर्ने परम्परा रहँदै आएको छ । माघे सक्रान्तिको अवसरमा सेतीबेनी, रुद्रवेणी, लेकपोखरा छापहिले, इस्मा गाउँपालिकाको छल्दीलगायतका स्थानमा पनि मेला आयोजना हुने गर्दछ ।
प्रतिक्रिया 4