News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेबाट टिकट नपाएपछि केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।
- रिजालले पार्टीमा व्यक्तिगत लाभ र आर्थिक सौदाबाजी नगरेको दाबी गरेका छन्।
- उनी पार्टी, जनता र देशका लागि निरन्तर मैदानमै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
४ माघ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट टिकट नपाएपछि केन्द्रीय सदस्य विष्णु रिजालले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन् ।
दैलेख–२ बाट पार्टीका कार्यकर्ता, जिल्ला र प्रदेश कमिटीको पहिलो रोजाइमा परे पनि नेतृत्वको निर्णयबाट उम्मेदवार बन्न नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
आफ्नो अभिव्यक्तिमा रिजालले पार्टीभित्र टिकट वितरणमा देखिएको प्रवृत्तिप्रति संकेत गर्दै ‘कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो’ भनेका छन् ।
राजनीतिमा तीन दशकभन्दा बढी समय सक्रिय रहेको उल्लेख गर्दै रिजालले आफूले कहिल्यै पनि व्यक्तिगत लाभ, आर्थिक सौदाबाजी वा सत्ताका लागि सम्झौता नगरेको दाबी गरेका छन् ।
लेखपढ, वैचारिक पैरवी, उच्च शिक्षा (पीएचडी अध्ययन) र देश–विदेशका मञ्चहरूमा सहभागितालाई नै आफ्नो राजनीतिक पूँजी ठानेको उनको भनाइ छ ।
‘अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने प्रवृत्ति कायरता हो,’ रिजालले लेखेका छन् ।
यद्यपि, उनले पार्टीमा असहयोगको बाटो नअपनाउने स्पष्ट गर्दै पार्टी, जनता र देशका लागि निरन्तर मैदानमै रहने प्रतिबद्धता व्यक्त गरेका छन् । टिकट नपाए पनि कम्तीमा अर्को २९ वर्षसम्म यही क्षेत्रका जनतासँगै रहने उनको भनाइ छ ।
एमाले नेता रिजाल सर्वाधिक मत सहित दैलेख क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका थिए।
प्रतिक्रिया 4