News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा निर्माण उद्योगको उत्पादक मूल्य वृद्धिदर कमजोर वा ऋणात्मक रहेको जनाएको छ।
- पहिलो त्रैमासमा कृषि उत्पादन मूल्य सूचकांक १९३.७२ विन्दुमा कायम भई अघिल्लो आवको तुलनामा २.५० प्रतिशतले वृद्धि भएको छ।
- निर्माण सामग्री जस्तै सिमेन्ट, आइरन, बालुवा र काठको मूल्य घट्नुले निर्माण क्षेत्रको लागत मूल्य सूचकांकमा १.३९ प्रतिशतले कमी आएको कार्यालयले खुलाएको छ।
५ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातबाटै निर्माण तथा लगानीसँग सम्बन्धित उद्योगको उत्पादक मूल्य वृद्धिदर कमजोर वा ऋणात्मक रहेको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आवको पहिलो त्रैमास (साउन–असोज)को मूल्य तथा उत्पादन सूचकांक सार्वजनिक गरेको छ । जस अनुसार दाना, चामल, फलामजन्य वस्तु, प्लाष्टिकका पाइप फिटिङ्स, इटाजस्ता निर्माण तथा लगानीसँग सम्बन्धित उद्योगको मूल्य वृद्धिदर कमजोर देखिएको हो । यसले निर्माण गतिविधिमा अपेक्षित सुधार हुन नसकिरहेको तथा प्रतिस्पर्धात्मक दवाव कायम रहेको संकेत गर्ने कार्यालयले जनाएको छ ।
यस अवधिमा निर्माण उद्योगबाहेक कपडा र अन्य उद्योगको उत्पादन समेत उल्लेख्य बढ्न नसकेको देखिएको छ । औद्योगिक उत्पादन सूचकांक पहिलो त्रैमासमा १२५.२ विन्दुमा कायम भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा सामान्य धेरै हो ।
सो त्रैमासमा औद्योगिक उत्पादन सूचकांक १२३ विन्दुमा थियो । त्रैमासिक आधारमा हेर्दा उत्पादन गतिविधि तुलनात्मक रुपमा स्थिर देखिएको कार्यालयको विश्लेषण छ । खाद्य तेल, पेट्रोलियमजन्य वस्तु, रासायनिक तथा उपभोग्य सामग्रीको उत्पादनमा भने उल्लेख्य वृद्धि भएको पाइएको छ ।
कार्यालयका अनुसार निर्माण क्षेत्रको लागत मूल्य सूचकांक १५२.३ विन्दु कायम भएको छ । यो अघिल्लो आवको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको हो । तर, गत आवको चौथो त्रैमासको तुलनामा भने १.३९ प्रतिशतले घटेको छ ।
यसरी सूचकांक घट्नुमा सिमेन्ट, आइरन, बालुवा, काठ, रोडाजस्ता उच्च भार भएका निर्माण सामग्रीको मूल्यमा कमी आउनु मूख्य कारण रहेको समेत कार्यालयले जनाएको छ । दीर्घकालीन रुपमा हेर्दा निर्माण सामग्री र कामदारको ज्यालामा निरन्तर दवाव रहेको समेत कार्यालयको विश्लेषण छ ।
यस अवधिमा कृषि क्षेत्रमा भने उत्पादक मूल्यमा वृद्धि रहेको देखिन्छ । पहिलो त्रैमासमा कृषि उत्पादन मूल्य सूचकांक १९३.७२ विन्दुमा कायम भएको छ । यो अघिल्लो आवको तुलनमा २.५० प्रतिशत धेरै हो ।
यस वृद्धिको प्रमुख कारणमा अन्न बालीको उत्पादक मूल्यमा वृद्धि देखिनु हो । मुख्य कृषि बालीले कृषिमा कुल ५८ प्रतिशत भार ओगट्छ । जसमा मकै, धान र कोदो पर्छ । यी वस्तुको उत्पादक मूल्यमा भएको वृद्धिले समग्र सूचकांकलाई माथि तानेको पाइएको छ । यस त्रैमासमा दूध, अण्डा र माछाजस्ता पशुपन्छीजन्य उत्पादनको उत्पादक मूल्य वृद्धिले पनि सूचकांकमा योगदान पुर्याएको छ । यसले कृषकस्तरमा न्यून भए पनि आम्दानीमा सुधार भएको देखिएको छ ।
कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार पहिलो त्रैमासको यस तथ्यांकले कृषि क्षेत्रको उत्पादक मूल्यमा निरन्तर वृद्धि भइरहेको संकेत गरेको छ । तर, अन्य क्षेत्रमा भने संकुचन कायम देखिन्छ ।
उद्योग क्षेत्रमा असमान प्रकृतिको उत्पादन वृद्धि देखिएको छ । निर्माण क्षेत्रमा अल्पकालीन लागत घटबढ भइरहेको देखिएको छ । यी सूचकांकले मुद्रास्फीति विश्लेषण, राष्ट्रिय लेखा अनुमान र तथ्यमा आधारित आर्थिक नीति निर्माणमा सहयोग गर्ने समेत कार्यालयको विश्लेषण छ ।
प्रतिक्रिया 4