News Summary
Generated by OK AI. Editorially reviewed.- पहिलो राष्ट्रिय बाली प्रजनन, अनुवंश र बिउ विज्ञान सम्मेलन ६ माघदेखि काठमाडौंमा सुरु भएको छ।
- कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण राष्ट्रिय प्राथमिकता हुनुपर्ने बताए।
- सम्मेलनमा ३२ कार्यपत्र र ३६ पोस्टर प्रदर्शनी गरिने र १८ स्टल राखिएको छ।
७ माघ, काठमाडौं । पहिलो राष्ट्रिय बाली प्रजनन, अनुवंश र बिउ विज्ञान सम्मेलन सुरु भएको छ।
हिजो मंगलबारदेखि सुरु सम्मेलन आयोजक नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन तथा अनुवंश समाज नेपाल (पिब्याग्सन) हुन् । सम्मेलनमा जिन बैंक, लिबर्ड र अक्सफाम लगायत संस्था सहआयोजक छन् ।
यसको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण राष्ट्रिय प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
उनले कृषिका चुनौतीको सामना अनुवंशमा आधारित अनुसन्धानबाट मात्र गर्न सकिने बताए । सशक्त बाली प्रजनन माध्यमबाट कृषि क्षेत्रको लगानी लाभदायी बनाउने उपयुक्त नीति निर्माणमा सम्मेलनले दिने सुझाव सहयोगी हुने आशा उनले व्यक्त गरे ।
नार्कका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले बाली प्रजनन र बिउ विज्ञानले नै कृषिमा परिवर्तन ल्याउन सक्ने बताए । बजार र उपभोक्ता माग अनुसार अनुसन्धान आवश्यक रहेको र यस्ता अनुसन्धानमा सम्बन्धित सबै पक्षको सहभागिता जरुरी रहेको उनले उल्लेख गरे ।
नार्कले बहुपक्षीय सहभागितामा आधारित बृहत परियोजना सञ्चालन गर्न अग्रसर रहेको जानकारी पनि उनले दिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव नरेश सुवेदीले जलवायु परिवर्तन र अनुवंश संरक्षण जस्ता विश्वव्यापी साझा समस्यामा सहकार्य जरुरी रहेको बताए । उनले नेपालमा प्रकृति संरक्षण कोष र नार्कबीचको सहकार्य उदाहरणीय रहेको उल्लेख गरे ।
पिब्याग्सन अध्यक्ष डा. बालकृष्ण जोशीले नेपालमा अनुवंशको उपयोग जरुरी भएको र यसलाई राष्ट्रिय नीति नै बनाउनुपर्ने धारणा राखे ।
सम्मेलनमा मन्त्री परियारले जीवन श्रेष्ठलाई टप साइटेड रिसर्च पुरस्कार, डा. दामोदर पौडेललाई गोल्डेन सिड पुरस्कार र डा. राजेन्द्र दराईलाई बाली प्रजनन पुरस्कार प्रदान गरे ।
तीन दिनसम्म चल्ने सम्मेलनमा ७ वटा सत्रमा ३२ कार्यपत्र र ३६ पोस्टर प्रदर्शनी गरिने जानकारी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले दिए ।
कृषिका विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, प्रसारकर्ता, व्यवसायी र किसानको सहभागिता रहेको सम्मेलनमा विभिन्न संस्था र उत्पादकका १८ स्टल पनि राखिएका छन् ।
प्रतिक्रिया 4