७ माघ, काठमाडौं । संयुक्त राज्य अमेरिका र युरोपेली संघबीच ग्रीनल्याण्ड खरिद-बिक्रीको विषयलाई लिएर बढेको विवादले विश्व अर्थतन्त्रमा हलचल ल्याएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड प्राप्त गर्ने आफ्नो योजनामा असहयोग गर्ने आठ युरोपेली राष्ट्रहरूमाथि फेब्रुअरी १ देखि १० प्रतिशत र जुन १ देखि २५ प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएपछि अन्तर्राष्ट्रिय सेयर बजारमा भारी गिरावट आएको छ।
यस तनावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा लाग्दा बहुमूल्य धातु सुन र चाँदीको मूल्यले मंगलबार विश्व इतिहासमै नयाँ कीर्तिमान कायम गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४,७०० अमेरिकी डलर माथि पुगेको थियो भने चाँदीको मूल्य पनि प्रति औंस ९४ डलरको ऐतिहासिक उचाइमा पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारको यस उथलपुथलको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २,७०० रुपैयाँले बढेर २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ।
यो नेपाली बजारको इतिहासमै हालसम्मकै उच्च मूल्य हो। त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ।
व्यापार युद्धको खतरा र आर्थिक अनिश्चितता
युरोपेली संघले अमेरिकाको यस कदमलाई आर्थिक ब्ल्याकमेल भन्दै करिब १०७ अर्ब डलर बराबरको अमेरिकी आयातमा जवाफी भन्सार शुल्क लगाउने तयारी गरेको छ। यसले गर्दा विश्वका प्रमुख सेयर सूचकांकहरूमा १ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।
लगानीकर्ताहरूका अनुसार, अमेरिका र युरोपबीचको यो व्यापारिक टकरावले विश्वव्यापी मुद्रास्फीति बढाउने र आर्थिक मन्दी निम्त्याउन सक्ने जोखिम बढेको छ।
वर्तमान परिस्थितिमा स्विस फ्र्याङ्क र जापानी येन जस्ता मुद्राहरू बलियो भइरहेका छन् भने अमेरिकी डलरमा सामान्य कमजोरी देखिएको छ। आर्थिक विज्ञहरूले यदि यो विवाद तत्काल समाधान नभएमा विश्व आपूर्ति शृङ्खलामा ठूलो अवरोध आउन सक्ने चेतावनी दिएका छन्। (एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4