कोही त छ जसलाई म आफ्नो भन्न सक्छु
हृदयका सबै कुरा खुलेर भन्न सक्छु
मेरो दुखमा रोइदिने, मेरो खुसीमा हाँसीदिने
सबैभन्दा माथि छ, मेरो एउटा साथी छ
यो गीतले भने झैं कोही यस्तो साथी होस् । ठाउँ, पोखरा होस् र त्यसको पनि फेवाताल किनार होस् । त्यसैमाथि मन पर्ने गायक र संगीत होस् । प्रेम, प्रकृति र संगीतमा रमाउनेहरुका लागि यति भए अरु के चाहियो ? यसपटक प्रेम दिवसमा पोखरामा यस्तै हुनेवाला छ ।
धेरैजसो प्रेमका पपगीत गाएर लोकप्रिय बनेका सुगम पोखरेल प्रेम दिवसका दिन पोखरामा गुञ्जिने भएका हुन् । उनी प्रस्तुत हुने मञ्चको नाम दिइएको छ, मेरो एउटा साथी छ । प्रेम दिवसकै अवसरमा पोखरेलकै चर्चित गीत ‘मेरो एउटा साथी छ’लाई मर्ममा राखेर सुगम पोखरेल र उनकै ब्याण्ड बाजागाजालाई पोखरामा प्रस्तुत गर्न लागेको हो ।
पोखरेली संगीत पारखीलाई प्रेम र संगीतमा रमाउने चाँजो मेन मिडियाले मिलाएको छ । ‘हरेक प्रेमिल मनका लागि’ भन्दै १४ फेब्रुअरीमा पोखराको लेभल्र्स क्लबमा सुगमले आफ्ना रोज्जा गीत सुनाउने छन् ।
सुगमलाई अर्का चर्चित गायक कमल खत्रीले साथ दिँदै छन् । नवयुवासम्मलाई आफ्ना प्रेमका गीतले नयाँ स्वाद चखाएर खत्रीले सुरुमा माहोल तताउने र त्यसलगत्तै सुगमले पोखरेली संगीतप्रेमीलाई झुमाउने कार्यक्रमका परिकल्पनाकार तथा सञ्चारकर्मी सञ्जोक बस्यालले जानकारी दिए ।
मैत्रीभाव, प्रेम र एकताका भाव बोकेका सदाबहार गीतमार्फत सबै उमेर समूहका दर्शकलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित कन्सर्ट आयोजना गर्न लागिएको उनले बताए । नेपाली पपलाई मुख्यधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका सुगमले ‘मेरो संसार’, ‘फेरि त्यो दिन सम्झन चाहन्न’ लगायतका कालजयी गीतमार्फत पुस्तौँको मन जित्दै आएका छन् ।
रेडियोकर्मी, संगीतकार र रियालिटी शो नेपाल आइडलका निर्णायकका रूपमासमेत चर्चित पोखरेललाई ‘वन म्यान ब्याण्डका नामले चिनिन्छ । पोखरेलको संगीतले सन् ९० को दशकका स्रोतादेखि आजका युवापुस्तासम्मलाई जोड्दै आएको छ ।
कन्सर्टको सुरुमा नेपाली संगीतका अर्का लोकप्रिय गायक खत्रीले ‘आत्मा मा’, ‘कोरेर प्रेमपत्र’, ‘सातौं जन्म होइन’, ‘पर्खिरहेको रहेछ मुटु’ जस्ता गीतहरु पस्किने छन् ।
प्रतिक्रिया 4