+
+
Shares

अभिभावकले ‘टिनएजर’ बच्चाहरूलाई अँगालो हाल्नु कति उचित ?

अँगालो हाल्नु केवल भावनात्मक अभिव्यक्ति मात्र होइन, यसको वैज्ञानिक आधार पनि छ ।

महालक्ष्मी आचार्य महालक्ष्मी आचार्य
२०८२ माघ १२ गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिनएज (१३–१९ वर्ष) का बच्चाले अभिभावकबाट माया र लगाव चाहन्छन्, तर आलोचना बिना स्वीकार गर्न चाहन्छन्।
  • अँगालोले टिनएजरलाई भावनात्मक सुरक्षा, आत्मसम्मान र मानसिक स्वास्थ्यमा सुधार गर्छ।
  • टिनएजरलाई अँगालो हाल्दा सहमति लिनुपर्छ र सामाजिक परिस्थितिको सम्मान गर्नुपर्छ।

सबै आमाबुबाले आफ्ना बच्चालाई धेरै माया गर्छन्, तर उमेर बढ्दै जाँदा बच्चाहरूलाई त्यो माया देखाउन गाह्रो हुन्छ । बच्चा सानो हुँदा उसलाई अँगालो हाल्छन्, चुम्बन गर्छन्, काखमा राख्छन् । तर बच्चा ठूलो हुँदै जाँदा आमाबुबाको शारीरिक स्पर्शबाट माया देखाउने बानी घट्दै जान्छ । विशेष गरी टिनएजमा पुग्दा यो लगभग शून्य जस्तै हुन्छ ।

धेरैजसो अभिभावकहरूको प्रश्न हुन्छ- के टिनएजका बच्चालाई अँगालो हाल्नु ठीक हुन्छ ?

के टिनएजर बच्चाले अभिभावकबाट दूरी चाहन्छ ?

टिनएज (१३–१९ वर्षको उमेर) मा बच्चाहरूमा मानसिक र शारीरिक रूपमा धेरै परिवर्तनहरू हुन्छन् । बच्चा भावनात्मक रूपमा निकै उग्र हुन्छन् । उसमा आफ्नो पहिचान र स्वतन्त्रताको चाहना बढ्छ । ऊ साथीहरूको संगत बढी मन पराउँछ, र कहिलेकाहीँ अभिभावकसँग टाढा रहन खोज्छ । तर यसको मतलब यो होइन कि ऊ आमाबुबाबाट पूर्ण दूरी चाहन्छ ।

वास्तवमा, टिनएजर बच्चाले अभिभावकबाट पहिलेजस्तै माया र लगाव चाहन्छ । ऊ चाहन्छ कि अभिभावकले उसलाई कुनै तुलना वा आलोचना नगरी स्वीकार गरोस् । आफूलाई अभिभावकले सुन्नु र बुझ्नु पर्छ भन्ने उनीहरूलाई लागिरहेको हुन्छ । टिनएजरहरूले अभिभावकबाट भावनात्मक समर्थन नपाउँदा चिन्ता, एक्लोपन र डिप्रेसनको जोखिम बढ्छ भन्ने कुरा अध्ययनहरूले समेत देखाएका छन् ।

यो समयमा अभिभावकले उनीहरूसँग खुला संवाद र सकारात्मक स्पर्श कायम राख्नु महत्वपूर्ण हुन्छ ।

अँगालो हाल्नुको मनोवैज्ञानिक प्रभाव

अँगालो हाल्नु केवल भावनात्मक अभिव्यक्ति मात्र होइन, यसको वैज्ञानिक आधार पनि छ । यसले बच्चा र अभिभावक दुवैलाई फाइदा पुर्‍याउँछ । अँगालोले किशोर किशोरीहरुलाई ‘म सुरक्षित छु’, ‘मलाई कसैले बुझ्छ’, ‘म एक्लो छैन’ भन्ने अनुभूति दिलाउछ । यसले भावनात्मक स्थिरता बढाउँछ ।

विशेष गरी परीक्षा, असफलता, डर, दुःख वा आक्रोशको बेला अँगालो अत्यन्त सहयोगी हुन्छ । अँगालोले उनीहरूमा विश्वास बढाउँछ, दूरी घटाउँछ, र संवाद सहज बनाउँछ । बच्चादेखि नै आफ्ना बालबालिकासँग खुसी या दुःख साट्दा अँगालो हाल्ने गरिएको छ भने जीवनभर यो सहज नै हुन्छ ।

विज्ञानका अनुसार जब कसैलाई माया गरेर अँगालो हालिन्छ भने शरीरमा अक्सिटोसिन हर्मोन रिलिज हुन्छ, जसलाई ’लभ हर्मोन’ वा ’कडल हर्मोन’ पनि भनिन्छ । यो हर्मोनले तनाव कम गर्न, राम्रो र सुरक्षित महसुस गराउन भूमिका खेल्छ । थप रूपमा, अँगालो हाल्दा सेरोटोनिन र डोपामाइन जस्ता हर्मोनहरू पनि सक्रिय हुन्छन्, जसले मुड सुधार्छ, डिप्रेसन घटाउँछ र खुसीको अनुभव गराउँछ ।

टिनएजरलाई अँगालो हाल्नुका फाइदा

टिनएजको समयमा अभिभावकले बच्चालाई अँगालो हाल्नुले उनीहरूलाई भावनात्मक सुरक्षा प्रदान गर्छ । उनीहरू बढी सुरक्षित र अभिभावकहरूसँग खुला महसुस गर्छन् ।

-अँगालो हाल्दा आफू जस्तो छु त्यही रूपमा अभिभावकले स्वीकार गरेको महसुस उनीहरू गर्छन् ।

-यसले आत्मसम्मान बढाउँछ र उनीहरूलाई चुनौतीहरू सामना गर्न बलियो बनाउँछ ।

-अभिभावकबाट प्राप्त पर्याप्त मायाले उनीहरूलाई भावनात्मक रूपमा बलियो बनाउँछ ।

-बच्चाले आफूमाथि बढी विश्वास गर्छन्, र डिप्रेसन, चिन्ता र एक्लोपनको भावनाबाट बचाउँछ ।

-अँगालो हाल्नुले प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ, रक्तचाप कम गर्छ र मस्तिष्क विकासमा सहयोग गर्छ ।

-यसले बच्चाको भावनात्मक नियमनलाई पनि सुधार्छ । आफ्नो मनमा भएका कुरा खुलस्त भन्न सहयोग मिल्छ

-अभिभावकबाट प्राप्त सकारात्मक शारीरिक स्पर्शले बच्चामा सही सम्बन्धको समझ विकास गर्छ । अभिभावक–बच्चाको सम्बन्धलाई मजबुत बनाउँछ ।

-अभिभावकहरूबाट माया र स्पर्श पाउने बच्चाहरूमा उच्च आत्मसम्मान, राम्रो शैक्षिक प्रदर्शन र कम मनोवैज्ञानिक समस्या हुन्छन् ।

टिनएजरलाई अँगालो हाल्दा ध्यान दिनुपर्ने कुराहरू:

अँगालो हाल्नु राम्रो भए पनि, यसमा विशेष ध्यान दिन आवश्यक छ । टिनएजरहरूको गोपनीयता र भावनालाई सम्मान गर्नुपर्छ । किशोरावस्थामा शारीरिक र भावनात्मक सीमा संवेदनशील हुन्छ।

गलत ठाउँ, गलत तरिकाले अँलागो हालेमा भ्रम, लज्जा, असुरक्षा उत्पन्न हुन सक्छ । शारीरिक, यौन अनि भावनात्मक दुर्व्यवहार भोगेका छन् भने अँगालोले पुराना चोटहरू झन बल्झाउन सक्छ ।

यदि आफ्ना टिनएजरलाई अँगालो हाल्न चाहनुहुन्छ भने अँगालो हाल्नुअघि उनीहरूको सहमति लिनुपर्छ । उनीहरूलाई सोध्नुपर्छ ‘के म तिमीलाई अँगालो हालेर माया गर्न सक्छु ?’ यदि तिमीलाई मन पर्दैन भने हामीसँगै बसेर कुरा गर्न सक्छौं भन्नुपर्छ । यसले उनीहरूलाई सम्मानित महसुस गराउँछ ।

हरेक ठाउँ वा हरेक समयमा आफ्ना टिनएजरलाई अँगालो हाल्न हुँदैन । विशेष गरी जब ऊ साथीहरूसँग हुन्छ वा भीडमा हुन्छ । टिनएजरहरू सामाजिक रूपमा आफ्ना भावनाहरू देखाउन मन पराउँदैनन् । घरमा, राति सुत्ने समय वा तनावपूर्ण क्षणमा यो उपयुक्त हुन्छ ।

केही परिवारमा छोरा र छोरीलाई फरक तरिकाले हेर्ने चलन हुन्छ । तर अँगालो हाल्नु लिंगभेदी होइन, यो मायाको अभिव्यक्ति हो । यदि बच्चा असहज महसुस गर्छ भने विकल्पहरू जस्तै काँधमा हात राख्ने वा शाब्दिक माया व्यक्त गर्ने प्रयोग गर्नुपर्छ ।

सबै टिनएजरहरू शारीरिक स्पर्श मन पराउँदैनन् । यस अवस्थामा, उनीहरूसँग समय बिताउने, उनीहरूका कुरा सुन्ने, सकारात्मक शब्दहरू प्रयोग गर्ने वा सँगै खेल्ने जस्ता तरिकाहरू अपनाउन सकिन्छ । यसले पनि माया देखाउँछ ।

नेपाली समाजमा टिनएजरलाई अँगालो हाल्नु किन गलत मानिन्छ ?

नेपाली समाजमा शारीरिक स्पर्शलाई एक प्रकारको निषेधित जस्तै हेरिन्छ । यहाँ बच्चा ठूलो भयो भने उसलाई अँगालो हाल्नु गलत हो भन्ने साचे प्रचलित छ । यो सांस्कृतिक मान्यताबाट प्रभावित छ, जहाँ टिनएजपछि बच्चाहरूलाई ‘ठूला’ मानेर भावनात्मक अभिव्यक्तिमा सीमित गरिन्छ । तर टिनएजर बच्चालाई अँगालो हाल्नु पूर्णरूपमा गलत होइन । त्यसमा बच्चाको सहमति समावेश हुनु भने जरुरी हुन्छ ।

नेपाली समाजमा यो धारणा परिवर्तन हुँदैछ । अहिले अभिभावकहरूले यसलाई अपनाउँदै छन् । अभिभावकहरूले आफ्ना बच्चासँग खुलेर छलफल गर्नु र सकारात्मक उदाहरण दिनु आवश्यक छ । अन्ततः, माया देखाउने यो तरिका बच्चाको समग्र विकासका लागि फाइदाजनक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?