१२ माघ, दाङ । दाङ क्षेत्र नं. ३ का उम्मेदवारहरू आ–आफ्ना ‘एजेन्डा’ लिएर गाउँ–गाउँमा जान थालेका छन्। उम्मेदवारहरूले कार्यकर्ता तथा मतदातासँग भेटघाट सुरु गरेका छन्।
कांग्रेसका उम्मेदवार दीपक गिरीले आफू सिँचाइमन्त्री हुँदा बृहत् दाङ उपत्यका सिँचाइ आयोजना ल्याउन भूमिका खेलेको एजेन्डा लिएर जनतामाझ गएका छन्। पश्चिम दाङको सडक सञ्जाल विस्तारमा पनि आफ्नो भूमिका रहेको गिरीको दाबी छ। त्यस्तै, टरिगाउँ विमानस्थल विस्तारका लागि पहल गरिरहेको उनले बताएका छन्।
दाङलाई सबल र विकसित बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको गिरीको भनाइ छ। राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए। युवा विदेश पलायन हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई रोक्न भूमिका खेल्ने उनले बताए।
संविधान संशोधन गरी जनतामैत्री संविधान बनाउने पनि उनको एजेन्डा छ। गिरी २०५१ सालदेखि चुनाव लड्दै आएका छन्। हालसम्म उनी दुई पटक निर्वाचित भएका छन्। उनले २०७० सालको संविधानसभा निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा निर्वाचन जितेका हुन्।
सडक र पुलको एजेन्डा लिएर मास्की
नेपाली कम्युनिस्ट पार्टीबाट चुनावमा होमिएका धनबहादुर मास्की (राजेश) लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्। उनले आफ्नो उम्मेदवारी व्यक्तिगत नभई जनताको माग भएको बताएका छन्।
प्रदेशको अर्थमन्त्री तथा सांसद हुँदा गहतेखोला सडक स्तरोन्नति, भमकेखोला र बहुला खोलामा पुल निर्माणजस्ता काम गरेको दाबी गर्दै ती एजेन्डा लिएर जनतामाझ गएको उनले बताए।
गाउँ–गाउँमा सडक, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार निर्माणका काम अघि बढाएको उनको भनाइ छ। ‘चुनावका बेला माथिल्लो सडक स्तरोन्नति र खोलामा पुल निर्माणजस्ता एजेन्डा बनाएको थिएँ। तीअनुसार काम गरेँ र परिणाम पनि देखियो,’ उनले भने।
मास्कीले ग्वारखोलादेखि पश्चिम क्षेत्रलाई ‘सुन्दर पश्चिम दाङ’ बनाउने, दामोदर सडक स्तरोन्नति, ग्वारखोला हाइड्याम्प, प्रादेशिक अस्पताल स्तरोन्नति, कृषि क्याम्पस निर्माण, तुलसीपुर–हापुरे चारलेन र राप्ती लोकमार्ग चारलेन निर्माणजस्ता एजेन्डा अघि सारेका छन्। उनी पहिलो पटक प्रदेशसभा सदस्य बनेका हुन्। त्यसअघि उनले कुनै पनि चुनाव लडेका थिएनन्।
पूर्वप्रमुख पाण्डेको सांसद बन्ने चाहना
नेकपा (एमाले)का उम्मेदवार घनश्याम पाण्डे २३ वर्षकै उमेरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख बनेका व्यक्ति हुन्। २०५१ सालमा पहिलो पटक चुनाव लडेर उनी उपप्रमुख निर्वाचित भएका थिए। २०६४ र २०७० सालमा उनले चुनाव लडेका थिएनन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पाण्डे तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भए। नगर प्रमुख हुँदा गरेका काम नै चुनाव जित्ने आधार भएको उनको भनाइ छ।
मेट्रो कलेज स्थापना, अस्वारामा अस्पताल र तुलसीपुरमा व्यापारिक भवन निर्माणजस्ता परियोजनामा काम गरेको दाबी गर्दै ती उपलब्धि लिएर जनतामाझ गएको उनले बताए।
दाङको समृद्धि र विकास, किसानका हक अधिकार सुनिश्चित गर्ने, स्वरोजगार सिर्जना, टरिगाउँ विमानस्थल व्यवस्थापन, शिक्षा, स्वास्थ्य, प्रविधि र उद्यमशीलताको हबका रूपमा विकास गर्ने लक्ष्य उनले अघि सारेका छन्। संसद्मा गएपछि संसदीय अभ्यासलाई जनतामुखी बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
सुशासन र डेलिभरीको मुद्दा लिएर सुवेदी
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए। यसपटक उनले सुशासन र डेलिभरीको मुद्दा अघि सारेका छन्।
अबको समृद्धि नयाँ दलबाट सम्भव हुने दाबी गर्दै उनी ती एजेन्डा लिएर जनतामाझ गएका छन्। युवा पुस्ताका लागि स्वरोजगार सिर्जना, सुशासन कायम गर्ने र विकास निर्माणलाई तीव्रता दिने उनका प्रमुख एजेन्डा छन्।
अन्य उम्मेदवार पनि मैदानमा
दाङ–३ मा राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, मंगोल नेसनल अर्गनाइजेसनबाट घनश्याम चौधरी, मितेरी पार्टीबाट सन्तोष सिंह, जनता समाजवादी पार्टीबाट शोभा डाँगी, आम जनता पार्टी (एकल चुनाव चिह्न)बाट पाण्डवी नेपाली र नेसनल रिपब्लिक नेपाल पार्टीबाट प्रितम चौधरी उम्मेदवार छन्।
त्यस्तै संयुक्त नागरिक पार्टीबाट दलवीर कामी, श्रम संस्कृति पार्टीबाट टोपबहादुर महतारा, नेकपा (माओवादी)बाट बलबहादुर वली र नागरिक उन्मुक्ति पार्टीबाट महेश चौधरी उम्मेदवार छन्। स्वतन्त्रतर्फ भागिराम चौधरी, सुरेश नेपाली, प्रेमबहादुर वली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार, इन्द्रबहादुर बस्नेत र सिप्रिक कँडेल चुनावी मैदानमा छन्। उनीहरू पनि आ–आफ्ना एजेन्डा लिएर जनतामाझ पुगेका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत परिणाम अनुसार कांग्रेस र एमालेबीच थोरै मत अन्तर देखिन्छ। कांग्रेसले २६ हजार ५७७ मत ल्याउँदा एमालेले २६ हजार ११७ मत प्राप्त गरेको थियो।
सोही निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले १४ हजार ४१० मत ल्याएको थियो भने तत्कालीन माओवादी केन्द्रले १० हजार ९२५ र एकीकृत समाजवादीले ६९१ मत पाएको थियो।
–राससबाट
प्रतिक्रिया 4