+
+
Shares

द ब्लू लाइट : निर्मात्री बेनिशा, भिलेन सृष्टि, भर्सटाइल अर्पण

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १३:०९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनोवैज्ञानिक-थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ।
  • अभिनेत्री बेनिशा हमालले ‘द ब्लू लाइट’ को डिजिटल अधिकारसहित निर्मात्रीको रुपमा आफूलाई अघि बढाएकी छन्।
  • फिल्ममा सृष्टि श्रेष्ठले खलपात्र भूमिका निभाएकी छिन् र उनले यो भूमिकालाई आफ्नो करिअरकै फरक भूमिका भनेकी छिन्।

काठमाडौं । मनोवैज्ञानिक-थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’ शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । यो फिल्मलाई लिएर निकै कौतुहल छ भने, यो फिल्मबाट अभिनेत्री बेनिशा हमालले डिजिटल अधिकारसहित निर्मात्रीको रुपमा आफूलाई अघि बढाएकी छन् ।

यो ‘मल्टिस्टारर’ फिल्मले दर्शकलाई नयाँ स्वाद दिने आशा निर्माताको छ । फिल्ममा बेनिशासहित सृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुश्मान जोशीको शीर्ष अभिनय छ ।

‘स्वर’ बाट घरेलु फिल्ममा डेब्यू गरेकी हमाल आफ्नो भर्सटाइल अभिनयले प्रशंसित छिन् । जुनसुकै चरित्रमा आफूलाई ढाल्न उनको खुबी दर्शकमाझ प्रिय छ ।

प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको मीन भामको ‘कालोपोथी’ मा माओवादी छापमार हुन् या आधुनिक अर्बन गर्ल, सबै चरित्रमा उनी फिट हुन्छिन् । आफू निर्मित फिल्म ‘द ब्लू लाइट’ लाई लिएर उनी आशावादी सुनिइन् ।

यो फिल्मले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको उनको कथन छ । ‘अहिले हामीले हेरिरहेका चलचित्रभन्दा केही फरक छ’ बेनिशा भन्छिन्, ‘त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्त छ ।’

कथावस्तु मनपरेर आफू निर्माणमा जोडिएको उनले बताइन् । त्यसअघि उनले हालै एक छोटो फिल्म निर्देशन पनि गरेकी थिइन् ।

केही मनोवैज्ञानिक थ्रीलर र रोमान्टिक जनराका फिल्ममा देखिएकी अर्की अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि पनि यो फिल्मको शीर्ष भूमिकामा छिन् ।

हालै थ्रीलर फिल्म ‘११ः५५’ मा देखिएकी उनले ‘द ब्लू लाइट’ को आफ्नो भूमिकालाई आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको बताएकी छन् ।

‘यो चलचित्रमा मेरो भूमिका अलि ‘एन्टागोनिस्ट’ (खलपात्र) प्रकृतिको छ । मलाई यस्तै थ्रीलर जनराका फिल्ममा रुचाइएको छ, तर ‘द ब्लू लाइट’ को भूमिका र कथा एकदमै गहिरो र फरक छ’ उनले भनिन् ।

‘एक कलाकारका रूपमा सधैँ राम्रो र सकारात्मक देखिनुभन्दा पनि यस्ता जटिल र नकारात्मक चरित्र निर्वाह गर्दा धेरै कुरा सिक्न पाइन्छ’ सृष्टिले अनुभव सुनाइन्, ‘निर्देशकको सोच र कथाको गहिराइले गर्दा म यो भूमिकाप्रति आकर्षित भएँ । यो मेरो करिअरकै अहिलेसम्मकै फरक भूमिका हो ।’

अभिनेता अपर्ण थापाले यस्तो खाले फिल्म कमै बन्ने दाबी गरे । गतसाता ‘द फ्रेन्च किस’ निर्देशनको घोषणा गरेका उनले ‘द ब्लू लाइट’ जस्ता फिल्म बनाउन बलिराम चौहानजस्ता निर्देशक नै चाहिने बताए ।

‘यस खालका फिल्म हम्मेसी बन्दैन । यसलाई बनाउन चौहान जस्ता निर्देशक नै चाहिन्छ’ अर्पणको दाबी छ, ‘सिनेमा त धेरै बन्छन्, तर यस्तो चलचित्र घरीघरी बन्दैन, निर्देशक पनि त्यस्तै चाहिन्छ ।’

चलचित्रका केही दृश्यको खिचाइ र प्रस्तुतिको उनले प्रशंसा गरे ।

थापा ‘भर्सटाइल’ अभिनेता हुनुका साथै आफैँ निर्देशक र लेखक पनि हुन् । गम्भीर अभिनयका लागि चिनिएका उनले फिल्ममा पात्र निर्माण गर्दा ऐनामा हेरेर आफूलाई ‘ह्यान्डसम’ देख्नु र पर्दामा चरित्रमा ढल्किनु फरक कुरा भएको बताए ।

अर्पण भन्छन्, ‘कतिपय अवस्थामा हामी अभिनेताले मात्र पात्र बनाएको जस्तो ठान्छौँ, तर वास्तवमा एउटा चरित्र निर्माण हुनका लागि लेखनदेखि निर्देशन र पूरै निर्माण टोलीको उत्तिकै भूमिका हुन्छ । ‘द ब्लू लाइट’ मा हामीले एउटा यस्तो पात्रलाई प्रस्तुत गरेका छौँ, जसको मनोविज्ञानले दर्शकलाई सोच्न बाध्य बनाउनेछ ।’

अर्पणले आफू सधैँ फरक र चुनौतीपूर्ण चरित्रको खोजीमा रहने र यो फिल्मले आफ्नो त्यो भोक मेटाएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?