+
+
Shares

माघमा तेस्रोपटक हिउँ र पानी पार्ने प्रणाली, कहाँ कस्तो प्रभाव पर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते ९:१८

२० माघ, काठमाडौं । पश्चिमी नेपालका भूभागमा आज अपराह्न हिउँ र पानी पर्ने सम्भावना रहेको जल मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हल्कादेखि मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना छ । यो प्रणाली अघिल्लो हप्ताको भन्दा कमजोर रहेको मौसमविदको भनाइ छ ।

विभागकी मौसमविद बिनु महर्जनका अनुसार गएरातिदेखि नै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा बादल लागेको छ । अपराह्नतिर भने मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।

लुम्बिनी, बागमती र कोशी प्रदेशको पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा पनि हल्का हिउँ र पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।

त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई भू-भागका एक दुई ठाउँमा छिटपुटदेखि हल्का खालको पानी पर्ने सम्भावना छ ।

बागमती कोशीको लागि वर्षाको सम्भावना कम रहेको मौसमविद महर्जनले जानकारी दिइन् । ‘पानी परिहालेछ भने पनि छिटपुट खालको पर्ला,’ उनले भनिन् ।

२१ माघ बुधबारदेखि भने मौसम सुधार हुने उनले जानकारी दिइन् ।

माघमा तेस्रोपटक हिउँ र पानी पार्ने प्रणाली

माघ महिनामा हिउँ र पानी पार्ने प्रणाली नेपाल भित्रिएको यो तेस्रो पटक हो । यसअघि ९ र १० माघ तथा १३ र १४ माघमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हिउँ र पानी परेको थियो ।

९ र १० माघको तुलनामा १३ र १४ माघको प्रणाली केही शक्तिशाली थियो । तर २० माघदेखि प्रभाव देखिने पछिल्लो प्रणाली भने अघिल्लो पटकको भन्दा कमजोर छ ।

वरिष्ठ मौसमविद बरुण पौडेल भन्छन्, ‘हिउँ र पानी पार्ने यो प्रणाली अघिल्लो पटकको भन्दा केही कमजोर छ । त्यसैले अघिल्लो हप्ताको जस्तो धेरै हिउँ र पानी पर्ने सम्भावना भने देखिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?