+
+
Shares
अबिच्युरी :

अमेरिकानोको स्वादमा हैन, सम्झनामा आइरहनेछौ दिनेश !

कुमार बेनले पनि अत्यन्त श्रद्धा गर्ने दिनेशलाई हानी पुर्‍याएर बालेनले के फाइदा लिन सक्थे र ?

सामीप्यराज तिमल्सेना सामीप्यराज तिमल्सेना
२०८२ माघ २० गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पत्रकार दिनेश सिटौलाको निधन भयो र उनको अप्रत्यासित निधनले चलचित्र पत्रकारिता र चलचित्र क्षेत्र शोकाकुल बनेको छ।
  • दिनेश सिटौला चलचित्र पत्रकारितामा इमान्दार र समर्पित थिए र चलचित्र क्षेत्रका सबैभन्दा नजिकका पत्रकारमध्ये एक थिए ।
  • दिनेशको निधनपछि अस्पतालमा उनको अवस्थाबारे गलत अफवाह फैलियो र सामाजिक सञ्जालमा अनावश्यक हल्ला भयो ।

ये वो मेरी मौत पर रो रहे है
अभी उठ जाऊँ तो जिने नहीँ देंगे ।
–गालिब

सबएराक्नोइड हेमरेजका कारण दिनेश सिटौलाको माघ १८ गते निधन भयो । तर निधनअघि ग्रान्डी अस्पतालमा उपचाररत रहँदा र निधनपछि केही व्यक्ति र समूहले जुन अफवाह फैलाए, त्यो देखेर सायद दिनेशले मनमनै माथिका शेर गुनगुनाए होलान् र दिक्क माने होलान् ।

दिनेशको अप्रत्यासित निधनले अहिले चलचित्र पत्रकारिता र चलचित्र क्षेत्र शोकाकुल छ । यो क्षेत्रसँग नजिकको सम्बन्ध नराख्नेहरूका लागि यो अतिरञ्जना लाग्ला । तर दिनेश सिटौला चलचित्र क्षेत्रको सबैभन्दा इमान्दार र नेपाली चलचित्रको मनैदेखि भलो चिताउने एक मात्र पत्रकार थियो । सुरुवाती दिनमा उसको यो भलापनसँग मेरो असहमति थियो । यो कुरालाई लिएर एकाधपटक उसँग बहस भएको मलाई सम्झना छ । तर पछि यो क्षेत्रप्रति उसको निष्ठा र समर्पण देखेर, मैले हार खाएँ ।

अरूसँग जति बहस गरे पनि मैले, दिनेशसँग कहिलै बहस गरिनँ । यसरी उसको स्वभावसँग हार खाएर बहस बन्द गर्नेमा दिवंगत भाइ गोकर्ण गौतम पनि थिए । गोकर्ण नेपाल म्यागजिनमा काम गर्थे र सोसल इस्युसँगै चलचित्र समीक्षा पनि लेख्थे । हरेक शुक्रबार नेपाली चलचित्रको समीक्षा गर्ने गोकर्णको समीक्षा चलचित्रकर्मीबीच आतंकको रुपमा स्थापित थियो । त्यो आतंक रोक्न सकिन्छ कि भनेर फिल्मकर्मीहरू दिनेशसँग ठोक्किन्थे ।

अहिलेझैँ उसबेला पनि दिनेश मिडिया संयोजकको भूमिका निर्वाह गर्थे । चलचित्रकर्मी गोकर्णको समीक्षाले पार्ने क्षतिको कुरालाई लिएर अलि बढी नै चिन्तित हुन्थे । यस्तो बेलामा गोकर्णको मन जितेर दिनेशले मेरै अगाडि पनि ‘तपाईँ समीक्षा नलेख्नु न यार’ भनेको मलाई सम्झना छ । तर गोकर्णले मान्ने कुरै भएन ।

हरेक शुक्रबारका आउने धाक र धम्कीका बाबजुद गोकर्णले ब्रम्हले देखेको लेख्न छाडेन । चलचित्रको कमजोरी र असफलताले रन्थनिएर एक जना अभिनेत्रीले त गोकर्णले पैसा मागेर नदिएको कारण आफ्नो चलचित्रलाई जेपायो त्यही लेखेको भनेर उसबेलाका नेपाल म्यागजिनका सम्पादकलाई समेत पोल लगाउन पुगेकी थिइन् ।

तर हल्ला यस्तो फैलियो– दिनेश गाडीबाट लडेको, बालेनले अन्डकोषमा हानेको र शरीरभर चोटपटक रहेको आदि आदि । यो सँगै दिनेशलाई रास्वपा कार्यकर्ताको रूपमा समेत प्रचार गर्न थालियो ।

धाक, धम्कीबाट नडराएको गोकर्ण पैसा खाएको आरोपले कुँडिएको थियो । चलचित्र लेखकको रूपमा काम पनि गरिरहेको र गोकर्ण भाइसँग नजिक भएको नाताले दिनेशले एकाधपटक मलाई पनि गोकर्णलाई सम्झाउन आग्रह गरेका थिए । तर समीक्षा चलचित्र उद्योगको उन्नतिका लागि अनिवार्य छ भन्ने मायन्ता म उसबेला पनि राख्थेँ र अहिले पनि राख्छु । त्यसैले मैले दिनेशलाई नै सम्झाउँथेँ ।

दिनेश भित्रदेखि कन्भिन्स त थिएनन् तर यसको फाइदा के भयो भने उनले निर्मातालाई प्रतिष्ठित मिडियामा आउने समाचार र समीक्षाको म जिम्मा लिन सक्दिन भन्न थालेका थिए । तर निर्माता वा कलाकार उनलाई किन धर दिन्थे । आफूले जिम्मा लिएका चलचित्र हुन् वा अरूका कलाकार वा निर्माताले उनलाई नै गुहार्थे ।

उनले सकेसम्म त्यस्ता समाचार सच्याइ दिन आग्रह गर्थे । पत्रकारिताको मूल्य मान्यताका हिसाबले यो अभ्यास सर्वथा गलत थियो तर दिनेशको एक सूत्रीय बुझाइ थियो, चलचित्र क्षेत्रका बारेमा नराम्रो नलेखौँ । यो छ र हामी छौँ ।

दिनेशलाई मैले सबैभन्दा पहिले टेलिभिजनको पर्दामा देखेको थिएँ । २०६८ सालतिर उनले एनटिभी प्लसमा सिनेमा नेपाल भन्ने कार्यक्रम चलाउँथे । एनटिभी प्लसमा उसबेला हरेक दिनजसो नेपाली चलचित्रका कार्यक्रम प्रसारण हुन्थे । त्यस्ता कार्यक्रममा प्रस्तोताहरू दुई लाइन बोल्थे र फटाफट प्रोमो बजाउँथे ।

चलचित्रका मुहूर्त, एन्ड क्ल्याप र प्रिमियर आदिका फुटेज सरसर्ती प्ले हुन्थे । फारु गरी बोल्ने दिनेश २५ मिनेटको कार्यक्रममा मुस्किलले एक दुई मिनेट देखा पर्थे । एनटिभी प्लसमा यसरी प्रसारण हुने कार्यक्रममध्ये एउटा कार्यक्रम हेरेपछि बाँकी नहेरे पनि हुन्थ्यो । किनकि यहाँ आउने सबै कार्यक्रमका सम्पादक एकै थिए, रविन्द्र खड्का । उनले दिनेशको सिनेमा नेपालबाहेक कुमार आचार्यको सिनेम्याक्स, श्याम अर्यालको पेज थ्री र प्रकाश सुवेदीको रजतपट सम्पादन गर्थे ।

रजतपटबाहेक बाँकी कार्यक्रममा प्रस्तोताको अनुहार र भाषाबाहेक बाँकी एकैखाले सामग्री हुन्थे । पर्दामा देखिरहेको दिनेशसँग, म नागरिक दैनिकमा काम गर्न थालेपछि भेट हुन थाल्यो । आफूभन्दा ठूलालाई नमस्कार गर्ने र इज्जतसाथ बोल्ने उनको बानीले सुरुमै मलाई प्रभावित पार्‍यो । सुदूरपश्चिम यात्रामा निस्कनुअघि बिग मुभिजको हिमालय जाभामा भेटेर कफी खाँदासम्म पनि उनको विनयभाव यथावत् थियो ।

दिनेशसँग म अलिक नजिक हुने कारण भने म आवत-जावत गर्ने बाटोको कारण सम्भव भएको थियो । नागरिक दैनिकसँगै बिहान म बागबजारको पद्यकन्या क्याम्पसमा हप्ताको दुई दिन आइतबार र बुधबार क्लास लिन्थेँ । बागबजार हुँदै डिल्लीबजार निस्किएर म घट्टेकुलो पुग्थेँ । एक दिन पद्यकन्याकै साइडबाट हिँडिरहँदा पुतलीसडक मुखैमा उनीसँग भेट भयो । उनले गल्ली भित्र छिराए । उनले चलाउने कार्यक्रम बनाउने ठाउँ त्यहीँ रहेछ ।

सानो कोठामा एउटा सोफा थियो र त्यहाँभित्र एडिटिङ टेबल । आइतबार र बुधबार क्लासबाट निस्कने र सिनेमा नेपालमा एक कप चिया खाएर निस्कने क्रम नियमित भयो । दिनेशलाई जतिबेला पनि दुई चार जना मान्छेले घेरिरहेका हुन्थे । त्यहाँ पनि चलचित्र पत्रकारको बाक्लै जमघट हुन्थ्यो । उनले त्यहाँ आउनेलाई चियाखाजा खुवाउनेदेखि जन्मदिनसम्म मनाइदिन्थे ।

दिनेश पछिल्लो समय सिनेमा टाइम्स नामको पोर्टल सञ्चालन गर्थे । चलचित्रको मिडिया संयोजन गरिदिन्थे । पूर्वदेखि पश्चिमसम्मका चलचित्र पत्रकारको रानो थिए । चलचित्र पत्रकारितालाई राजधानीमा जोड्ने सेतु थिए ।

पछि त्यहाँबाट अफिस स्टार मल सारेपछि त एउटा कुनै पत्रकार थिएन होला जसको जन्मदिन दिनेशले मनाइदिएनन् । जन्मदिन पनि मनाउँछन् भन्ने थाहा नपाएको परिवेशबाट आएको मेरो समेत उनकै तजबिजमा पहिलो पटक केक काटेर काटिएको थियो । उनले खोलेको कोको क्याफे लकडाउनका कारण डुबेपछि भने जन्मदिन मनाइदिन छाडेका थिए ।

सिनेमा नेपालको बागबजारस्थित अफिसमा हुँदा नै मलाई कसैले दिनेशको भिडियो देखाएको सम्झना छ । त्यो भिडियोमा दिनेशलाई कसैले गोली हानेर ढालेको दृश्य छ । उनी भिरालो ठाउँमा गोली खाएर ऐय्या गर्दै समतल ठाउँमा झर्छन् र मर्छन् । त्यो भिडियोमा बिराज भट्ट र झरना थापा भने भागिरहेका हुन्छन् ।

छोटो दृश्य कुनै चलचित्रको भाग रहेको अनुमान भए पनि मैले त्यो चलचित्र नहेरेकाले ठम्याउन सकिनँ । उनलाई भिडियो देखाएर जिस्क्याइरहेका भाइहरूले नै दिनेश देखिएको दृश्य ‘खलनायक’ चलचित्रको भएको बताएका थिए । यो चलचित्रलाई अहिले प्रदेश सांसद रहेका रोज राणाले निर्माण गरेका थिए भने विराज भट्ट र झरना थापाको मुख्य अभिनय रहेको थियो ।

दिनेश आजपर्यन्त तीनैजनासँग अत्यन्त नजिक थिए । तीनैका प्रिय थिए । यसरी संगत गर्दै जाँदा थाहा भयो, दिनेश नुवाकोटबाट कलाकार बन्न भनेर आएका रहेछन् । उनले दुई तीन वर्ष यसका लागि मोहन निरौलाले स्थापना गरेको परिवर्तन नेपालमा अभिनयको प्रशिक्षण लिएका थिए । उनले प्रशिक्षण लिइरहेको समयमै आशान्त शर्मा, रविन्द्र सिंह बानियाँ, जेबी रुवाली, विनोद श्रेष्ठ आदि परिवर्तनमा विद्यार्थी थिए ।

रविन्द्रका अनुसार दिनेश कलाकार बन्न आएको भए पनि धेरै खुल्न सक्दैनथे । एउटा नाटकमा अभिनय गरे पनि उनले परिवर्तनमा रहँदै अभिनयभन्दा पनि नृत्यमा जोड गरे र उनी परिवर्तनकै नृत्य प्रशिक्षक भए । परिवर्तनमा अभिनेता आर्यन सिग्देल पनि दिनेशका सहपाठी थिए । पंक्तिकारसँगको एउटा अन्तर्वार्तामा आर्यनले आफ्नो ब्याचमा दिनेश सिटौला पनि रहेको उल्लेख गरेका थिए । तर अभिनय र नृत्य दुवै छाडेर दिनेशले चलचित्र पत्रकारितामा पहिचान बनाए । दिनेशमा व्यवस्थापकीय क्षमता गज्जब थियो ।

चलचित्रका कन्सर्ट, प्रिमियरदेखि भिडभाडवाला सारा कार्यक्रममा बिना कुनै तनाव व्यवस्थापन गर्न सक्थे । व्यक्तिगत तवरमा हेर्ने हो भने पनि उनले भर्खरै चलचित्र पत्रकारिता लागेका देखि अग्रज पत्रकार सम्मलाई आफ्नो व्यवहारले रिझाएका थिए ।

अरूलाई सामाजिक सञ्जालमा घोचपेच गरिरहने केही छुच्चा पत्रकार पनि दिनेशको अगाडि पुगेपछि गरुडको छायाँमा सर्प परेझैँ लल्याक्लुलुक हुन्थे । चलचित्र पत्रकारितामा यस्तो सम्मान दिनेशले मात्र आर्जन गरेका थिए । यो कुरा उनले अरू केही गरेर हैन, मन जितेर पाएका थिए ।

हरकोहीलाई उनले आफू उनीहरूको सबैभन्दा नजिकको मान्छे भएको आभाष दिलाउँथे । हरकोहीलाई लाग्थ्यो– दिनेश सबैभन्दा नजिक मसँग छन् । तर ग्रान्डी अस्पतालमा दिनेश बेहोस् भइरहँदा पो हामी सबै झसङ्ग भयौँ, दिनेशले हामीलाई नजिक महसुस गराएका मात्र रहेछन् । उनी त हामीभन्दा कहाँ हो कहाँ एक्लै बाँचिरहेका छन् । ४५ वर्षीय दिनेश अविवाहित थिए । हामी बेला बेला बिहेको कुरा कोट्याउँथ्यौँ तर उनी सुनेको नसुनै गर्थे ।

पछि पछि दिनेशले असहज महसुस गरेको देखेपछि मैले कहिलै विवाहको कुरा गरिनँ । बागबजारवाला दिनमा हामीले हेर्दा उनको दाहिने हातमा सुजाता लेखिएको ट्याटु थियो । साथीहरू भन्थे, ‘दिनेशले प्रेमिकाको नाम खोपाएका हुन् । ती प्रेमिकाको विवाह भई बच्चासमेत भएको कुरा दिनेशले नै धेरै पछि सुनाएका थिए । अस्पतालमा दिनेशको निधनको औपचारिक घोषणाको प्रतीक्षा गरिरहँदा, मैले उनको विवाह नभएकोमा राम्रै मानेँ।

उनले यति चाँडै छाडेर जाँदा हामीलाई त स्वीकार्न गाह्रो परिरहेको थियो, अग्निसाक्षी राखेर ल्याएको मानिसलाई यो वियोगले कति टुक्रयाउँथ्यो होला । किनभने ऊ सधैँ अरूको बारेमा सोच्थ्यो ।

काम गरेको पैसा आफूले नपाउँदा पनि अरूलाई दिनुपर्ने पैसा भने उसले सहकारीबाट ऋण निकालेर चुक्ता गरिरहन्थ्यो । पैसा नभएको चेक दिएर निर्माताहरू अलप थिए । तर उसले कसैलाई धम्क्याएर स्ट्याट्स लेखेन । कसैलाई रूखो बोलेर पैसा मागेन । समाचारमा आएअनुसार उसको अफिसमा १ करोड हाराहारीका नसाटिएका चेक थिए ।

अस्पतालकै प्रसंग आउँदा हामी सबैलाई चित्त दुखेको कुरा छुटाइयो भने उसको प्रसङ्ग अधुरो हुन्छ । जीवनभर अरूका लफडा मिलाउने र लफडामा पर्नै नचाहने दिनेशलाई जीवनको अन्तिम घडीमा लफडामा पारियो ।

दिनेश राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँगै सुदूरपश्चिमको यात्रामा थिए । अछामको सदरमुकाम मंगलसेनमा गाडीको पछाडि राखेको टोपी निकाल्ने क्रममा उनी लडेका थिए । अछाम जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि हेलिकप्टरबाट उनलाई सुर्खेत हुँदै काठमाडौँ ल्याइएको थियो ।

त्रिभुवन विमानस्थलबाट अस्पताल ल्याउँदा उनी बेहोस् थिए । हामी २ घण्टादेखि कुरिरहेका थियौँ । अछाम अस्पतालबाट साथै लागेर आएका अस्पतालका सहयोगीले बताएअनुसार अछाम अस्पताल ल्याउँदा अवस्था नाजुक थियो । पौने घण्टासम्म सीपीआर गरेपछि दिनेशको मुटुको चाल फर्किएको उनले भनेका थिए । यति सुविधासम्पन्न अस्पतालमा ल्याएपछि उनी मृत्युलाई जितेर फर्किन्छन् भन्ने आश थियो । तर दोस्रो दिन पनि अवस्था ज्यूँकात्यूँ रहेपछि हामी सबै चिन्तित हुन थालेका थियौँ । अस्पतालमा दिनेशलाई हेर्न फाट्टफुट्ट रास्वपाका नेताहरू आइरहेका थिए ।

भोलिपल्ट बालेन आएर फर्किएपछि भने सामाजिक सञ्जालमा अनावश्यक हल्ला फैलिन थाल्यो । अस्पताल ल्याएको साँझ नै चिकित्सकले बिरामीको अवस्था हेरेर ४८ घन्टादेखि ७२ घन्टासम्म आइसीयूमा राखेर अब्जर्ब गर्ने र सोहीअनुसार उपचार गर्ने भनेर परिवार र हामीलाई काउन्सिलिङ गरेका थिए ।

तर हल्ला यस्तो फैलियो– दिनेश गाडीबाट लडेको, बालेनले अन्डकोषमा हानेको र शरीरभर चोटपटक रहेको आदि आदि । यो सँगै दिनेशलाई रास्वपा कार्यकर्ताको रूपमा समेत प्रचार गर्न थालियो । अस्पतालले परिवारलाई पनि दिनेशको अवस्थाको बारेमा जानकारी नदिएको भन्दै आक्रोशित रहेका समाचार अस्पतालमै रहेका पत्रकारको हवाला दिँदै सार्वजनिक हुन थाले ।

अस्पतालमा पाइलै नटेकेका एक एमालेनिकट केही पत्रकारले सकेसम्म सनसनीपूर्ण बनाएर यो विषयलाई प्रस्तुत गरे । मलाई समेत एमालेका एक ठूलै पत्रकार नेताले फोन गरेर पोस्टमार्टम् गर्न दबाब दिन आग्रह गरे । तर नी साथीहरूको चासो दिनेशका लागि थिएन भन्ने कुरा हामीलाई बुझ्न समय लागेन । तर यो समयमा र अहिले पनि ज-जसले जेजति छारो फ्याँकिरहनुभएको छ, यसले देखाउँछ, हामी असाध्यै संवेदनाहीन भइसकेका छौँ ।

आफ्नो पार्टीको अकर्मण्यता छोप्न अरूमाथि जस्तोसुकै फोहोर फाल्न तयार छौँ । मलाई के थाहा छ भने दिनेश बालेनसँग नजिक थिएनन् । बालेनका योजनाकार तथा साथी कुमार व्यञ्जनकार दिनेशको नजिक थिए । रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल अनि कुमार बेन दिनेशलाई स्नेह गर्थे । आफ्ना हरेक सुखदुःखमा दिनेशको अभिभावकत्व खोज्थे ।

दिनेशको बालेनसँगको सुदूरपश्चिम यात्रा संयोग थियो । रिलिज हुने फिल्मको चिन्ता र चटारोले काठमाडौँ खाल्डो छाड्न दिनेशलाई निकै मुस्किल पर्थ्यो । उनी पटक फुर्सदमा थिए । त्यसैले कुमार बेनसँगै घुम्न गएका थिए । दिनेशसँगै रहेका कलाकार अर्जुन घिमिरेका अनुसार घटना हुँदा बालेन र दिनेश सिटौला फरक-फरक ठाउँमा थिए ।

कुमार बेनले पनि अत्यन्त श्रद्धा गर्ने दिनेशलाई हानी पुर्‍याएर बालेनले के फाइदा लिन सक्थे र ? मैले कसैलाई आरोपित गर्न यो सबै सुनाइरहेको छैन, राजनीतिमा रणनितिक लाभ लिने होडमा मान्छे कतिसम्म अमानवीय बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्न खोजेको हो ।

दिनेश पछिल्लो समय सिनेमा टाइम्स नामको पोर्टल सञ्चालन गर्थे । चलचित्रको मिडिया संयोजन गरिदिन्थे । पूर्वदेखि पश्चिमसम्मका चलचित्र पत्रकारको रानो थिए । चलचित्र पत्रकारितालाई राजधानीमा जोड्ने सेतु थिए ।

दिनेशको दैनिकी अनुशासित थियो । नियमित जिम जाने र सन्तुलित खाना खाने । विदेश जाँदा पनि जिम खोजी हिँड्ने । कोभिड अघि दिनेश र म जापान यात्रामा थियौँ । बिहानै उठेर होटलमा जिम खोज्दै थिए तर त्यहाँ रहेनछ । त्यसअघि दुबईमा पनि हामीसँगै थियौँ । त्यहाँ भने होटलमै जिम गर्न पाएर दङ्ग परेका थिए ।

सुत्नका पारखी । ९ बजेपछि ओछ्यान जान हतारिने बानी थियो । विदेशमा पनि ९ बजेपछि उनलाई बाहिर घुमाइराख्न गाह्रो पर्थ्यो । चुरोट र रक्सी कहिलै छोएनन् । अमेरिकानो डबल सट उनको प्रिय पेय थियो । जहिले भेट हुँदा पनि ‘कफी खाउन दाइ’ भनेर अफर गरिहाल्ने ।

सुदूरपश्चिम जानुअघि दिनेश र मैले सिटी सेन्टरको जाभामा एउटा अमेरिकानो डबल सट आधा-आधा गरेर खाएका थियौँ । हाम्रो भेटको अन्तिम पल बन्यो । अब जब-जब अमेरिकानो पिउँनेछु स्वादभन्दा पहिला उनको सम्झनाले मन भिजाउनेछ ।

अहिलेलाई विदा दिनेश, तर सम्झनामा सधैँ जिउँदै रहनेछौ।

लेखक
सामीप्यराज तिमल्सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?