+
+
Shares

सिटौलाको स्मृतिमा चलचित्र पत्रकार संघद्वारा अक्षयकोष स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र पत्रकार संघले निवर्तमान अध्यक्ष दिनेश सिटौलाको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
  • संघले सिटौलाको स्मृतिमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने र वार्षिक पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।
  • चलचित्र विकास बोर्ड र विभिन्न संघ-संस्थाले कोषमा सहयोग गर्ने घोषणा गरेका छन् र ३ लाखभन्दा बढी रकम संकलन भइसकेको छ।

काठमाडौं । चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधनको १३औँ दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सो अवसरमा सिटौलाप्रति श्रद्धासुमन व्यक्त गरियो ।

कार्यक्रममा सिटौलाको स्मृतिमा कम्तीमा १० लाख रुपैयाँको अक्षय कोष स्थापनाको घोषणा गरियो । हरेक वर्ष १८ माघमा सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गर्ने र वार्षिकोत्सव अवसरमा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गरिने संघका अध्यक्ष समीर बलामीले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्म उद्योग र चलचित्र पत्रकारितामा सिटौलाले पुर्‍याएको योगदानको चर्चा गर्दै कोषमा सहयोग गर्न आग्रह गरे । उनले बोर्डको तर्फबाट ५१ हजार रुपैयाँ प्रदान गर्ने जनाए ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै सिटौलाको योगदानको चर्चा गरे । उनले स्वर्गीय सिटौला मिलनसार, सहयोगी भावना र सकारात्मक सोचका धनी व्यक्तित्व भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग गर्ने बताए ।

कोषमा विभिन्न संघ-संस्था तथा व्यक्तिबाट सहयोग घोषणा गरिएको छ । ओएसआर डिजिटलले ३१ हजार, पटकथा लेखक प्रदीप भारद्वाजले २५ हजार, निर्माता सरोज वली र मोहितवंश आचार्यले २५ हजार हजार, षट्कोण आट्र्सले २५ हजार, दिलासा क्रिएसनका तर्फबाट चलचित्र पत्रकार लक्ष्मण सुवेदीले ११ हजार, चलचित्र ‘राम नाम सत्य’ टिमले १० हजार सहयोग घोषणा गरेका छन् । यसअघि ३ लाखभन्दा बढी सहयोग संकलन भइसकेको छ ।

यसैबीच, प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र ‘झरी पछिको इन्द्रेणी’ टिमले अक्षय कोषका लागि रु. १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँदै थप सहयोग संकलन गरिएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?