२३ माघ, धनकुटा । धनकुटामा एक हजार बढी बालिकाहरूलाई पाठेघरको मुख क्यान्सर विरुद्ध लागाइने एचपीभी खोप लगाइने भएको छ।
शुक्रबार स्वास्थ्य कार्यालय धनकुटा तथा जिल्ला खोप समन्वय समितिले सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग गरेको एक अन्तरक्रिया कार्यक्रममा एचपीभी खोप लगाइने बारे जानकारी गराएको हो।
२७ माघदेखि २९ माघसम्म धनकुटामा एक हजार २ सय ८६ जना बालिकालाई खोप लगाइने भएको हो ।
जिल्लाका सात वटै स्थानीय तहका कक्षा ६ मा अध्ययनरत १० वर्ष मुनिका छात्रा र विद्यालय बाहिर रहेका बालिकाहरूलाई खोप दिइने भएको छ ।
यस्तै गत वर्ष खोप लगाउन छुटेका ७ देखि १० कक्षमा अध्ययनरत ११ देखि १४ वर्ष उमेर समूहकालाई पनि खोप लगाइने स्वास्थ्य कार्यालय धनकुटाकी प्रमुख सिर्जना बन्जाडेले जानकारी दिइन् ।
धनकुटामा १ सय ४१ वटा विद्यालय र ७३ वटा स्वास्थ्य केन्द्र गरी जम्मा २ सय १५ स्थानबाट खोप सेवा लिन सकिने भएको छ। खोप कार्यक्रम सञ्चालनका लागि २ सय १४ जना स्वास्थ्यकर्मी परिचालग गरिने स्वास्थ्य प्रमुख बन्जाडेले बताइन्।
प्रतिक्रिया 4