२६ माघ, काठमाडौं । आगामी फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ ।
निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरेको छ । जसअनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडामा एक/एक जना स्वंयसेवकहरू खटिनेछन् ।
निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमको मुख्य उद्देश्य आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गर्ने रहेको छ । जसमार्फत जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास हुने आयोगको अपेक्षा छ ।
मतदानको कार्यमा आम मतदाताको सहभागीता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नु मतदाता शिक्षा कार्यक्रमको अर्को उद्देश्य छ । मतदाता शिक्षाका लागि आम सञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयम् सेवक परिचालन गरिने छ ।
देशभरका नगरपालिका तथा गाउँपालिकाका स्थित ६ हजार ७४३ वडामा फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् ।
स्वयंसेवकले मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा गलत एवम् भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी दिनेछन् ।
स्थानीय तहको सहभागिता र समुदायको प्रत्यक्ष संलग्नता मार्फत सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमले समावेशी सिद्धान्त बमोजिम प्रभावकारी मतदाता शिक्षा प्रवर्द्धन हुने आयोगको विश्वास रहेको छ ।
प्रतिक्रिया 4