News Summary
Generated by OK AI. Editorially reviewed.- निजी क्षेत्रले आगामी आर्थिक गणनामा अनौपचारिक अर्थतन्त्रका क्षेत्रलाई समेट्न सुझाव दिएको छ।
- राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल उद्योग परिसंघबीच दर्ता नभएका व्यवसायलाई गणनामा ल्याउनेबारे छलफल भएको छ।
- तथ्यांक कार्यालय र परिसंघले छिट्टै समझदारीपत्रमा हस्ताक्षर गरी अनुसन्धान र तथ्यांक विश्लेषणमा सहकार्य गर्ने निर्णय गरेका छन्।
२६ माघ, काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक गणनामा अनौपचारिक अर्थतन्त्रका क्षेत्रलाई गणनामा समेट्न सुझाव दिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल उद्योग परिसंघबीचको छलफलमा यस्तो सुझाव दिइएको हो । छलफलमा दर्ता नभएका तर सञ्चालनमा रहेका व्यवसायलाई गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनेबारे छलफल भएको कार्यालयले जनाएको छ ।
साथै, तथ्यांक कार्यालय र परिसंघबीच छिट्टै समझदारीपत्रमा हस्ताक्षर गर्ने र अनुसन्धान तथा तथ्यांक विश्लेषणमा सहकार्य गर्नेबारे समेत छलफल भएको छ ।
कार्यक्रममा परिसंघ महानिर्देशक डा. घनश्याम ओझाले निजी क्षेत्रको तथ्यांक संकलनमा परिसंघले नेतृत्वदायी भूमिका खेल्ने बताए । सही तथ्यांक आएमात्र उद्योगी र सरकार दुवैलाई योजना बनाउन सहज हुने उनले बताए ।
परिसंघका २९ संस्थागत सदस्य र ५ सयभन्दा बढी आबद्ध सदस्य मार्फत जनचेतना फैलाउन सकिने उनले जानकारी दिए । तथ्यमा आधारित योजनाका लागि आफूहरू सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।
कार्यक्रममा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले अर्थतन्त्र मापनका लागि आर्थिक गणना गर्न लागिएको बताए । उनले आार्थिक गणनामा निजी क्षेत्रको आशंका निवारण गर्दै तथ्यांक ऐन २०७९ अनुसार तथ्यांकको पूर्ण गोपनीयता कायम गरिने बताए ।
कार्यालय उद्योगी–व्यवसायीको विवरणको सुरक्षाप्रति संवेदनशील रहेको उनको भनाइ छ । यो गणना कसैलाई करको दायरामा ल्याउन वा दण्डित गर्न नभई मुलुकको वास्तविक आर्थिक सूचक तयार गरी अनुसन्धान र नीति निर्माणमा प्रयोग गर्न भएको उनले स्पष्ट पारे ।
प्रतिक्रिया 4