+
+
Shares

भोट हाल्नुअघि शान्त दिमागले हेर्नुपर्ने फिल्म हो ‘श्री बुकुरो’ : निर्देशक सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक सुदीप भूपाल सिंहले 'श्री बुकुरो' फिल्ममा नेपाली ग्रामीण परिवारको सम्बन्ध र आमाको भूमिकालाई चित्रण गरेका छन्।
  • फिल्मका मुख्य कलाकार आशीर्वाद क्षेत्रीले नेपाली सेनाका क्याप्टेन र कान्छो छोराको भूमिका निभाएका छन् भने निकिता आचार्यले परिवारकी एक्ली छोरीको भूमिका निभाएकी छन्।
  • निर्देशक सिंहले चुनावअघि यो फिल्म हेर्नुपर्ने बताए र फिल्मले दर्शकलाई शान्त र सकारात्मक बनाउने उद्देश्य राखेको उल्लेख गरे।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘श्री बुकुरो’ यसको मर्मस्पर्शी ट्रेलर र संगीतले चर्चित छ । सुदीप भूपाल सिंहले आफ्नो पुनरागमन फिल्ममार्फत नेपाली ग्रामीण समाजको पारिवारिक कथालाई चित्रण प्रयत्न गरेका छन् ।

‘रुद्रप्रिया’ फेम्ड निर्देशक झन्डै दशकपछि पर्दामा देखिनेछन्, त्यो पनि गहिरो र महसुस गर्न सकिने फिल्ममार्फत । म्याग्दी, मुस्ताङसहितका गण्डकी प्रदेशका गाउँको परिवेशमा निर्देशक सिंहले मध्यमवर्गीय ग्रामीण परिवार र त्यसका सदस्यबीचको सम्बन्धलाई उधिनेका छन् ।

आयोजित पत्रकार सम्मेलनमा उनले ‘श्री बुकुरो’ विशुद्ध पारिवारिक र मनोरञ्जनात्मक फिल्म बनेको बताए । ‘यो फिल्म आमाले छोरा, घर र आफूपति सोचेर साना साना सम्बन्धलाई उनिएको कथा हो’ उनले भने, ‘छोरासँगको सम्बन्धमा आमाले कसरी भूमिकालाई अघि बढाउँछिन् । त्यसबीच आउने उतारचढावलाई उनले कसरी डिल गर्छिन् भन्ने आमा र सम्बन्धको कथा हो ।’

दर्शकले उपन्यास पढेजस्तो महसुस फिल्म हेर्दा गर्ने बताउँदै उनले भने, ‘यसमा ठूलो द्धन्द्ध छैन । मिलेको मालामा कुन चाहिँ फूल महत्वपूर्ण हुँदैन ? उपन्यास पढेको जस्तो गरेर फिल्म अघि बढ्छ ।’

नेपाली समाजको वर्तमान कथालाई आफूले चित्रण गरेको उनले बताए । ‘मैले फिक्सन तुल्याएर कथा भन्दा पनि यो स्वभाविक देखिन्छ’ भन्छन्, ‘यो अहिलेको नेपाली समाजको प्रतिविम्व हो । मैले यो फिल्मलाई सकारात्मक बनाउने प्रयास गरेको छु ।’

 

फिल्मले दर्शकलाई सकारात्मक, हलुका र खुसी बनाउन प्रयत्न गर्ने उनको भनाइ छ । ‘मैले यो फिल्ममार्फत सकारात्मक वा नकारात्मक हुने सोचविचार तपाईंको दायित्व हुनेछ भन्ने सन्देश दिन खोजेको छु’ भन्छन्, ‘तपाईं सकारात्मक हुनुभयो भने तपाईंको जीवन सुन्दर छ । पजेटिभ कुरामा अल्झिएको छ यो फिल्म ।’

लेखकको रुपमा आफू सन्तुष्ट भएको पनि निर्देशक सिंहले बताए । ‘रुद्रप्रियापछि अहिले फर्किंदाको अनुभव यसमा छ । यसबीच मैले फिल्म र दर्शकलाई अध्ययन गर्ने मौका पाएँ’ भन्छन्, ‘फिल्मलाई बुझ्ने एक्सपोजर पाएँ मैले ।’

पछिल्लो समय दर्शक सचेत बनेको बताउँदै उनले नयाँ पुस्तालाई पैसाभन्दा समय मूल्यवान रहेको बताए । पछिल्लो समय जनरामा आधारित ‘अटुर सिनेमा’ बनेको बताउँदै उनले त्यस्तै अवधारणामा फिल्म लेखिएको बताए ।

‘हामी सबै त्यो प्रयास गरिरहेका छौं । नयाँ अवधारणाका कथा पनि लेखिएका छन् । हामीले कल्पना गर्न डराउने जेरी अन टप जस्ता फिल्म बन्न थालेँ । यो अटुर सिनेमा हो’ उनले भने । महत्वपूर्ण कुरा– उनले चुनावअघि यो फिल्म हेर्नुपर्ने बताए । भन्छन्, ‘यो समय महत्वपूर्ण हो । यस्तो टाइम, जहाँ हामी सबैको ध्यान चुनावमा छ । यस्तो बेलामा श्री बुकुरो आउनु महत्वपूर्ण छ ।’

चुनाव निर्णय गर्ने अवसर भएको र निर्णय शान्त मुडमा हुनुपर्ने उनको मत छ ।

उनको मत छ, ‘उसै त नेपाली फिल्ममा दर्शकको ध्यान कम भैरहेको बेलामा झन् चुनाव । चुनावभन्दा अघि हेर्नुपर्ने फिल्म हो यो । चुनाव भनेको डिसिजन हो । त्यो डिसिजन आवेग वा शान्त भएर लिनुपर्छ ? फिल्मले दर्शकलाई अवचेतनरुपमा शान्त तुल्याउँछ र मनोरञ्जन तुल्याउँछ ।’

के भन्छन् आशीर्वाद र निकिता ?

फिल्ममा आशीर्वाद क्षेत्री र निकिता आचार्यको शीर्ष भूमिका छ । ‘नाइँ नभन्नू ल ६’ डेब्यू एक्टरले यो फिल्ममा नेपाली सेनाका क्याप्टेन र घरका कान्छो छोराको भूमिका निर्वाह गरेका छन् । घर धान्ने कान्छो छोरा, व्यवहारिक र परिपक्व स्वभावमा यो पात्र छ । घरमा कान्छो छोराको मात्र विवाह गर्न बाँकी छ । कान्छो छोराको विवाह हेर्ने आमाको धोको छ ।

‘यो पात्रका कतिपय कुरा म आफैसँग मेल खान्छ । उसले सोच्ने कुरा, बोल्ने कुरामा लुकेका अर्थ, शान्त स्वभाव मसँगै मिल्छ’ आशीर्वाद भन्छन्, ‘लभ एंगल नमिल्ला र आर्थिक कुरा नमिल्ला । अरु सबै मिल्छ ।’

‘नाइँ नभन्नु ल ६’ मा आफूलाई दर्शकले हिरोइज्म पात्रमा देखेको भएपनि ‘श्री बुकुरो’ मा चाहिँ गहिरो चरित्रमा देख्न सक्ने उनले बताए । ‘थोरै भएपनि मेरो अभिनयको प्यास यो फिल्मले मेटेको छ’ आशीर्वाद भन्छन्, ‘छैटौं स्क्रिप्ट पढेपछि मात्र यसलाई साइन गरेको हुँ । यसको निर्देशक र निर्माता पनि एकैजना हुनुहुन्छ । उहाँलाई जोगाउनुपर्छ भन्ने लाग्यो । योगदान पनि दिएको छु ।’

यसपछि आफूले ३ फिल्म गर्न लागेको उनले जनाए । यसपछि चाहिँ दर्शकले रोमान्टिकसहितका हिरोइज्म पात्रमा आफूलाई देख्न पाउने उनको भनाइ छ । ‘म दर्शकसामु अभिनयको विविधता पस्किन चाहन्छु’ उनले भने, ‘यो फिल्ममा ४२ जना पात्र छन् र सबैसँग दर्शक जोडिन सक्छन् ।’

यो फिल्म निकिताको लागि तेस्रो कथानक हो । यसमा उनले परिवारकी एक्ली छोरीको भूमिका निर्वाह गरेकी छन् जो इन्डिपेन्डेन्ट बन्न चाहन्छिन् र बुवाको पद्चापमा हिँड्न चाहन्छिन् ।

‘मेरो लाइफको यो धेरै महत्वपूर्ण फिल्म हो’ निकिताले अनलाइनखबरसँग भनिन्, ‘मैले सबै फिल्ममा भिन्न भिन्न पात्र गरेको छु । यसमा चाहिँ मैले गरेको कामभन्दा भिन्न खालको काम गरेको छु ।’

अहिलेको क्षणमा ‘श्री बुकुरो’ महत्वपूर्ण फिल्म रहेको उनी बताउँछिन् । ‘मलाई एक्टरको रुपमा सबै पात्र गर्न मन लाग्छ । बाटोमा हिँड्दा पनि उहाँहरुको सोच के होला भन्ने सोच आइहाल्छ । धेरै एक्स्प्लोर गर्न मन छ’ उनी सुनिइन् ।

को–एक्टरको रुपमा आफूले आशीर्वादलाई राम्रो पाएको निकिता बताउँछिन् । ‘यो फिल्म हेरेपछि दर्शक आफ्नो परिवार, विशेषगरि आमासँग धेरै नजिक हुनुहुन्छ’ निकिता भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?