News Summary
Generated by OK AI. Editorially reviewed.- दीपमाला खरेलले 'मिस नेपाल हङकङ २०२६' को उपाधि जितेर 'मिस नेपाल २०२६' मा सीधै प्रवेश पाएकी छन्।
- मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले खरेलले छनोटका मापदण्ड पूरा गरेको बताए।
- खरेल विश्वकै ठूला लगानी कम्पनी ब्ल्याक-रकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छिन् र हङकङकी म्याराथन धाविका पनि हुन्।
काठमाडौं । दीपमाला खरेल ‘मिस नेपाल २०२६’ मा छनोट हुने पहिलो प्रतिस्पर्धी बनेकी छन् । ‘मिस नेपाल हङकङ २०२६’ को उपाधि जितेसँगै उनी मिस नेपालमा सीधै प्रवेश गरेकी हुन् ।
यी दुई सौन्दर्य प्रतियोगिताबीच केही वर्षदेखि यस्तो समझदारी छ । विहिबार हङकङको इटन होटलमा आयोजित फिनालेमा मिस नेपाल २०२४ आश्मा केसीले ताज पहिर्याइदिएकी थिइन् ।
मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले अनलाइनखबरलाई बताएअनुसार खरेलले मिस नेपालमा छनोट हुन योग्यताका मापदण्ड पूरा गरेकी छन् ।
मापदण्ड पूरा गरेसँगै उनलाई प्रतिस्पर्धामा सहभागी गराइने कंशाकारको भनाइ छ ।
मिस नेपाल हङकङ जितेपछि खरेलले भनेकी छन्, ‘म धेरै खुसी छु । अब मलाई नयाँ जिम्मेवारी आएको जस्तो लागेको छ । हिजोसम्म म मेरो परिवारकी छोरी मात्रै थिएँ, आजदेखि म पूरै हङकङकी छोरी बनेकी छु । मिस नेपालमा प्रतिस्पर्धा गरेर हङकङको नाम उँचो बनाउनेछु । मिस नेपालको ताज जित्नु र सामाजिक काममा सक्रिय हुनु मेरो अर्को लक्ष्य हो ।’

उनी विश्वकै ठूला लगानी कम्पनीमध्ये एक ब्ल्याक-रकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छिन् । हङकङमै जन्मे हुर्केकी उनले स्नातक सकेलगत्तै काम थालेकी थिइन् ।
शिक्षा, खेलकुद, कला र व्यवस्थापन सीपको सन्तुलित संयोजनले उनलाई अरूभन्दा फरक बनाएको आयोजकहरूको भनाइ छ । उनी हङकङकी म्याराथन धाविका हुन् । तेक्वान्दो अभ्यास गर्छिन् । दक्ष कार्यक्रम सञ्चालक र वक्ता पनि हुन् । रनवे मोडलका रूपमा काम गरेकी छिन् भने हङकङ टोस्टमास्टर्सकी सदस्यसमेत हुन् ।
फिनालेमा ‘द हिडन ट्रेजर’ का अध्यक्ष अजयरत्न स्थापितले भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए । कोरियोग्राफर रचना गुरुङ पनि कार्यक्रममा पनि कार्यक्रममा सहभागी थिइन् ।
प्रतिक्रिया 4