+
+
Shares

गैरचिकित्सकबाट उपचार, दुई डेन्टल क्लिनिक सिल गर्न सिफारिस

काउन्सिलले यस्ता गतिविधिले सर्वसाधारणको मुख तथा दन्त स्वास्थ्यमा प्रत्यक्ष जोखिममा पारेको डा. काफ्ले बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मेडिकल काउन्सिलले काठमाडौँ महानगरपालिकाभित्रका दुई डेन्टल क्लिनिकलाई सिल गर्न सिफारिस गरेको छ।
  • काउन्सिलले गैरचिकित्सकले काम गरेको, मापदण्ड नपुगेको भन्दै पूजा डेन्टल क्लिनिक र नाइस स्माईल डेन्टललाई सिल गर्न सिफारिस गरेको छ।
  • अनुगमनमा दर्ता नभएको, उपकरण बिग्रिएको र अस्वस्थकर वातावरणमा सेवा सञ्चालन भएको पाइएको छ।

२९ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित दुई डेन्टल क्लिनिकलाई सिल गर्न सिफारिस गरेको छ । बिहीबार काउन्सिलले चार डेन्टल क्लिनिकमा अनुगमन गरेको थियो । जसमध्ये दुई क्लिनिकमा गैरचिकित्सकले काम गरेको पाइएपछि काउन्सिलले सिल गर्न काठमाडौं महानगरपालिकालाई पत्र काटेको छ ।

अनुगमन बिज्ञका रुपमा गएका नेपाल डेन्टल एसोसियसनका प्रवक्ता डा. भुमेश काफ्लेका अनुसार सर्वसाधारणबाट गुनासो आएपछि अनुमन भएको हो । ‘गैरडाक्टरले काम गरिरहेका छन् । मापदण्ड पनि पुगेको छैन भन्ने गुनासो आएपछि अनुमनमा गएका थियौं’ डा. काफ्लले भने ।

काउन्सिलका अनुसार पूजा डेन्टल क्लिनिक र नाइस स्माईल डेन्टलमा जनस्वास्थ्य सम्बन्धी न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । यी क्लिनिक सम्बन्धित निकायमा दर्ता नभएको, योग्य दन्त चिकित्सक तथा डेन्टल हाइजिनिस्ट नराखी सेवा सञ्चालन गरेको, अत्यधिक फोहोर तथा अस्वस्थकर वातावरणमा उपचार सेवा प्रदान गरेको भेटियो।

साथै उपकरणहरूको स्टेरिलाइजेशन नगरेको, दन्त सामग्री अव्यवस्थित राखिएको, बिरामीको अभिलेख नराखिएको तथा एक्स–रे मेसिन बिग्रिएको अवस्थामै प्रयोगका लागि राखिएको समेत भेटिएको काउन्सिलले जनाएको छ ।

त्यसैगरी आरुबारी डेन्टल क्लिनिक जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको र सम्बन्धित डाक्टरसँग औपचारिक सम्झौता पत्र नभएको पाइएको काफ्लले बताए । नागेश्वर डेन्टल होममा फुल–टाइम दन्त चिकित्सक नराखी पार्ट–टाइम चिकित्सकमार्फत मात्र सेवा सञ्चालन गरिएको भेटिएको छ।

काउन्सिलले यस्ता गतिविधिले सर्वसाधारणको मुख तथा दन्त स्वास्थ्यमा प्रत्यक्ष जोखिममा पारेको डा. काफ्ले बताउँछन् । काउन्सिलले नाइस स्माईल डेन्टल केयर प्रा.लि. र पूजा डेन्टल क्लिनिकलाई तत्काल बन्द गरी सिल गर्न सिफारिस गरेको छ । काठमाडौं महानगरपालिकालाई आवश्यक कारबाहीका लागि पत्र समेत पठाएको डा. काफ्लले बताए ।

अनुगमनमा डा. अजय कुमार शाह र डा. अस्मिता पोखरेल डा. भुमेश काफ्ले र डा. हरी वली र रमिला मानन्धर सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?