४ फागुन, धनकुटा । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको संख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय धनकुटाले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार जिल्लाका सात वटै स्थानीय तहका घर–घरमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरी स्वयंसेवकहरु खटाइएको छ । मतदाता शिक्षामा मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिने, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउने तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउने काम सुरु भएको श्रेष्ठले बताए ।
निर्वाचन कार्यक्रम अनुसार फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम १७ गतेसम्म चल्ने छ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी श्रेष्ठका अनुसार मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास छ । विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गर्न थालिएको पनि उनले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत मतपत्रमा सही चिह्न कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी दिन थालिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई मतदाता शिक्षा कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै, निष्पक्ष, मर्यादित र सफल निर्वाचन सम्पन्न गर्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ ।
मतदाता शिक्षाको लागि धनकुटाका ७ वटै स्थानीय तहमा अनुगमनका लागि निर्वाचन सम्पर्क व्यक्ति एक/एक जना छन् । यस्तै जिल्लाका ६० वटै वडामा मतदाता शिक्षाका लागि एक/एक जना स्वयंसेवक खटिएका छन् । मतदाता शिक्षाका लागि स्वयंसेवकहरुमा बालविकास सजहकर्ता वा स्वास्थ्य स्यवंसेविका वा सामाजिक परिचालकलाई तोकिएको छ । मतदाता शिक्षाका लागि खटिने स्वयंसेवकहरुलाई १० हजार रुपैयाँ र स्थानीय तहका सम्पर्क व्यक्ति अर्थात अनुगमनकर्तालाई ५ हजार रुपैयाँ पारिश्रमिक आयोगले दिने छ ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा एक लाख १८ हजार ४ सय २५ मतदाता छन् । यस्तै धनकुटा जिल्लामा १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्र रहेका छन् । यस्तै जिल्ला कारागार धनकुटामा एक र निर्वाचनमा नखटिएका कर्मचारीको लागि एक गरी दुई वटा अस्थायी मतदानस्थल रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
धनकुटामा गत निर्वाचनमा मत बदरको अवस्था
धनकुटा जिल्लामा २०७९ मा भएको प्रतिनिधि सभाको प्रत्यक्षको तुलनामा समानुपातिकमा बढी मत बदर भएको छ ।
२०७९ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतदाता १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेकोमा प्रत्यक्षतर्फ ६९ हजार ४ सय १४ मत अर्थात ५९ दशमलब ३६ प्रतिशत मत खसेको थियो । जसमा ६६ हजार ७ सय २७ सदर मत रहेकोमा २ हजार ७ सय १७ मत अर्थात ३ दशमलब ९१ प्रतिशत मत बदर भएको थियो । यस्तै समानुपातिक तर्फ ७० हजार २ सय १९ मत अर्थात ५९ दशमलब ५१ प्रतिशत मत खसेको थियो । जसमा ६६ हजार ३ सय २० मत सदर रहेकोमा ३ हजार ८ सय ९९ मत अर्थात ५ दशमलब ५५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ४ दशमलव ६९ र समानुपातिक तर्फ ५ दशमलव ६५ प्रतिशत मत बदर भएको थियो ।
यस्तै २०७४ मा भएको प्रतिनिधीसभा निर्वाचनमा प्रत्यक्षमा ५ दशमलव ४८ प्रतिशत मत बदर भएको थियो ।
जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण तथा समानुपातिक तर्फ धेरै चुनाव चिह्न भएका कारण बढी मत बदर हुने गरेको अनुमान छ ।
प्रतिक्रिया 4