+
+
Shares

चुनावी सभा छाडेर घरदैलो र फेसबुक प्रचारमा उम्मेदवार

ईश्वर थापा ईश्वर थापा
२०८२ फागुन १६ गते ९:१६

१६ फागुन, धनकुटा । यही फागुन २१ गते हुने पतिनिधससभा सदस्य निर्वाचनको मतदान हुन एक साता पनि बाँकी छैन । मतदानको मिति नजिकिँदै गर्दा उम्मेदवार र दलका नेताहरुको पनि सक्रियतालाई बढाएका छन्र । विगतको निर्वाचनभन्दा यो निर्वाचनमा उम्मेदवारहरुले मत माग्ने, सभा गर्ने परिपार्टीमा समेत परिवर्तन गरेका छन् ।

गत निर्वाचनमा धनकुटाका सातै स्थानीय तहका केन्द्रमा चुनावी सभा वा सम्मेलन गर्ने गरेता पनि यो निर्वाचनमा सभा सम्मेलनभन्दा पनि जनताको घर घरमा उम्मेदवार आफै पुग्ने गरेको दृष्यहरु देखिएका छन् । धनकुटामा उम्मेदवार रहेका १७ जना उम्मेदवारहरुले अहिलेसम्म चुनावी सभा गरेका छैनन् । धनकुटामा ३ स्वतन्त्र र १४ जना दलिय उम्मेदवार चुनावी मैदानमा छन् ।

धनकुटामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले एउटा पनि चुनावी सभा नगरेका हुन् । रास्वपाले धनकुटामा चुनावी सभा तथा सांगीतिक कार्यक्रम गर्ने तयारी गरेपनि रातको समयमा भएर प्रशासनले अनुमति नदिएपछि स्थगित भएको थियो ।

रास्वपाले फागुन ८ गते गायक तथा रास्वपा समानुपातिक उम्मेदवार प्रकाश सपुतको उपस्थितिमा दिनको ४ बजेबाट कार्यक्रम तय गरेको थियो । तर, प्रकाश सपुत आउँदा केही ढिलो भएकोले कार्यक्रम सुरु हुन ढिला हुने भएपछि कार्यक्रम नभएको हो ।

सांगितिक कार्यक्रम भएपनि चुनावी सभा नै भएकोले आचारसंहिताले साँझको ७ बजेपछि कार्यक्रम गर्न नमिल्ने भएकाले अनुमति नदिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए । रास्वपा बाहेकका अन्य उम्मेदवारले चुनावी सभाको कुनै पनि कार्यक्रम नै तय गरेका छैनन् । हरेक मतदाताको घर पुग्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर घरदैलो अभियान सञ्चालनमा गरिएको रास्वपा सभापति बालानन्द दाहालले बताए ।

यस्तै फागुन १६ गते राप्रपाले धनकुटामा चुनावी सभाको तयारी गरेको थियो । तर, अन्तिम समयमा आएर स्थगित भएको छ । राप्रपाले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतको उपस्थितिमा चुनावी सभा गर्ने तय भए पनि लिङ्देन नआउने भएपछि कार्यक्रम स्थगित भएको राप्रपा धनकुटा अध्यक्ष कुमार बहादुर थापाले जानकारी दिए ।

यस्तै नेकपा एमाले धनकुटाले पनि चुनावी सभाको आयोजना नगरेको सचिव पर्शुराम नेपालले जानकारी दिए । उनले सभाभन्दा पनि जनताको घरदैलोमा पुग्ने कुरालाई प्राथमिकतामा राखको जानकारी दिए । ‘अरु दलले पनि गरेको सुनिएन हाम्रो पनि योजना छैन’, उनले भने ।

यता नेपाली कांग्रेस सचिव विजयसञ्तोषी राईले चुनावी सभाको कार्यक्रम नराखेको बताए । धनकुटाका धेरै जसो स्थानीय तहमा घरदैलो कार्यक्रम सकिएको उनको भनाइ छ ।

नेपाली कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुख गोपाल बराइलीले चुनावी सभाको योजनामा नरहेको जानकारी दिए । उनले आन्तरिक रणनीति बनाएर घरदैलो कार्यक्रममा क्रियाशील रहेको जानकारी दिए ।

सामाजिक सञ्जालमा प्रचार 

चनावी सभा छाडेर घरदैलामा लागेका धनकुटाका उमेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन् । उनीहरुले घरदैलोदेखि सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाएका छन् । उमेदवारहरूको चुनावी एजेण्डामा गाँजा खेती वैधानिकीकरण, धरान–मुलघाट सुरुङमार्ग निर्माण, विकासका पूर्वाधार विस्तार तथा भ्रष्टाचार नियन्त्रणजस्ता विषय समेटिएका छन् ।

एमाले उमेदवार राजेन्द्र राईले टोली गठन गरेर घरदैलो कार्यक्रम सञ्चालन गर्दै सामाजिक सञ्जालबाट प्रचार तीव्र बनाएका छन् । माघ १५ गतेबाट सुरु भएको अभियान अन्तिम चरणमा रहेको उनले बताए ।

कांग्रेस उमेदवार दिनेश राईले घरदैलोका साथै सामाजिक सञ्जाल प्रयोगलाई प्राथमिकता दिएका छन् । उनी केही दिन अघिसम्म बिहान ७ बजे र साँझ ७ बजे फेसबुक लाइभमार्फत मतदाता र प्रयोगकर्तासँग संवाद गर्ने गरेका थिए । केही दिनयता भने व्यस्तताले फेसबुक लाइभ बस्न नपाएको उनी बताउँछन् । फेसबुकमा प्रचार भइरहेको भए पनि लाइभमा  धेरैसँग साक्षात्कार हुँदा सहज भएको उनले बताए । प्रत्यक्ष भेटघाट हुन नसकेकासँग संवाद गर्न यो माध्यम उपयोगी भएको उनको अनुभव छ ।

नेकपा उमेदवार धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार दिनेश भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापाले पनि घरदैलोसँगै सामाजिक सञ्जालबाट प्रचारलाई तिव्र बनाएका छन् । स्वतन्त्र उमेदवार लाक्पा तामाङले भ्रष्टाचार अन्त्यलाई प्रमुख चुनावी मुद्दा बनाउँदै मतदातासँग भेटघाट गरिरहेका छन् । उनले सामाजिक सञ्जालमार्फत पनि आफ्नो धारणा राख्दै जिल्लाका विभिन्न स्थानमा पुगेर मत मागिरहेका छन् । धनकुटामा उनीहरु सहित १७ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?