+
+
Shares
जेनजी आन्दोलनमा बेपत्ता :

एक दुःखान्त : त्यो साँझपछि समीर कहिल्यै घर फर्किएनन्

गर्भमा बच्चा हुर्काइरहेकी श्रीमतीको श्रीमान हरायो । बुढी आमाको साहारा हरायो । मायालु दिदीको माइती हरायो । ज्याला मजदुरी गरेर गुजारा गर्ने यो परिवारको सुख र सपना एकसाथ हरायो ।

पुष्पराज चौलागाईं शंकर गिरी पुष्पराज चौलागाईं, शंकर गिरी
२०८२ फागुन ४ गते २१:२४
Listen News
0:00
0:30
🔊

 २४ भदौको त्यो रातपछि समीर श्रेष्ठ कहिल्यै घर फर्केनन् ।

गर्भावती श्रीमती र बुढी आमाले उनी आउने बाटो हेरिरहे । रात गुज्रियो । दिन, हप्ता अनि महिना बित्यो । समीरले गर्भमा छाडेर गएको बच्चा जन्मिए । दूधे बच्चा आमाको काखमा लडीबुडी खेल्ने भइसके ।

तर, त्यो सानो परिवारको सन्नटा चिर्दै यस्तो आवाज आएन, ‘म आइपुगें ।’

उनी कहाँ गए होलान् ? के भए होलान् ? यो प्रश्नले आमा र श्रीमतीको मनमा ऐंठन पारिरहन्छ । घर रित्तियो । आमाको आड–भरोसा रित्तियो, श्रीमतीको माया र खुसी रित्तियो । समीरले गरेको रङ लगाउने कामले परिवारको गुजारा चल्थ्यो । आयस्रोत सुक्यो । उनीहरू सम्पूर्ण रुपमै रित्तिए ।

त्यही रित्तो डेरामा हामी पुग्दा एकतमासले टोलाइरहेका थिए परिवारजन ।

खासमा त्यस रात के भएको थियो ? कसरी, कहाँबाट र किन गायब भए समीर ? हामीले सोध्यौं ।

२४ गते भदौ, मध्यान्ह ।

त्यसदिन श्रीमती पूजा माइती गएकी थिइन् । साँझको पाँच बजेतिर समीर पनि घरबाट निस्किए । जेनजी विद्रोह उत्कर्षमा थियो त्यसदिन । अघिल्लो दिनको घटनाले आक्रो‍शित मान्छेहरू सडकमा ओर्लिएका थिए र शहरभर आगो सल्काउँदै थिए ।

पूजाले समीरलाई फोन गरेर भनिन्, ‘आज बाहिर ननिस्कनुँ ।’ उनले एक पटक होइन, पटक पटक फोन गरेर यसै भनिन् । अरुबेला रंगरोगनको काम गर्ने समीर त्यसदिन फुर्सदमै थिए ।

तर समीरले श्रीमतीको कुरा टेरेनन् । उनलाई दिदीले फोन गरिन् । समीरले भने, ‘म चुच्चेपाटीमा छु ।’ साँझ ६ बजेतिर उनी मैजुबहालमा देखा परेका थिए । ७ बजे चाबहिल चोकमा साथीभाइसँग थिए । ८ बजे चुच्चेपाटीको पेट्रोल पम्पबाट साथीहरूसँग छुटिए । त्यसपछि भाटभाटेनी जाने बाटोतर्फ लागे ।

यसअघि दिदीले पटक–पटक फोन गरेपछि समीर झोक्किएका थिए, ‘कति फोन गरेको ? गेट बन्द गरेर सुत्नू ’ उनले फोन काटे । अनि उनी गायब भए । जेन जी विद्रोह उत्कर्षमा रहेको त्यो रात २६ वर्षे समीर कहाँ गए कहाँ । त्यसयता उनको कुनै थाहापत्तो लागेको छैन ।

एक अन्त्यहीन पर्खाइ

मैजुबहालको साँघुरो गल्लीहुँदै २०० मिटर अगाडि बढेपछि भेटिन्छ, एक तले घर । यही ओसिलो घरमा समीरको परिवार छन् ।

कमाउने–खुवाउने घरको मूल मान्छे हराएपछि एउटा परिवारको अवस्था कस्तो हुन्छ ? त्यही विरहलाग्दो दृश्य यहाँ साक्षतकार हुन्छ । एक अन्त्यहीन पर्खाइमा बसिरहेका, बुढी आमा र सुत्केरी श्रीमती ।

जहाँ समीरकी श्रीमती पूजा श्रेष्ठ बसिरहेकी छिन्, नवजात छोरालाई काखमा च्यापेर, रातदिन आँसु पुछ्दै । उनको जीवन अब एउटा लामो प्रतीक्षाको यात्रा बनेको छ ।

श्रीमान् फर्किने आशामा, जसलाई भाग्यले कुनै अँध्यारो कुनामा लुकाएको जस्तो लाग्छ ।

हामीसँग कुरा गर्दा पूजाको आँखा रसिला थिए, बोल्दाबोल्दै पटकपटक भक्कानिइन् । उनको स्वरमा दुःखको गहिराइ थियो । न आस मार्न सकिने, न लास भेटिने । कस्तो बिडम्बना हो यो जीवनको ?

साथीसँग छुटिएपछि समीर भाटभेटिनीतर्फ लागेका थिए । उनको फोनमा अन्तिम लोकशन पनि भाटभटेनी छेउ देखाएको छ । त्यसरात भाटभटेनी दनदन जलिरहेको थियो ।

केही दिनपछि प्रहरीले भाटभटेनीबाट सात वटा कंकाल शव निकालेको थियो । तर परिवार पूरै बेखबर छ । समीर भाटभटेनीको आगलागीमा परेका हुन् वा अन्त कतै बेपत्ता भएका हुन् ।

समीरसँग पूजाको चार वर्ष अगाडि विवाह भएको थियो । मैजुबहालमा एकतले घर भाडामा लिएर लिएर समीरको परिवार बस्दै आएका छन् । समीर बेपता हुँदा पूजाको पेटमा ५ महिनाको गर्भ थियो । ७ पुसमा पूजाले छोरालाई जन्म दिइन् ।

अस्पतालमा सबैले सोध्थे, ‘श्रीमान् खोइ त ?’

उनीसँग यसको जवाफ थिएन । ‘स्वास्थ्य जाँचलगायतका लागि विभिन्न प्रक्रियामा श्रीमानको हस्ताक्षर खोजिन्थ्यो । ‘हस्ताक्षर गर्ने मान्छे नै छैन भन्दा मन एकदमै खल्लो हुन्थ्यो’ पूजा सुनाउँछिन् ।

निष्पट रातले पूजालाई झनै सताउँछ । छोरो रुन्छ, दूध खुवाउँछिन्, सुताउँछिन् । तर छेउमा कोही हुँदैनन् । समीर भएको भए बच्चालाई हेर्थे, हरेक काममा सघाउँथे होलान् ।

तर अहिले सबै बोझ उनी एक्लै उठाउँदै आएकी छिन् ।

बच्चा काखमा हुँदा पूजालाई समीरको यादले मन अमिलो बनाइरहन्छ । हरेक पलमा समीरको अभाव खटिरहन्छ ।

‘बच्चाका लागि बाँच्नुपरेको छ’ यसो भनिरहँदा पूजाका आँखा टिलपिल हुन्छन्, ‘जतिखेर पनि आफूसँगै भएको मान्छे अचानक नहुँदा जो भएपनि त्यो कमी पूरा नहुँदो रहेछ,’

छोरा पर्खिरहेकी ती बुढी आमा

उमेरले ६० वर्ष टेकिन्, सरिता श्रेष्ठ । उनलाई बारम्बार छोराको झझल्कोले अत्याउन थालेको छ । भान्सामा चिया पकाइरहेका बेला छोरा समीर बोलेजस्तो लाग्छ ।

झ्यालतिर झल्याकझुलुक मोबाइल खेलाइरहेको जस्तो लाग्छ । फेरि हठात् सन्नटा छाउँछ । हिजोसम्म यहीँ रमाउने छोरो आज छैन । उनी भन्छिन्, ‘काममा जाँदा साथीहरूले बोलाउँदा, हाँस्दा एकछिन बिर्सिएजस्तो हुन्छु । तर घर आएपछि छोराकै यादमा हराउँछु ।’

छोराको यादले उनलाई कतिसम्म सताएको छ भने खाएको स्वाद लाग्दैन । रातको निद्रा खोसिएको छ । खुसी र उमंग हराएको छ । समीर बेपत्ता भएपछि उनी बिरामी नै परिन् ।

छोरा नै नभएपछि उनले आफैंलाई सिध्याउने सोंच पनि बनाइन् । तर, भर्खरै जन्मिएको नातीको अनुहार हेरेपछि उनलाई बाँच्ने हिम्मत आयो । ‘बाटोमा गाडी आउँदा डर लाग्दैनथ्यो, बरु यहीँ हानिदिए हुन्थ्यो जस्तो लाग्थ्यो’ उनी भन्छिन्, ‘तर बुहारी र सानो नातीको साहाराकै लागि बाचिँरहेको छु ।’

छिमेकी र आफन्तले बेला बेखतमा भन्छन्– धेरै चिन्ता नलिनू । अरू सन्तान पनि छन् नि ! तर आमाको मन कहाँ मान्थ्यो र !

‘एउटा औंला काट्दा पनि सबै शरीर दुख्छ नि’ सरिता भन्छिन्, ‘सबै छोराको उत्तिकै माया लाग्छ । तर हराएको छोराको याद अझ बढी आउँछ ।’

सरिता धापासीको एक निजी स्कुलमा कार्यालय सहयोगीको काम गर्छिन् ।

अहिले उनी केही सहन सक्ने भएकी छिन् । तर मन भने अशान्त छ ।

बाहिर पानी परिरहेका बेलामा उनी सोचिरहेकी हुन्छिन्– छोरो भिज्यो होला, के खायो होला ? के गर्दै होला ?

हरेक कुराले उनलाई समीरको सम्झना दिलाउँछ । बाटो हिँड्दा अनयासै आँखा रसाउँछन् । तर उनी आफैं थाहा पाउँदिनन्, आँसु बगेको ।

राति ढोकामा बसेर छोरा आउने बाटो हेर्छिन् । बाहिर कसैले कुरा गर्दा पनि उनलाई लाग्छै– कतै समीर आयो कि ! समीरले आमा भनेर बोलाएको हो कि !

समीर सपनामा देखिन्छन् । कहिले खाटमा बसेर हाँस्दै गरेका हुन्छन्, कहिले भान्साको कोठामा फोन चलाएर बसेका हुन्छन् ।

जब उनी ब्यूँझिन्छिन्, सिरानी आँसुले भिजेको हुन्छ ।

एक्लै बस्दा अनगिन्ती कुरा खेलाइरहेकी हुन्छिन् । उनी बेलाबेला सोच्छिन्– चाबहिल चोकमा गएर चिच्याउँ, छोरा फर्केर आऊ भन्दै ।

उनीसँग अझै आशाको त्यान्द्रो छ– समीर कतै छन् । एक दिन आमा भन्दै घर फर्किन्छ ।

हरेक आमा आफ्नो सन्तानका लागि जिउँछिन्, आफ्नो सन्तानमा बाँच्छिन् । र जब त्यो सन्तान हराउँछ । आमा पनि आधा मरिसकेकी हुन्छिन् । बाँकी आधा, त्यो प्रतीक्षामा बाँचिरहन्छ ।

‘छोरो कहिले फर्किर आउँछ भन्ने आशाले हरेक पल बाँचेको छु,’ यतिभन्दै गर्दा उनी मुर्छा परिन् । यो आशा नै उनको जीवनको जिउने आधार बनेको छ ।

कहाँ हराए होलान् त समीर ?

समीरलाई अन्तिम पटक भाटभटेनी सुपरमार्केट भएको ठाँउ नजिकै देखिएको थियो । समीरकी आमा र श्रीमतीले धेरै सोधखोज गरे । सबै अस्पताल चाहारे । प्रहरी पनि गुहारे । उनीहरूले बाँकी नराखी सबै प्रयास गरे । तर उनको अतोपत्तो लाग्न सकेन । समीर भाटभटेनीको आगजनीमा परे कि भन्ने शंका परिवारले नगरेको होइन । तर बेलुकी ८ बजेसम्म बाहिर भएको व्यक्ति उक्त घटनामा पर्न सक्ने सम्भावना कम भएको प्रहरीले बतायो ।

त्यसपछि उनीहरूले बेपत्ताको निवेदन दर्ता गराएका छन् । तर अहिलेसम्म केही सूचना फेला परेको छैन ।

‘हामीले सबै ठाँउ खोज्यौं । तर कतै केही खबर पाइएन । उहाँ कहाँ हुनुहुन्छ ? के भयो, केही थाहा छैन’ पूजाको आँखाबाट आँसु खसिरहेका छन् ।

सानो छोरो मुस्कुराउँदा पूजा त्यही मुस्कानमा समीरको छाया खोज्छिन् । त्यही अबोध अनुहारलाई हेरेर मनलाई भुलाउने कोसिस गर्छिन् ।

समीर रातभरि सपनामा आएर सताउँछन् । सपनामा समीर फर्किन्छन्, घर उज्यालो भएको देख्छिन् । तर बिहान आँखा खुल्दा एक्लो हुन्छिन्, नितान्त: एक्लो ।
सरकारसँग समीरको परिवार एउटै माग छ – भरपर्दो जानकारी ।

सरकारले कुनै जानकारी दिएको भए मन अलि शान्त हुन्थ्यो भन्ने अपेक्षा पूजाको छ ।

पूजाको हृदयमा एउटा मात्र आशा जीवित छ– श्रीमान् जहाँ भए पनि सुकशल फर्किउन् । छोराले बाबाको अनुहार देख्न पाओस् । समीरको फोटो हेर्दा पूजाको मन भक्कानिन्छ ।

सानो घरभित्र समीरका सामानहरू मौन साक्षी बनेर बसेका छन्– कपडा, र सँगै देखिएका अधुरा सपनाहरू । यही आशाले पूजालाई हरेक दिन उठ्न बल दिन्छ ।

पूजाले छोरालाई काखमा अझ बलियोसँग समात्छिन् । समीरको फोटो हेर्छिन् र बिस्तारै भन्छिन्, ‘बाबा आउनुहुनेछ, छोरा ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?