५ फागुन, प्युठान । नेपालका राजनीतिक आन्दोलन र वामपन्थी वैचारिक बहसमा प्रभाव पार्ने धेरै नेताहरू जन्माएको जिल्ला हो प्युठान । कम्युनिस्ट आन्दोलनको प्रारम्भिक चरणमै २०१० सालमा पार्टी स्थापना गरेका मोहनविक्रम सिंहदेखि मोहन वैद्य, वामदेव गौतम, लीलामणि पोखरेल, मणि थापा र सूर्य थापासम्मका अनुहार यही भूगोलबाट राष्ट्रिय राजनीतिमा छाएका छन् ।
तर विडम्बना के छ भने, नेताहरू स्थायी भए पनि प्युठानको जनमत स्थायी छैन । यहाँ मतदाताले निर्वाचनैपिच्छे दल र उम्मेदवार बदल्ने गरेका छन् । प्युठानको चुनावी इतिहास स्थायित्वभन्दा परिवर्तनले चिनिन्छ ।
प्युठानमा झण्डै साढे तीन दशक अवधिमा कांग्रेसले एकपटक, माओवादीले एकपटक, एमालेले दुईपटक र राजमोले दुईभन्दा बढी पटक प्रतिनिधित्व गरेको देखिन्छ । एउटै व्यक्ति दोहोरिएर निर्वाचित हुने सूचीमा कांग्रेसका शिवराज सुवेदी र राजमोका नवराज सुवेदी मात्र छन् ।
२०१५ देखि २०७९ : जनमतको बदलिँदो दिशा
२०१५ सालको आमनिर्वाचनमा तीनै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो । त्यसवेला प्युठान उत्तरपश्चिमबाट खडानन्द उपाध्याय, प्युठान मध्यपूर्वमा अनिरुद्र शर्मा र पूर्व दक्षिणबाट पुरुषोत्तम शर्मा विजयी भएका थिए ।
त्यसयता २०४६ पछि बहुदलीय व्यवस्था पुन:स्थापित भएदेखि हालसम्म भएका सात संसदीय निर्वाचनमध्ये कुनै पनि दलले लगातार जनमत जोगाउन सकेका छैनन् । यद्यपि वामपन्थी शक्तिको प्रभाव भने प्युठानमा निरन्तर देखिन्छ ।
२०४८ सालमा तत्कालीन मसाल नेतृत्वले संविधानसभाको माग गर्दै निर्वाचन बहिस्कार गरेको मौकामा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका शिवराज सुवेदी र क्षेत्र नम्बर २ बाट मुक्तिप्रसाद शर्माले सहज जित निकालेका थिए ।
तर २०५१ को मध्यावधिमा समीकरण फेरियो । २०५१ को मध्यावधि निर्वाचनमा क्षेत्र नम्बर १ मा कांग्रेसका शिवराज सुवेदी पुन: निर्वाचित भए पनि क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमोर्चाका नवराज सुवेदी विजयी भए ।
२०५६ मा नेकपा एमालेले सघाउँदा राष्ट्रिय जनमोर्चाले दुवै क्षेत्रमा विजयको झन्डा फहरायो ।
आम चुनावमा राष्ट्रिय जनमोर्चाका प्युठान क्षेत्र नम्बर १ मा हरि आचार्यले नेपाली कांग्रेसका दिवाकर गौतमलाई पराजित गर्दै विजयी भए भने राजमोका नवराज सुवेदीले नेपाली कांग्रेसका मुक्तिप्रसाद शर्मालाई पराजित गर्दै क्षेत्र नम्बर २ मा जित निकाले ।
८ वर्षपछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले दुवै क्षेत्र कब्जा गर्दै शक्ति सन्तुलन बदलिदियो । सशस्त्र विद्रोहको रापतापबाट आएका तत्कालीन नेकपा माओवादीका नारायण अधिकारी र दिपक केसीले जित हासिल गरेका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने नेकपा एमाले उदायो र दुवै क्षेत्र जित्यो । प्युठान क्षेत्र नम्बर १ मा नेकपा एमालेका बामदेव गौतम र क्षेत्र नम्बर २ मा एमालेकै हिरा बहादुर केसी विजयी भए ।
२०७२ को संविधान जारी भएपछि एक मात्र निर्वाचन क्षेत्र बनेको प्युठानमा २०७४ मा वाम गठबन्धनको समर्थनमा राष्ट्रिय जनमोर्चा (राजमो) की दुर्गा पौडेल विजयी भइन् । नेपाली कांग्रेसका उम्मेद्वार प्रा.डा.गोविन्दराज पोख्रेल पराजित भए ।
२०७९ को निर्वाचनमा भने जनमतको दिशा बदलियो । नेकपा एमालेका सूर्यबहादुर थापाले पाँच दलीय गठबन्धनकी राजमो उम्मेद्वार पौडेललाई पराजित गरे ।
किन असन्तुष्ट देखिन्छन् मतदाता ?
प्युठानको चुनावी प्रवृत्ति हेर्दा एउटा प्रश्न उठ्छ, किन यहाँ जनमत स्थिर हुँदैन ?
नागरिक सरोकार समाजका अध्यक्ष सुमन सुवेदी भन्छन्, ‘निर्वाचित प्रतिनिधिबाट अपेक्षित पूरा नहुँदा मतदाता विकल्पतिर मोडिन्छन् । विकासका काममा पनि अपेक्षाकृत प्रगति भएको छैन ।’
दशकौंअघि अध्ययन गरिएको लुंग्री–माडी सिंचाइ आयोजना अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । २८१ मेगावाट क्षमताको नौमुरे बहुउद्देश्यीय परियोजना पनि योजनामै अल्झिएको छ । चाल्नेटार विमानस्थल चर्चामा मात्र सीमित छ ।
नेतृत्व उत्पादनमा अगाडि देखिए पनि आधारभूत पूर्वाधार विकासमा सुस्त गति देखिँदा मतदाताले ‘परीक्षण र प्रतिस्थापन’को नीति अपनाएको देखिन्छ ।

स्वर्गद्वारी बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका उपप्राध्यापक गोविन्द पोख्रेलले अहिलेसम्म प्युठानबाट जितेका नेता सत्तामुखी भएकाले जनताले विकल्प खोज्ने गरेको बताउँछन् । ‘नेताहरुमा आफूलाई चोखो देखाउने र अरुलाई दोष दिने प्रवृत्ति छ,’ उनी भन्छन्, ‘राजनीतिक नेतृत्वले काम गर्न चाहँदाचाहँदै पनि प्रणाली सुधार, सेवा वितरण र विकासमा असफल हुँदा आम जनतामा निराशा छायो । त्यसैले उनीहरू सधैं सक्षम व्यक्तिको आशामा मत फेरिरहेका छन् । परिवर्तनको चाहनाले जनताले नेता बदलिरहेका छन् ।’
यसपटकको प्रतिस्पर्धा : गठबन्धनविनाको चुनाव
२०७० पछिका अधिकांश निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका दलहरू यसपटक भने एक्लाएक्लै मैदानमा छन् ।
एमालेले पुन: सूर्य थापालाई नै अघि सारेको छ । कांग्रेसले डा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएको छ । माओवादीबाट कृष्णध्वज खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशान्त वैदिक मैदानमा छन् । राजमोका तिलकबहादुर जिसी पनि प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार प्युठानमा १४ दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
गठबन्धनविनाको प्रतिस्पर्धाले दलको वास्तविक संगठन शक्ति र उम्मेदवारको व्यक्तिगत प्रभाव मापन गर्ने अवसर दिएको छ ।
युवा मत र ग्रामीण मनोविज्ञान
२ नगरपालिका र ७ गाउँपालिकासहित १ लाख ६५ हजार ४१० मतदाता रहेको प्युठान जिल्लामा ग्रामीण भूगोल र प्राथमिकता फरक–फरक छन् ।
२०६४ र २०७० मा शहरमा अध्ययन वा रोजगारी गरेर फर्किएका युवाले चुनावी परिणाममा प्रभाव पारेको उदाहरण अझै चर्चामा छ । यसपटक पनि बाहिर रहेका युवाको उपस्थिति निर्णायक बन्न सक्ने आँकलन गरिएको छ ।
स्थानीय राजनीतिक वृत्तमा हुने विश्लेषणअनुसार प्युठानका मतदाता अहिले ‘केन्द्रीय पहुँच भएको’ नेता खोजिरहेका छन्, जो योजना ल्याउन, बजेट सुनिश्चित गर्न र कार्यान्वयन अघि बढाउन सकुन् ।
२०६४ सालमा प्युठान निर्वाचन क्षेत्र नम्बरर २ बाट चुनाब जितेर संविधान सभा सदस्य भएका ८५ वर्षीय दिपक केसी नेताहरु जनतामुखी नहुँदा मतदाता निराश बनेको बताउँछन् । उनी भन्छन्, ‘नेताहरुले आफू र आफ्नालाई मात्र हेरे । देश, जिल्ला र जनताप्रति उत्तरदायी भएनन् । त्यसैको वितृष्णाले प्युठानी जनताको मन र मत बदलिएको छ ।’
प्रतिक्रिया 4