News Summary
Generated by OK AI. Editorially reviewed.- नेप्से अध्यक्ष हेमन्त बस्यालले करिब १४ वर्ष पुरानो निर्णयलाई आधार बनाएर बुक बिल्डिङ विधिमार्फत निर्धारण मूल्यलाई मान्यता नदिने निर्णय गरे।
- रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा बुक बिल्डिङले निर्धारण गरेको ९ सय १२ रुपैयाँ मूल्यलाई नेप्सेले अंकित मूल्य ८ सय २० मा ओपनिङ रेन्ज तोकेको छ।
- नेप्सेको निर्णयले करिब एक दर्जन कम्पनीको बुक बिल्डिङ प्रक्रिया प्रभावित हुने र २१ हजार लगानीकर्ताको सम्पत्तिमा अवमूल्यन हुने जोखिम देखिएको छ।
५ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को पछिल्लो निर्णयका कारण बुक बिल्डिङ प्रक्रिया नै निरुत्साहित हुने देखिएको छ ।
नेप्से अध्यक्ष हेमन्त बस्यालले करिब १४ वर्ष पुरानो निर्णयका आधारमा बुक बिल्डिङ विधिमार्फत निर्धारण भएको मूल्यलाई मान्यता नदिने निर्णय गरेपछि उक्त विधि नै संकटमा परेको हो ।
बुक बिल्डिङ विधि भनेको कुनै पनि कम्पनीले सेयर प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य निर्धारण गर्ने विधि हो ।
सेयर निष्कासन गर्न मूल्य निर्धारण गर्न चाहने कम्पनीले स्वचालित विद्युतीय प्रणाली मार्फत बुक बिल्डिङ सम्बन्धी कार्य सञ्चालन गर्ने सम्बन्धमा नेप्सेसँग सम्झौता नै गरेको हन्छ ।
बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार धितोपत्र बजारले स्वचालित विद्युतीय बोल कबोल (बिडिङ) प्रणाली सञ्चालन गर्छ । धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्तालाई स्वचालित विद्युतीय बोल कबोल प्रणालीको युजर आईडी र पासवर्ड दिन्छ ।
योग्य संस्थागत लगानीकर्ताको बोल आवेदन खोल्ने तथा मूल्य निर्धारण गर्ने काम पनि नेप्सेमै हुन्छ । बुक बिल्डिङ विधिमार्फत मुल्य निर्धारण गर्दा नेप्सेका उच्च अधिकारीको हस्ताक्षर हुने नेप्सेका एक सञ्चालकले बताए ।
हालसम्म बुक बिल्डिङ विधिमार्फत मूल्य निर्धारण गरिएको सर्वसाधारण सेयर निष्कासन गर्ने कम्पनी दुइटा मात्र छन् । पहिलो सर्वोत्तम सिमेन्ट हो भने दोस्रो रिलायन्स स्पिनिङ मिल्स ।
नेप्सेले सर्वोत्तमको ओपनिङ रेन्ज तोक्दा नेटवर्थको तीन गुणासम्म जान सक्ने विधि लगाएको ती सञ्चालकको भनाइ छ । तर, रिलायन्सका हकमा भने अंकित मूल्यको ३ गुणासम्म तोक्दा नेप्सेको रोहबरमा बुक बिल्डिङ विधिमार्फत निर्धारण भएको मूल्यलाई नै मान्यता नदिने गरी निर्णय गर्नु गलत भएको ती सञ्चालकको भनाइ छ ।
बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गरेका दुवै कम्पनी विवादित हुनुपरेको छ । रिलायन्सका सन्दर्भमा त झनै सेयर मूल्यकै विषयमा त्यो पनि नेप्सेका अध्यक्षले कार्यकारी भूमिका निर्वाह गर्दा समस्या आएको ती सञ्चालकको भनाइ छ ।
‘बुक बिल्डिङ मार्फत योग्य संस्थागत लगानीकर्तालाई रिलायन्सको प्रतिकित्ता सेयर मूल्य ९ सय १२ रुपैयाँ निर्धारण भएको थियो,’ ती सञ्चालकले भने, ‘अहिले लिस्टिङ गर्ने बेलामा अंकित मूल्यको आधारमा ओपनिङ दिएर प्रचलनमा रहेको अभ्यास विपरीत जग हँसाउने गरी ओपनिङ रेन्ज दिइयो ।’
धितोपत्र कारोबार सञ्चालन विनियमावलीको विनियम १२ को उपविनियम ५ मा धितोपत्र सूचीकरणपछि हुने पहिलो कारोबारका लागि आदेशको प्रविष्टि गर्दा उल्लेख हुने मूल्यको सीमा नेप्सेले समय–समयमा तोक्न सक्ने उल्लेख छ ।
सोही व्यवस्थाका आधारमा २०६८ सालमा फेस भ्यालुको ३ गुणा र नेटवर्थको ३ गुणा भन्ने निर्णय भएको उनले बताए । नेप्से व्यवस्थापनले उक्त विषयमा नेटवर्थ अभ्यास गर्दै आएका हुनाले त्यस विषयमा विगतमा फर्केर भन्दा पनि नयाँ निर्णय गरेर समाधान निकाल्न रिलायन्सको विषय सञ्चालक समिति प्रवेश भएको उनले जानकारी दिए ।
नेप्से व्यवस्थापनले सञ्चालक समितिमा पेस गर्दा अध्यक्ष बस्यालले रिलायन्सको पछि नेप्सेका कर्मचारी किन लागेका छन् भन्दै फिर्ता गरेका थिए ।
‘नेप्से अध्यक्षका कारण रिलायन्सको सूचीकरण विनियममा तोकिएको एक महिना अवधिमा हुन सकेन,’ ती सञ्चालकले भने, ‘पुरानो नियममा टेकेको बनाएर रिलयन्सका लगानीकर्तालाई असर पुर्याउने काम भयो ।’
हाल करिब एक दर्जन कम्पनीले बुक बिल्डिङ प्रक्रिया मार्फत मूल्य निर्धारण गरी आईपीओमा जाने भन्दै नेप्सेमा आवेदन दिएका छन् । नेप्सेको यो निर्णयले ती कम्पनीलाई समेत प्रत्यक्ष प्रभाव पर्ने ती सञ्चालकको भनाइ छ ।
रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर मूल्य संस्थागत योग्य लगानीकर्तालाई ९ सय १२ रुपैयाँ कायम भएको थियो । सोही मूल्यमा १० प्रतिशतले घटाइ सर्वसाधारणका लागि ८ सय २० रुपैयाँमा आईपीओ जारी गरेको थियो ।
कम्पनीको प्रतिकित्ता सेयर मूल्य ८ सय २० रुपैयाँ लगानी गरेका सेयरधनीको सम्पत्तिको अवमूल्यन गर्दै नेप्से अध्यक्षले अंकित मूल्यमा ओपनिङ रेन्ज तोकेर बुक बिल्डिङ विधिलाई नै शंकाको घेरामा पारेका हुन् ।
नेप्सेको यस्तो निर्णयले आगामी दिनमा बुक बिल्डिङ विधिमार्फत मूल्य निर्धारणमा आईपीओ जारी गर्न चाहने कम्पनीलाई समेत निरुत्साहित गरेको एक लगानीकर्ताले बताए ।
‘नेप्से अध्यक्षका कारण २१ हजार लगानीकर्ताका सम्पत्तिको अवमूल्यन भएको छ,’ ती लगानीकर्ताले भने, ‘बजार सञ्चालकले नै मूल्यमा चलखेल गर्छ भने हामीले बजारलाई कसरी विश्वास गर्न सकिन्छ ?’
नेप्सेले करिब १४ वर्ष पुरानो निर्णयलाई आधार बनाइ रिलायन्सको ओपनिङ रेन्ज ताकिएको विषयमा नेपाल धितोपत्र बोर्डले नेप्सेसँग स्पष्टीकरण पनि मागेको छ ।
‘के कति कारणले ओपनिङ रेन्जको चलिआएको अभ्यास विपरीत रिलायन्सको सूचीकरण गरेको भनेर स्पष्टीकरण माग गरेका हौं,’ नेप्सेले धितोपत्र बजार अघि बढाउने भन्दा पनि विगतमा फर्काउने गरी निर्णय गरेको बताउँदै धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने, ‘बुक बिल्डिङमा फेरि नेप्सेले नै नेटवर्थका आधारमा मूल्य निर्धारण गरेको छ ।’
नेप्सेका यस्ता निर्णयले बुक बिल्डिङ प्रक्रियालाई नै अधिनियम बनाएको ती अधिकारीले बताए । यसलाई धितोपत्र बोर्डले नेप्से नेतृत्वको कमजोरीका रूपमा बुझेको ती अधिकारी बताउँछन् ।
नेप्से अध्यक्षको अस्वाभाविक सक्रियताका कारण पनि रिलायन्सको ओपनिङ रेन्जमा प्रतिशोध राखेर नेप्सेले निर्णय गरेका शंका लागेपछि बोर्डले स्पष्टीकरण सोधेको उनको भनाइ छ ।
कम्पनीको नेटवर्थ सम्बन्धी विवादलाई अध्यक्ष बस्यालले निणर्य गर्नुपर्नेमा व्यवसथापनलाई देखाउँदै आफू उम्कने गरेका थिए । नेप्से व्यवस्थापनले दुविधा देखेपछि सञ्चालक समितिमा लैजाँदा अध्यक्ष बस्यालले नै ‘साइड’ लगाउँदै एक महिना झुलाएका थिए ।
रिलायन्स स्पिनिङ मिल्सले नेप्सेमा २९ पुसमा सूचीकरण निवेदन दिएको थियो । कम्पनीको प्रतिकित्ता ३ सयमा सोमबारदेखि कारोबार भएको छ ।
प्रतिक्रिया 4