+
+
Shares

बाटोबिनै बनिरहेको पुल : सरकार–ठेकेदार लापरबाहीले दशकसम्म अधुरै

बगरमा ठिङ्ग उभिइरहेको यो पुलको अर्को भागतिर सडक नै छैन । अचेल मान्छेहरू बडो चासोका साथ यही पुलको फोटो–भिडियो खिचिरहेका भेटिन्छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ फागुन ६ गते ९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा–१३ काहुँखोलामा निर्माणाधीन विजयपुर खोलाको पुल दशकौंदेखि अलपत्र परेको छ । यससँग सडक जोडिएको छैन।
  • २०७३ सालमा ठेक्का सम्झौता भए पनि ठेकेदारले काम नपठाउँदा पुल निर्माणमा ढिलाइ भएको छ।
  • पुलको ६० प्रतिशत भौतिक प्रगति भएको छ र नयाँ ठेक्का सम्झौता भइसकेको छ।

६ फागुन, पोखरा । पोखरा–१३ काहुँखोला बजार कटेर वडा नम्बर २८ को सुर्केमैदान जाने बाटो पछ्याउँदै गएपछि आइपुग्छ, विजयपुर खोला । विजयपुर खोलाले बर्सेनि बाटो फेरिरहन्छ र बनाएको छ फलाकिलो बगर । फागुन २१ गते हुने चुनावको अभियानमा यही बाटो भएर नेता–कार्यकर्ता ओहोर–दोहोर गरिरहेका छन् ।

काहुँखोलातिरबाट सुर्केमैदानतिर लाग्दा काफलघारी फेदीमा निर्माणाधीन एउटा पुल देखिन्छ । जसको वारिपट्टि सडक र खेतभन्दा अग्लो उचाइमा पुलको एउटा भाग देखिन्छ । पारिपट्टि बाँझो खेतबारी देखिन्छ । खेतबारीपट्टि देखिएको जमिनसम्म पुलको अर्को भागले छोएको छैन । त्यसको बीचमा पनि विजयपुर खोलाले कटान गरेको बगर नै देखिन्छ ।

सडकबिना बगरमा ठिङ्ग उभिइरहेको यो पुलको अर्को भागतिर सडक नै छैन । अचेल मान्छेहरू बडो चासोका साथ यही पुलको फोटो–भिडियो खिचिरहेका भेटिन्छन् । सडकको ट्र्याकबिनै बगरमा अलपत्र जस्तो देखिएको यो पुलको विषयमा अनेक चर्चा र अनुमान गरिएका छन् ।

पुल निर्माणाधीनस्थल पुग्दा सोमबार पनि युवाहरूले पुलको फोटो–भिडियो खिचिरहेका थिए । सडकबिनै कसरी यो पुल बन्यो र यसको वास्तविकता के रहेछ, त्यसको हामीले खोजी गरेका छौं ।

पोखराबाट काहुँखोला हुँदै सुर्केमैदान, कालिका, लमजुङ, मनाङसम्म पुग्नका लागि पैदल मार्ग थियो । पछि त्यही पैदलमार्ग हुँदै सडक ट्र्याक खुल्न थाल्यो । अहिले वडा नम्बर १३ तिरबाट पनि खोलासम्मै पिच सडक पुगिसकेको छ भने वडा नम्बर २८ तिर पनि सडक पक्की भइसकेको छ ।

विजयपुर खोलाबाटै गाडी ओहोर–दोहोर गर्नुपर्ने बाध्यता छ र खोलामा निर्माणाधीन अलपत्र परेको पुलको कथा भने ठिक एक दशक अगाडिदेखि सुरु हुने रहेछ । सडकको ट्र्याक खुलेपछि सुरुमा स्थानीयले झोलुङ्गे पुल नै भए पनि बनाइदिन माग गरेका थिए । तर पछि पक्की पुलकै लागि सरकारी अड्डा धाउनेदेखि नेता, सांसदसँग हार गुहार गरे ।

आर्थिक वर्ष २०७२/७३ को बजेटमा विजयपुर खोला पुल निर्माणका लागि बजेट विनियोजन भएको थियो । पुल निर्माणको ठेक्का आह्वान भएपछि सिरुवा कन्स्ट्रक्सनले २ वर्ष भित्र सक्ने गरी आर्थिक वर्ष २०७३ असार ३० गते पहिलो पटक सम्झौता भएको हो ।

गणेश लामासमेत सञ्चालक रहेको सिरुवा कन्स्ट्रक्सनले ठेक्का त पायो तर काम बेलैमा सुरु नै भएन भने सुरु भइसकेपछि पनि खाल्डो खनेर छाड्दा पौडी खेल्न गएका एक युवाले ज्यानसमेत गुमाए ।

‘२०७३ सालमा सम्झौता भएपछि पुलका लागि भनेर खाल्डो खनियो, त्यही खाल्डोमा परेर पौडी खेल्न गएका एक युुवाले फागुनतिर ज्यानै गुमाए,’ त्यही पुल भएर जाने भनिएको सडक उपभोक्ता समितिका अध्यक्ष दुर्गा भण्डारीले भने, ‘पुल निर्माण पूरा होला भन्दाभन्दै अनेक समस्या र लापरबाहीले एक दशक समय बितिसक्यो ।’

६ करोड ३० लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने भनिएको पुल बेलैमा ठेकेदार कम्पनीले थालनी नै गरेन भने सडक डिभिजन कार्यालयले पनि पुलकै डिजाइन परिवर्तन गर्‍यो । डिजाइन फेरिएको पुलको इस्टिमेट पनि परिवर्तन हुन पुग्यो भने विभिन्न बहानामा ठेकेदारले काम नै अगाडि बढाएन ।

विस्तृत सम्भावना अध्ययन, भौगोलिक तथा खोलाको प्रकृतिको विश्लेषण नगरी पुल निर्माणमा सरकार र ठेकेदारको लापरबाहीले एक दशकसम्म पनि पुल निर्माण हुन नसकेको स्थानीयको भनाइ छ ।

‘सरकारले डिजाइन नै फेर्‍यो, ठेकेदारले बेलैमा काम गरिदिएन । मान्छेले दु:ख र सास्ती खेपिरहे । अहिले पनि नानीबाबुहरूलाई वारपार गर्न समस्या छ,’ स्थानीय विभा विकले भनिन्, ‘अहिले त यो पुल भाइरल नै बनेको छ, तर यो एकदमै आवश्यक परेको पुल हो ।’

सिरुवा कन्स्ट्रक्सनसँग सरकारको विवाद बढेपछि ठेक्का तोडिएर अहिले अर्को कम्पनीले निर्माणको काम गरिरहेको छ । तर उसले पनि ढुंगाको अभाव भएको भन्दै काममा ढिलासुस्ती देखाइरहेको छ ।

अहिले अलपत्र जस्तो देखिएको त्यही पुलको पूर्वी भागतिर सडक जोडिएको छैन र त्यो जग्गा व्यक्तिको नाममा छ । पुल निर्माण भएपछि उपलब्ध गराउने गरी १० वर्षदेखि स्थानीयले जग्गा उपलब्ध गराउने त भनेका छन् तर अहिलेसम्म पनि नबन्दाको आक्रोस छ ।

विवाद अदालतमा

निर्माण भइसकेको ठाउँबाट अहिले सडक भएको ठाउँसम्म जोड्ने करिब २०० मिटर नयाँ सडक निर्माण गर्नुपर्ने स्थिति छ । विजयपुर खोलाले बर्सेनि कटान समेत गर्दै आइरहेको छ र त्यहीँनेर निर्माणाधीन पुलको लम्बाइसमेत अझै बढ्न सक्ने स्थिति देखिएको छ ।

सडक निर्माण नै नगरी, विस्तृत सम्भावना अध्ययन र खोलाको अवस्थाको विश्लेषण नगरी कसरी पुल निर्माणको प्रक्रिया अगाडि बढ्यो त ? सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अनुज श्रेष्ठ भन्छन्, ‘कास्की हुँदै लमजुङसम्म पुग्ने ऐतिहासिक बाटो यो ठाउँमा रहेछ । योजनाअनुसार २०७३ सालमै ठेक्का लगाएको हो । तर विभिन्न कारणले ठेक्का तोडियो, अब नयाँ कम्पनीले आउँदो असारसम्म सक्छ ।’

सिरुवाले काम नगरेपछि सडक डिभिजन कार्यालय पोखराले ठेक्का तोडेको र भीमज्योति धनथान जेभीले ७ करोड ३४ लाख रुपैयाँमा सम्झौता गरेको हो । सिरुवाबाट ८३ लाख १० रुपैयाँ जमानतबाट जफत गरिएको कार्यालयले जनाएको छ । कार्यालयले ठेक्का तोडेपछि सिरुवा अदालत पुगेको छ र त्यसको फैसला भइसकेको छैन ।

६० प्रतिशत भौतिक प्रगति

२०७९ असोज ७ गते ठेक्का तोडेर सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको थियो । २०८० असार २२ गते नयाँ ठेक्का सम्झौता भएको हो र ८२ को पुस मसान्तसम्म सकिने भनिएको थियो । तर तोकिएको समयमा फेरि पनि निर्माण नसकिएपछि असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

अहिलेसम्म पुलको ५० प्रतिशत वित्तीय प्रगति छ भने भौतिक प्रगति ६० प्रतिशत छ । असार मसान्तसम्ममा काम सकेर हस्तान्तरण गरिने निर्माण कम्पनीका प्रतिनिधि प्रकाश पौडेलले बताए ।

इन्जिनियर पुजन

पुलसँगै करिब साढे २ देखि ३ सय मिटरसम्मको सडक निर्माणको काम पनि ठेकेदारकै भएको इन्जिनियर पुजनले जानकारी दिए । ‘अहिले हेर्दा त्यहाँ सडक नदेखिएको साँचो हो । सडक बनिसकेको छैन र सडक निर्माणको जिम्मा पनि ठेकेदार कम्पनीकै छ, त्यहीअनुसार सम्झौता भएको हो,’ इन्जिनियर पुजनले भने, ‘स्थानीयले जग्गा उपलब्ध गराउने सहमति नै गरेका छन् ।’

खोलाको लम्बाइ घटाएर लागत पनि घटाउन सडकभन्दा केही तल–माथि पुल निर्माण गर्ने प्रचलन नै हुने र विजयपुर खोलामा चाहिँ धेरै फराकिलो बगर भएकाले साँघुरो ठाउँ खोज्दा अहिलेको ठाउँमा बनाइएको उनको भनाइ छ ।

३०/३० मिटरका दुई स्पानको पुल बनाइएकोमा अहिले फेरि खोला कटानका कारण थप स्टिमेट गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ । ‘यो सडक डिभिजन कार्यालयको पनि कमजोरी हो । कहिले के भन्छ, कहिले के भन्छ, ठिक ढंगले परीक्षण गरेर मात्र काम थाल्नुपर्ने थियो,’ एक स्थानीयले आक्रोस पोखे ।

पुलसम्मको सडक निर्माण धेरै वर्षसम्म नहुँदा स्थानीयले विरोधसमेत गरेका थिए । अब पुलबाट वारि–पारिको सडकसँग जोड्ने काम पनि ठेकेदारले नै गर्ने इन्जिनियर पुजनले बताए । यसअघि गोरखामा सडकबिनाकै पुल निर्माण गरिएको विषय देशभर चर्चा र भौतिक पूर्वाधारको दूरावस्थाको उदाहरणको रूपमा प्रस्तुत गरिएको थियो ।

‘स्थानीयसँग लिखित सहमति नै भएको छ, सडक खोल्नका लागि । पुल निर्माण सकेर मात्र त्यहाँ बाटो बनाउने स्थिति छ, त्यहाँ,’ उनले भने, ‘सर्भे गरेर बाटो यहाँबाट खन्ने भन्ने पनि तय भइसकेको छ ।’ खोलाको दायाँ–बायाँ दुवैतिर तटबन्ध गरेर कटान रोकिनेसमेत उनले जानकारी दिए ।

हेर्दा बस्ती र बाटो नभए जस्तो देखिए पनि २०६८ सालदेखि नै पुल बनाउने योजना अगाडि सारिएको वडा नम्बर २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले बताए । ३ करोड ५० लाख रुपैयाँ खर्च गरेर नयाँ पिच बनाइएको समेत उनले जानकारी दिए ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?