+
+
Shares

चुनावी एजेन्डा बन्दै दोहोरो नागरिकता

वंशजको नागरिकता निरन्तरताको माग राखेर एनआरएनएले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्दै आएको छ । एनआरएनएको यो मागलाई चुनावी एजेन्डामा समेटेका दलहरूले यसबारे विस्तृत छलफल भने कानुन बनाउँदा वा संशोधन गर्ने बेला संसद्मै गर्ने बताएका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ फागुन ६ गते २१:०४

६ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले माग गर्दै आएबमोजिम दोहोरो नागरिकताको विषय कतिपय राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा समेटेका छन् ।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संकल्पपत्र ल्याएको छ । जसमा विदेशमा बस्ने नेपालीको सिप र पूँजी प्रयोग गर्ने विषय छ ।

‘विदेशमा रहेका नेपालीको सिप र पूँजी नेपालको महत्वपूर्ण शक्ति हो भन्ने विश्वासमा राप्रपा दृढ छ,’ राप्रपाको संकल्प छ, ‘वैदेशिक तथा अन्य रोजगारीको क्षेत्रमा संलग्न युवाले आर्जन गरेको सिप र पूँजीलाई उद्यमशिलता तथा उद्योगमा रूपान्तरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’

यहीँनेर राप्रपाले दोहोरो नागरिकताको विषय समेटेको हो । जहाँ भनिएको छ, ‘गैरआवासीय नेपाली समुदायले आर्जन गरेको सिप र पूँजीलाई देश विकासमा उपयोग गर्न वंशजको नागरिकताको निरन्तरता कायम गरी ‘एक पटकको नेपाली सधैंको नेपाली’ सुनिश्चित गरिनेछ ।’

विदेशमा रहेका नेपालीहरूको सिप, ज्ञान तथा अनुभवलाई ‘ब्रेन गेन’ का रूपमा प्रयोग गरी राष्ट्रिय प्रगतिमा योगदान दिलाउने उद्देश्यअन्तर्गत दोहोरो नागरिकतालाई स्वीकार गरेको नेताहरू बताउँछन् ।

‘दोहोरो नागरिकतालाई स्वीकार गरेका छौं,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, ‘विदेशमा रहेका नेपालीहरूलाई समेट्ने कोसिस गरेका हौं । उनीहरूले नेपालको नागरिकता कायम हुनुपर्छ भन्ने माग राखिराखेका छन् । त्यसलाई हामीले समेटेका हौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि यो विषयलाई सम्बोधन गरेको छ । रास्वपाले नागरिक करारपत्र ल्याएको छ । जसमा वंशजको नागरिकता निरन्तरताको मागलाई समेटिएको छ ।

‘विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन मताधिकार, वंशजको नागरिकताको निरन्तरता, सार्वभौम डायस्पोरा फन्डको कार्यान्वयन, सुरक्षित लगानी र सम्मानित देश फिर्तीको वातावरण,  मर्यादित वैदेशिक रोजगारी,’ रास्वपाको करारपत्रमा उल्लेख छ ।

तर, रास्वपाका नेताहरूले यो विषयमा विस्तृत व्याख्या भने गरेका छैनन् । यस पटक विषय समेटिएको र दोहोरो नागरिकताको विषय अधिकारका दृष्टिमा कुन हदसम्म जान सकिने भनेर छलफल गर्दै जाने उनीहरूको प्रतिक्रिया छ ।

उज्यालो नेपाल पार्टी (उनेपा)ले त विदेशमा बसोबास गर्ने नेपाली र तिनका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्थाका लागि आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने प्रतिवद्धता नै जनाएको छ ।

उनेपाको घोषणापत्रमा भनिएको छ, ‘गैरआवासीय नेपाली वंशजको आधारमा नागरिकताको निरन्तरता एक पटकको नेपाली सधैंको नेपाली भन्ने अवधारणालाई आत्मसात गरी विदेशमा बसोबास गर्ने नेपाली र तिनका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्थाका लागि आवश्यक कानुन निर्माण तथा संशोधन गरिनेछ ।’

खोजेको के हो ?

उज्यालोको घोषणापत्र लेखन समितिका संयोजक केदार खड्का आफूहरूले नयाँ विषय नल्याएको बताउँछन् ।

उनी भन्छन्, ‘अरू देशले अभ्यास गरिसकेका छन् । हामीले नयाँ कुरा गरेका होइनौं । नेपाली नागरिकको हकमा यदि दोहोरो पर्न जान्छ भने त्यसलाई स्वीकार गरेर जाने गरी घोषणापत्रमा लेखेका हौं ।’

यो विषय घोषणापत्रमा समेटिनुको कारणमा उनी नेपालको भाषा, संस्कृति र सभ्यताको निरन्तरता रहेको बताउँछन् । उनी भन्छन्, ‘आफ्नो जिनको खोजी गर्ने मान्छेको स्वभाव हुने रहेछ । संसारको जुनसुकै कुनामा पुगे पनि नेपाली नागरिकताको निरन्तरताको अर्थ भाषा, सभ्यता, संस्कृति र विकाससँग जोडिएको छ । यसकारण उनीहरूका लागि राज्यको नीति सहयोगी हुनुपर्छ ।’

उनेपा निर्वाचन परिचालन समितिका सहसंयोजकसमेत रहेका खड्का यो विषयमा ऐन बनाउँदा अझ विस्तृत छलफल हुने बताउँछन् ।

‘आज बाबुआमा विदेश गएका कारण उतै सन्तान जन्मिए । उनीहरूको दोष कहाँ जन्मिएँ भन्नेसँग के रहन्छ र ? यसकारण उनीहरू फर्किएर आउन चाहन्छन् र नेपालमै बस्न चाहन्छन् भने वंशजको नागरिकताको निरन्तरता हुनुपर्छ ।’

‘बाबु वा आमाले विदेशको नागरिकता लिइसकेको हकमा के गर्ने भनेर कानुन बनाउँदा थप छलफल हुनेछ । त्यसबेला थप गहिराइसम्म पुगेर छलफल हुनेछ,’ खड्का भन्छन्, ‘अहिले विदेशमा रहेका बाबुआमाका सन्तान नेपालमै बस्छु भनेर आउँछन् भने कता जन्मिएको हो भनेर राज्यले नागरिकतामा अवरोध गर्न हुँदैन ।’

यस्तो नीति लिए भाषा, संस्कृति र सभ्यताको निरन्तरता र प्रभावका लागि ठूलो योगदान गर्ने उनेपाको विश्वास छ । खड्का थप्छन्, ‘जनसंख्या घटाउनेभन्दा बढाउने कुरा संसारभर बढ्दो छ । यसलाई पनि हामीले ख्याल गरेका हौं ।’

यस्तो छ विद्यमान प्रावधान

संविधानमा नागरिकताको प्रावधान स्पष्ट छ । संविधानको धारा ११, १२ र १३ अनुसार वंशज र अंगीकृत नागरिकता जारी हुन्छ । जसअनुसार नेपाली नागरिकता त्यागेपछि वा विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत: कायम रहँदैन ।

बरु नेपाली नागरिकता त्यागेर विदेशमा बसोबास गर्दै आएका नेपालीलाई सम्बोधन गर्न संविधानको धारा १४ मा गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने छ ।’

यस संवैधानिक व्यवस्थाअनुसार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नसक्ने व्यवस्था विद्यमान छ ।

यससम्बन्धी संघीय ऐन बनेर कार्यान्वयनमा आएसँगै गैरआवासीय नेपाली नागरिकता जारी हुन थालिसकेको छ ।

गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नेसम्बन्धी नेपाल नागरिकता ऐन संशोधन विधेयक २०८० साल जेठ १७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । त्यस आधारमा २०८० साल असोज ३० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुवात गरेका थिए ।

नागरिकतासम्बन्धी ऐनअनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार हुनेछ । गैरआवासीय नेपालीहरूले नेपाली राहदानी लिने, सरकारी सेवामा प्रवेश गर्ने, नेपालको जुनसकै तहको जनप्रतिनिधिको पदमा उम्मेदवार हुन र मतदान गर्ने अधिकार पाउँदैनन् ।

नागरिकता ऐनले नेपाली नागरिकता त्यागेर विदेशी मुलुकको नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई पनि गैरआवासीय नेपाली नागरिकतामै समेटेको छ ।

संशोधित ऐनको दफा ४ अनुसार, गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले पाँच किसिमका कागजात देखाउनुपर्छ ।

(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण,

(ख) सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,

(ग) विदेशी मुलुकको नागरिकता भएको प्रमाण,

(घ) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण,

(ङ) नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र ।

यस व्यवस्थाअनुसार विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरूका नाति–नातिनासम्मले गैरआवासीय नेपाली नागरिकता पाउँछन् ।

नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएको भए त्यस्ता व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

यी व्यवस्थामा संशोधन गरेर वंशजकै नागरिकताको निरन्तरता दिने विषय दलहरूको चुनावी घोषणापत्रमा आएको छ ।

वंशजको नागरिकताको निरन्तरता माग राखेर एनआरएनएले पनि ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्दै आएको छ । जसअन्तर्गत विदेशको नागरिकता लिए पनि नेपाली रगत र पुर्ख्यौली पहिचान कहिल्यै नमर्ने तर्क गर्दै उनीहरूले नेपाली नागरिकतालाई सदाका लागि निरन्तरता दिनुपर्ने माग राख्दै आएका हुन् ।

एनआरएनएको यो मागलाई चुनावी एजेन्डामा समेटेका दलहरूले यसबारे विस्तृत छलफल भने कानुन बनाउँदा वा संशोधन गर्ने बेला संसद्मै गर्ने बताएका छन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?