+
+
Shares
स्थलगत :

तिरहुतियागाछीमा गाछीको तरंग : ‘कांग्रेसको तागत अब थाहा हुन्छ’

मधेश प्रदेशको सदरमुकाम जनकपुरबाट सुरु भएको चुनावी सभामा सहभागी भएका कांग्रेस नेता तथा कार्यकर्ताहरू नेतृत्व परिवर्तन र मधेशबाट सुरु भएको चुनावी अभियानबारे के सोच्छन् ?

दुर्गा खनाल/कृष्ण ज्ञवाली/शैलेन्द्र महतो दुर्गा खनाल/कृष्ण ज्ञवाली/शैलेन्द्र महतो
२०८२ फागुन ६ गते २२:१५

६ फागुन, तिरहुतियागाछी मैदान (जनकपुर) । राजकुमार श्रेष्ठ (४९ वर्ष) र दिपेश दाहाल (३२ वर्ष) मकवानपुरगढीबाट हान्निएर जनकपुरको कांग्रेस आमसभा हेर्न जानुको कारण हो, नयाँ नेतृत्वले छरेको उत्साह ।

राजकुमारलाई आफ्नै उमेरका थापा नेतृत्वमा पुगेपछि अब कांग्रेस फेरिन्छ भन्ने लागेको छ । आफू र गगन थापा एउटै सालमा जन्मेकाले पनि उनी पार्टी सभापतिप्रति भावनात्मक रूपमा नजिक हुन खोज्दा रहेछन् ।

मकवानपुरगढी गाउँपालिका–५ का वडाध्यक्ष दिपेश दाहाललाई पनि स्पष्ट राजनीतिक दृष्टिकोण भएको नेतृत्व आएकाले आशा जागेको छ ।

बुधबार जनकपुरको तिरहुतियागाछी मैदानमा आयोजित आमसभामा भेटिएका राजकुमारलाई लागेको छ । कार्यकर्ता तहका देखिएको परिवर्तनको आकांक्षालाई नयाँ नेतृत्वले सम्बोधन गर्न सक्ने भन्दै थपे, ‘अब कांग्रेस नयाँ उत्साहका साथ निर्वाचनमा होमिन्छ ।’

राजकुमार श्रेष्ठ र दिपेश दाहाल ।

कांग्रेसको नेतृत्व नै चुनाव लड्न किन मधेश झर्‍यो, अनि चुनावी सभासमेत किन मधेशबाटै सुरु भयो ? कतिपयलाई यो खुल्दुलीको विषय हो भने कतिपयले यसमा रणनीति देखेका रहेछन् ।

वडाध्यक्ष दाहाललाई नेतृत्वको स्पष्ट दृष्टिकोण मात्रै होइन, कार्यकर्ता तहमा चक्मा दिने रणनीतिक कदम पनि मन परेको रहेछ । उनको बुझाइमा, मधेशमा रहेको ठूलो मतदाताको संख्यालाई आकर्षित गर्न कांग्रेसले मधेशकेन्द्रित अभियान सुरु गरेको छ । त्यसैले जनकपुरबाट नै प्रतिज्ञापत्रको नाममा घोषणापत्र सार्वजनिक गर्‍यो ।

प्रत्यक्षमा ३२ सिट र समानुपातिकतर्फ करिब साढे ३६ लाख मत रहेको मधेशलाई पार्टीले चुनावी रणनीतिको केन्द्र बनाएकोमा कार्यकर्ताहरू दंग देखिन्थे । सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएर मधेशमा रहेका कांग्रेसहरूलाई उत्साह भरेको भन्दै वडाध्यक्ष दाहालले सांकेतिक रूपमा थपे, ‘तपाईंहरू बुझ्नुस् न, रुखको जरा मधेशमा छ ।’

बुधबारको आमसभामा कांग्रेसले धनुषा र वरपरका जिल्लाहरूबाट कार्यकर्ता एवं शुभचिन्तकहरूलाई मैदानमा उतारेको थियो । कतिपय कार्यकर्ताहरू त्यो भन्दा टाढाबाट पनि आमसभा हेर्न आएका थिए ।

सर्लाही हरिपुर्वा–२ का विन्देश्वर राय आफ्ना साथीहरूको साथमा सभामा बसिरहेका थिए । उनलाई अहिले आएर लागेको छ, राजनीतिमा विश्वास ठूलो कुरा रहेछ । उनले बुधबारको आमसभालाई मधेशमा रहेका कांग्रेसीमाझ नेतृत्वले बाँडेको उत्साह भन्न रुचाए । ‘नयाँ नेतृत्वले हामीलाई विश्वास जगाइदिएको छ,’ उनले भने, ‘त्यसैले त कार्यकर्तामाझ पनि उत्साह छर्न सभापतिजी मधेश झर्नुभएको हो ।’

विन्देश्वर राय

पैसा जलेको हल्ला

कांग्रेस आसमभामा रौतहटको चन्द्रपुरबाट कविताकुमारी चौधरी र गीता भारती पनि पुगेका थिए । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहको जनकपुर भेलामा पुगेकी उनी अहिले कांग्रेसको आमसभामा पनि थिए । उनी यो बीचमा पार्टी परिवर्तन गरी फेरि कांग्रेसमा फर्केकी रहिछन् । कुराकानी सुरु हुनासाथ कांग्रेस निवर्तमान नेतृत्व शेरबहादुर देउवा दम्पतीमाझ चौधरीले आक्रोश पोखिन् ।

भएछ के भने, चन्द्रपुर नगरपालिकाका पूर्वमेयर रामचन्द्र चौधरीले अघिल्लो निर्वाचनमा टिकट पाएका रहेनछन् । नेतृत्व तहमा भएको गडबडीका कारण बाबुले टिकट नपाएको निष्कर्ष निकालेकी उनलाई त्यहाँ ‘आर्थिक चलखेल’ पनि भएको आशंका रहेछ ।

कविताकुमारी चौधरी र गीता भारती ।

त्यसपछि कांग्रेस छाडेकी उनलाई नेतृत्व परिवर्तनपछि पार्टीमै फर्किन मन लागेको रहेछ । कुराकानीका क्रममा उनले देउवा दम्पतीमाथि आक्रोश पोखिरहिन् । ‘नेतृत्वको घरमा पैसा जलेको हल्लाले पार्टीमा निकै क्षति पुग्यो,’ उनले भनिन्, ‘त्यो पैसा त गरिब, दु:खीहरूलाई दिएको भए पनि हुन्थ्यो ।’

मधेश प्रदेशको सदरमुकाम जनकपुरबाट सुरु भएको चुनावी सभामा सहभागी भएका कांग्रेस नेता तथा कार्यकर्ता पार्टीमा भएको नेतृत्व परिवर्तनबाट उत्साहित देखिन्छन् ।

उनकै साथी गीता भारतीलाई लागेको छ, अब भने राजनीतिक गुण भएका व्यक्तिहरू पार्टीको नेतृत्वमा पुगे । उनले थपिन्, ‘हिजोको दिनमा हामीलाई नेतृत्वले निराशा बनायो, अब उहाँहरूलाई अभिभावक बनाएर युवाको नेतृत्वमा पार्टी हिँड्नुपर्छ ।’

गाछीको तरंग कति ?

सिरहाका रामविलास पासवानले महोत्तरी औरहीका साथी कमलदेव यादवलाई आमसभामा भेटाए । आपसमा मिल्ने उनीहरूलाई राजनीतिक विचार पनि मिलेपछि के चाहियो ? उनीहरू छेवैमा बसेर गफिइरहेका थिए ।

लाहान–१० का वडासदस्य समेत रहेका पासवानलाई नेतृत्व परिवर्तनपछि पार्टीको क्रियाकलापमा सुधार हुन्छ भन्ने आशा लागेको रहेछ ।

रामविलास पासवान र साथी कमलदेव यादव ।

दलका नेताहरूले कुर्सी ओगटेर बस्दा युवाको आशा विस्फोट भएर ‘जेनजी विद्रोह’ जस्तो घटना भएको बताउने उनले अरू साथीहरूसँग समेत पछिल्लो विशेष महाधिवेशनपछिको अवस्थाबारे छलफल गरेका रहेछन् ।

‘पार्टीमा अब केही उमंग छ, नेतृत्वले केही गर्ला,’ उनले पुराना निर्वाचनहरूको विश्लेषण गर्दै भने, ‘अघिल्ला चुनावहरू बिग्रिएको थियो, अब त गाछी छापले पनि केही तरंग ल्याउला ।’

आमसभामा जेनजी

सात वर्ष मलेसिया बसेर नेपाल फर्केका वृषेश पण्डित (२९ वर्ष) धनुषाको विदेह नगरपालिका–४ का बासिन्दा हुन् । नेपालमा हुँदा राजनीतिबारे पटक्कै थाहा नभएका उनी विदेशमा बस्दा राजनीतिबारे चासो राख्न थाले । उनी केही साताअघिको बालेनको सभामा पनि सहभागी रहेछन् ।

पहिलो पटक भोट हाल्न लागेका उनलाई लागेको छ, ‘अब भने राजनीतिमा केही ‘चेञ्ज’ आउँछ । उनलाई अरू कुरा होइन, नेपालमा विदेशमा पाइने तलबको आधा मात्रै आउने कुनै रोजगारी भए पुग्छ । ‘फ्रि भिसा, फ्रि टिकट त भन्ने मात्रै हो,’ उनले थपे, ‘विदेश जान धेरै पैसा लाग्छ, पैसा मागे भनेर गुनासो गर्ने हो भने जानै दिँदैनन् ।’

वृषेश पण्डित ।

महोत्तरी भंगाहा नगरपालिकाको सिंगियाहीबाट सुरजकुमार सरदार (१८ वर्ष) आफ्ना हजुरबुवालाई लिएर आमसभामा आएका रहेछन् । उनको खानदानी नै कांग्रेस रहेछ । र, गाउँस्तरका क्रियाकलापले उनलाई पनि कांग्रेसको राजनीतिले आकर्षित गरेको रहेछ । घरमा सबै जना कांग्रेस समर्थक रहेको बताउँदै उनले थपे, ‘गाँउका खेलकुद र अरू सामाजिक क्रियाकलापमा सहयोग गर्ने भएकाले कांग्रेसको राजनीतिमा जान मन छ, त्यही भएर आमसभामा आएको हुँ ।’

युवा जस्तै देखिएको कांग्रेस

धनेश्वर महतोलाई लागेको छ, अब कांग्रेस युवा जस्तो देखियो । किनभने, उमेर मात्रै होइन, विचारले पनि नयाँ नेतृत्वले कार्यकर्ताहरूलाई तरंगित बनाएको छ । कतिपय पुराना नेतृत्वले विचार दिन असफल भएको र नयाँ जनभावना कदर नगरेको भन्दै उनी तिनको सम्बोधन गर्न नेतृत्व परिवर्तन अपरिहार्य भनेको देख्छन् ।

हिजोको नेतृत्वका कारण समाज माझ पार्टीको संगठन र शुभचिन्तकहरूको बिस्तार गर्न कठिनाइ भएको बताउने गरेका उनी अब भने पार्टीको नेतृत्व देखाएर पनि युवा आकर्षित गर्नसक्ने ठान्छन् ।

कांग्रेसले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गरेकोले अन्यत्र भोट हाल्नुपर्ने बाध्यता हटेको भन्दै कांग्रेस कार्यकर्ता मछरियादेवी राम भन्छिन्, ‘हाम्रो पार्टीको तागत कति रहेछ, अब बल्ल थाहा हुन्छ ।’

अर्कोतर्फ, मधेशका कयौैं ठाउँहरू सबैभन्दा पिछडिएको र नेतृत्वले चाहेमा त्यहाँ सुधारका कैयौं काम गर्नसक्ने बताउँदै उनी काम गर्न खोज्नेहरूका लागि मधेश सम्भावनाको खानी रहेको ठाउँ भन्न रुचाउँछन् ।

विगतमा स्पष्ट राजनीतिक दृष्टिकोण नहुँदा अरू दलहरूले कांग्रेसमाथि ‘राजनीतिक अतिक्रमण र कुटपिट’ गरेको बताउने उनी त्यस्तो अवस्थामा निराश भएर बस्नुपरेको प्रतिक्रिया दिन्छन् । ‘कांग्रेस त अब निकै नयाँ जस्तो भएको हो,’ उनी भन्छन्, ‘नयाँ नेतृत्वले हामीलाई कोटीकोटी उत्साह भरेको छ ।’

मधेश बुझ्ने नेतृत्व चाहिन्छ

सर्लाही मलंगवाका जयप्रकाश मल्लिक (६५ वर्ष) लामो समयदेखि कांग्रेसका कार्यकर्ता हुन् । तर मधेश आन्दोलनपछि आठ जिल्लामा नेपाली कांग्रेसको राजनीति खस्किएको र कमजोर बनेकोमा उनी खिन्न रहेछन् ।

तीन/चार पुस्तादेखि कैयौंले कांग्रेसमा आस्था राखेको बताउने उनी नयाँ नेतृत्व चयनबाट केही आशावादी भने रहेछन् । उनलाई लागेको रहेछ, जुन प्रक्रियाबाट नेतृत्व चयन भयो, त्यसमा संयमता अपनाएको भए पार्टीलाई अझै लाभ हुन्थ्यो ।

मधेशले कैयौं वर्षदेखि मधेश बुझ्ने नेतृत्व पाउन नसकेको भन्दै उनले पुराना नेताहरू मात्रै होइन, नयाँ युवाहरूबाट पनि कमी–कमजोरी हुन थालेको टिप्पणी गर्दै सर्लाहीको उदाहरण दिए ।

सर्लाहीका २० वटा पालिकामध्ये १२ वटामा कांग्रेसको नेतृत्व रहेछ । तर नेतृत्वमा भएकामध्ये युवा जनप्रतिनिधिहरूमाथि नै अहिले प्रश्न उठ्न थालेकोमा उनी असन्तुष्ट थिए । उनले थपे, ‘बुढापाकाको अनुभवबाट सिकेर युवाले रेपुटेसन सुधार्न जरुरी छ ।’

‘अब बल्ल तागत थाहा हुन्छ’

आमसभामा आएकीमध्ये मछरियादेवी राम (५४ वर्ष)लाई आफूभन्दा कान्छोे नेताले पार्टीको नेतृत्व गरेकोमा आनन्द लागेको रहेछ । बुढाको पार्टी भनिने कांग्रेसमा नयाँले पालो पाएको भन्दै उनले थपिन्, ‘अब युवाले कसरी कांग्रेस चलाउँदो रहेछ ? हेर्न मन छ ।’

नेतृत्व परिवर्तन हुनासाथ आफ्नो आकांक्षा सम्बोधन गरेकोमा उनी औधी खुसी रहिछन् । कांग्रेसले कहिले माओवादीसँग त कहिले अरू दलहरूसँग मिलेर गठबन्धन बनाएको उनलाई पटक्कै चित्त बुझेको रहेनछ ।

स्थानीयदेखि संघीय तहमा दुई पटकको निर्वाचनमा भएको गठबन्धनले शुभचिन्तकहरू भड्किएकोमा उनलाई चिन्ता लागेको रहेछ ।

‘राजनीतिमा विचार नमिल्नेसँग मिलेर ल्याएको भोटको के हिसाबकिताब हुन्छ र ?,’ कांग्रेसले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गरेकोले अन्यत्र भोट हाल्ने बाध्यता हटेको भन्दै उनले थपिन्, ‘कांग्रेसके तागत कते है से आब पत्ता चलतै (हाम्रो पार्टीको तागत कति रहेछ, अब बल्ल थाहा हुन्छ ।)’

तस्वीर/भिडियो : कमल प्रसाईं/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?