१३ फागुन, महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार शरतसिंह भण्डारी यसपटक आफ्नो ‘अन्तिम निर्वाचन’ को भावनात्मक सन्देशसहित मतदाता रिझाइ रहेका छन् ।
चार दशकभन्दा बढी समयदेखि निरन्तर चुनावी मैदानमा उत्रिँदै आएका ७१ वर्षीय भण्डारीले यसै पटकपछि आफू चुनाव नलड्ने घोषणा गर्दै मत मागिरहेका छन् ।
‘यो मेरो अन्तिम निर्वाचन हो, अन्तिम प्रतिस्पर्धा हो । यसपछि म चुनाव लड्दिनँ,’ घरदैलोका क्रममा उनले भनिरहेका छन् ।
मधेश निरन्तर विभेदमा परेको दाबी गर्दै उनले संविधान संशोधनको एजेन्डालाई प्राथमिकतामा राखेका छन् । अहिलेको संरचना र प्रणालीबाट आमूल परिवर्तन सम्भव नरहेको उनको तर्क छ । ‘देशलाई अग्रगति दिन संवैधानिक तथा कानुनी संरचनामा परिवर्तन आवश्यक छ । संविधान संशोधन र पुनर्लेखन जरुरी छ,’ उनले भने, ‘त्यसका लागि म संसद् पुग्नैपर्छ ।’
घरदैलोका क्रममा मतदाताबाट जनसम्पर्क अभावबारे व्यापक गुनासो आएको उनी स्वीकार्छन् । ‘नेता जितेर गएपछि फर्केर नआउने भन्ने गुनासो बढी छ । त्यो स्वाभाविक प्रश्न हो,’ उनले स्वीकारे ।
सीमित स्रोतसाधन, कर्मचारीतन्त्रको ढिलासुस्ती र संरचनागत जटिलताका कारण मधेशमा विकास प्रभावकारी हुन नसकेको उनको भनाइ छ । त्यसको असर मधेशी, दलित, आदिवासी, जनजाति र पिछडिएका समुदायले बढी भोग्नुपरेको उनले बताए ।
२०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन जितेर पहिलोपटक सत्तामा पुगेका भण्डारी ४४ वर्षदेखि निरन्तर उम्मेदवार रहँदै आएका छन् । १९ पटक मन्त्री भइसकेका भण्डारी मधेश केन्द्रित राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिन्छन् । तर, पटकपटक एउटै अनुहार चुनावी मैदानमा दोहोरिनु आफैंमा मतदातामाझ प्रश्न र अपेक्षा दुवै बढाउने कारण बनेको छ ।
यस निर्वाचन क्षेत्रमा जसपाका उम्मेदवार भण्डारी, नेपाली कांग्रेसकी किरण यादव, नेकपा एमालेका कासिम नदाफ र राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार साहबीच प्रतिस्पर्धा हुने देखिएको छ । भण्डारीका लागि कांग्रसकी यादव र एमालेका नदाफ पूराना प्रतिस्पर्धी हुन् ।
२०७४ सालको निर्वाचन परिणाम अनुसार भण्डारीको पकड थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट उम्मेदवार बनेका उनले कांग्रेसकी किरण यादवलाई १६ हजार ७४८ मतको फराकिलो अन्तरले पराजित गरेका थिए ।
त्यस निर्वाचनमा भण्डारीले ३० हजार ७२२ मत ल्याउँदा यादव १३ हजार ९७४ मतमा सीमित भएकी थिइन् । त्यही निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका कासिम नदाफले ३ हजार मत प्राप्त गरेका थिए । यद्यपि, त्यतिबेला कमजोर देखिएको नदाफको मत आधारलाई यसपटक नेकपा एमालेको बलियो संगठन र राष्ट्रिय राजनीतिमा देखिएको ध्रुवीकरणले कति प्रभाव पार्छ भन्ने चासो छ ।
एमालेले नदाफलाई उम्मेदवार बनाएर मैदानमा उतार्नु भनेको मधेशमा आफ्नो आधार विस्तार गर्ने रणनीतिक प्रयासका रूपमा पनि हेरिएको छ ।
२०७९ सालको निर्वाचनमा भने परिस्थिति केही फरक थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेका भण्डारीले कांग्रेस, माओवादी केन्द्रसहितको तत्कालीन पाँचदलीय गठबन्धनको समर्थन पाएर पुन: जित निकाले ।
उनले २५ हजार १९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंह ११ हजार १२० मतमा सीमित भएका थिए ।
एमालेका उम्मेदवार रामपरीक्षण यादवले १० हजार २५८ मत ल्याएका थिए । गठबन्धनको समर्थन भण्डारीको जितमा निर्णायक रहेको त्यतबेला देखिएको थियो ।
यसपटकको निर्वाचनमा भने गठबन्धनको समीकरण फेरिएको छ । २०७९ मा भण्डारीको मुख्य प्रतिस्पर्धी रहेको तराई मधेश लोकतान्त्रिक पार्टी अहिले भण्डारी आबद्ध जनता समाजवादी पार्टी नेपालमै समाहित भइसकेको छ ।
यसले भण्डारीको मत आधार थप सुदृढ हुनसक्ने अनुमान गरिए पनि गठबन्धन नहुँदा स्वतन्त्र मतदाताको झुकाव कतातिर जान्छ भन्ने भन्न सकिंदैन ।
प्रतिक्रिया 4