राजनीति तथ्यले होइन, कथ्यले चल्छ । र, जसले कथा बुन्न जानेको छ, हाम्रो जस्तो हरितन्नम मुलुकमा त्यही मान्छे नायक बन्छ ।
नेपाली राजनीतिको रङ्गमञ्चमा यो सूत्रका सबैभन्दा ठूला र सिपालु कथावाचक हुन्— केपी शर्मा ओली । र, यो विराट कथाका मुख्य पात्र, निर्देशक र नायक उनी आफैं हुन् ।
फेसबुकका भित्तादेखि चियापसलका गफसम्म उनका चुच्चे नक्सा र अदम्य स्वाभिमानका कथा चल्छन् । १० वर्षयता यस्ता कथाले उनलाई ४ पटक सिंहदरबारको ढोका छिरायो । एमालेका होलटाइमरहरू उनको ‘राष्ट्रवाद’लाई गीता झैं सिरानीमा राखेर सुत्छन् र बिहान उठेर त्यसकै जप गर्छन् ।
तर, त्यो राष्ट्रवाद ओलीको वैचारिक गन्तव्य र निष्ठा कहिल्यै थिएन । २०७२ को सङ्कटले जुराइदिएको एउटा राजनीतिक संयोग मात्रै थियो । त्यही संयोगको ब्रान्डिङ गरेर भोट बटुल्न अहिले एमालेको सम्पूर्ण संयन्त्र असिनपसिन हुँदै डिजिटल युद्धमैदानमा भिडिरहेको छ । ओली सत्ताच्यूत भएपछि बेरोजगार भएका विष्णु रिमालहरू ओलीगाथाका चुनावी भिडियो सेयर गर्दै बुढ्यौली कटाइरहेका छन् । रिमाल एन्ड कम्पनीले ओलीलाई राजनेताको रूपमा जन्माउँदै थिए, तर उनी बालकोटको बार्दली र गुन्डुको पर्खालतिर खुम्चिएर लाजनेता भई बसे ।
२०७२ अघिका ओली एमालेका एक चतुर खेलाडी मात्र थिए । उनीसँग संगठनमा पकड थियो, जिब्रोमा उखान र विपक्षीलाई साइजमा राख्ने रणनीति थियो । तर, उनीसँग ‘इतिहास’ थिएन । मदन भण्डारीसँग ‘बहुदलीय जनवाद’को वैचारिक उचाइ थियो, प्रचण्डसँग बन्दुकको राप थियो, शेरबहादुर देउवासँग संस्थागत विरासत थियो । ओलीसँग केवल पार्टीको आन्तरिक जोडघटाउ र गुटको राजनीति थियो । उनी इतिहासले आफैं बोकेका पात्र थिएनन् । बरू इतिहासको कुनै मोडमा आफ्नो भूमिका खोजिरहेका एक महत्त्वाकांक्षी अभिनेता थिए ।
२०७२ को भूकम्पले थिलोथिलो भएको देशमा जब भारतले नाकाबन्दी लगायो, नेपाली मनोविज्ञानमा एउटा ठूलो नेतृत्वदायी रिक्तता जन्मियो । कांग्रेस दिल्लीसँग सम्झौताको भाषा खोज्दै थियो, माओवादी आफ्नै अस्तित्वको अलमलमा थियो । ठीक त्यही ‘भ्याकुम’मा ओलीले खुट्टा छिराए । ‘दबाबमा संविधान संशोधन हुँदैन’ भन्ने अभिव्यक्तिले उनलाई औसत नेताबाट नायक बनायो । उनले जनताको नसामा बगिरहेको आक्रोशलाई ‘हाइज्याक’ गरे । जसरी सुशासन खोज्दै हिँडेका जेनजीको आन्दोलनलाई ३६ वर्षका सुदन गुरुङले सडकबाटै ‘हाइज्याक’ गरे । ओलीले नाकाबन्दीको भेललाई आफ्नो सत्ताको डुंगा खियाउने माध्यम बनाए ।
ओलीको राजनीतिमा राष्ट्रवाद कुनै स्थायी सिद्धान्त वा जीवनदर्शन होइन । यो एउटा मौसमी ढाल मात्र हो । उनले एउटा छिमेकी (भारत)को निर्भरताबाट तर्किन अर्को छिमेकी (चीन)को कार्ड खेले । उनी राष्ट्रवादी नायक हुन्थे भने आत्मनिर्भरता र सन्तुलित कूटनीतिको बाटो हिँड्थे । तर, उनी इतिहासका पानामा नायक होइन, खलनायकको रूपमा उदाए ।
ओली राष्ट्रवादको एउटा निश्चित ढाँचा छ । जब सरकार संकटमा पर्छ, जब पार्टीभित्र विद्रोह हुन्छ, जब चुनाव आउँछ— एकाएक ओलीको राष्ट्रवाद भेल आएको बागमती झैं उर्लिन्छ ।
जुन राष्ट्रवाद कुनै अमुक शत्रु देखाएर मात्र जीवित रहिरहन्छ— त्यो विचार होइन, व्यापार हो । र, ओली यो दुःखी मुलुकका सुखी व्यापारी हुन् । ती व्यापारीले राष्ट्र र लोकतन्त्रका संस्था ढाल्न सम्पूर्ण शक्ति खर्चिए । आफ्नो अहंकारको तुष्टिका लागि दुई-दुई पटक संसद् विघटन गरे । विधिको शासन लत्याउँदै धमाधम अध्यादेशको खेतीपातीमा असारे रोपाइँ गरे । आलोचकमाथि मोदीभन्दा बढी असहिष्णु भए । ‘अरिंगाल’ परिचालनदेखि ‘साइबर सेना’ सम्मको भद्दा प्रयोग उनकै पालामा भयो । संस्थागत र नीतिगत भ्रष्टाचारमा उनले पञ्चायतदेखि गणतन्त्रसम्मका सबै रेकर्ड उछिने । ओली अध्यक्ष हुँदा एमालेले १० वर्षमा २३० दिनभन्दा बढी संसद् अवरुद्ध गर्यो । संसदमाथि सबैभन्दा बढी आक्रमण गर्ने तिनै ओली र उनका प्रजाहरू अहिले फेरि संसदीय चुनावमा भिडिरहेका छन् ।
केपी ओली नाकाबन्दीका उत्पादन हुन् भन्नु उनको अपमान होइन, कठोर ऐतिहासिक यथार्थ हो । उनी बजारमा उपलब्ध त्यस्तो चम्किलो उत्पादन हुन्, जसको बाहिरी आवरण त राम्रो छ तर ‘एक्सपायरी डेट’ (म्याद) गुज्रिसकेको छ । उनी देशका लागि ‘राइट म्यान’ कहिल्यै थिएनन् । उनी त ‘राइट टाइम’ मा ‘राइट ठाउँ’मा उभिएका चतुर अवसरवादी पात्र मात्र हुन् । उनको उदय नेपाली राजनीतिको एउटा यस्तो विरोधाभास हो, जहाँ उनले भावनाको बजारमा थिति र विधिको तेजोबध गरे । उनले जनतालाई पानीजहाज र ग्यासलाइनको सपना त बाँडे तर ती सपना केवल सत्ता चढ्ने मजबुत भर्याङ मात्र बने । अलि अस्ति फेरि दाहिने हातको चोर औंलो ठड्याउँदै पाइपबाट घरघरमा ग्यास पुर्याउँछु भनेर भोट मागे । मलाई लाग्यो— उनले गलत औंलो ठड्याए ।
२०७२ मा नाकाबन्दी हुन्थेन भने ओली आज एमालेको एउटा कुनामा उखानटुक्का सुनाइरहेका र कार्यकता हँसाइरहेका एक औसत नेता मात्र हुन्थे । नाकाबन्दीले उनलाई राजनीतिक मोक्ष दिलायो । जुन राष्ट्रवादको भर्याङ चढेर उनी सिंहासनमा पुगे, त्यही राष्ट्रवाद आज उनको अधिनायकवादी छाया र असफलताहरू लुकाउने सस्तो र रंगहीन पर्दा बनेको छ ।
इतिहासले ओलीलाई एउटा यस्तो कथाकारका रूपमा सम्झिनेछ, जसले कथा त असाध्यै राम्रो भन्यो तर देशलाई एउटा गतिलो चरित्र दिन सकेन । उनले सीमाको ढुंगामा राष्ट्रवादको चर्को नारा त कोरे, तर नागरिकका खुम्चिएका निधारमा आशाको एउटा रेखा पनि कोरिदिन सकेनन् ।
ओली आजको युगका रोलमोडल होइन, सबैभन्दा हिट ‘मिम आइकन’ हुन् । उनी सुरिलो बाँसुरी बजाइदिन्छन् । तबला र ढोलकका ओस्ताज हुन् । क्यारमबोर्ड खेल्छन्, कविता लेख्छन् । उफ्रीउफ्री ब्याडमिन्टन खेल्दिन्छन् । चित्र कोरेर दर्शकलाई टिलपिल टिलपिल पारिदिन्छन् । आयुर्वेद र मेडिसिनमा उनको ज्ञान असीमित छ । कविता र गीत लेखेर सारा देशलाई भक्कानो छुटाइदिन्छन् । उनी यस्ता ‘हमजाएगा’ हुन्, जोबिना हाम्रो उदास अनुहारबाट उहिल्यै हाँसो हराइसक्थ्यो । देश मात्रै चलाउन जानिदिएको भए उनी हमजाएगा झैं अमर हुन्थे ।
राणा र शाहको तानाशाह ढलेपछि ओली जन्मिएका थिए । र, ओली ढलेपछि अर्को तानाशाहको जन्म हुँदै छ । जसको मनमा करुणा र समभाव हुँदैन, त्यो मान्छे हिटलर, इदी अमिन र ओली जस्तै बन्छ ।
कलिला केटाकेटी मार्दा ‘सरी’ पनि भन्न नसक्ने ओली एकसिंगे गैंडा जत्तिकै चाम्रा भइसके ।
हामीलाई यस्तै अर्को ओली चाहिएको छैन ।
प्रतिक्रिया 4