+
+
Shares

‘एक जुग’मा नबनेको पुल : नेता बदलिइरहे, चुनावी एजेन्डा बनिरह्यो

सेती नदीमाथि मोटरेबल पुल बनाउने चुनावी आश्वासन २०५६ देखिकै हो । २०७१ मा बल्ल निर्माण सुरु भयो । निर्माण सुरु भएको १२ वर्ष बित्दा पनि पुल बन्न सकेको छैन ।

रामहरि ओझा रामहरि ओझा
२०८२ फागुन १६ गते २०:४३

१५ फागुन, डोटी । डोटीको शिखर नगरपालिका- १० र ११ जोड्ने गरी सेती नदीमाथि निर्माण हुन लागेको बानेडुग्रीसैन–सातनाली (सेती नदी) मोटरेबल पुल झन्डै १२ वर्षदेखि अलपत्र छ । चुनाव आउँदा उम्मेदवारहरूको मुख्य एजेन्डा बन्ने यो पुल त्यसपछि भने अलपत्र पर्छ । त्यसैको उपज त्यो पुलको निर्माण कार्य हालसम्म अलपत्र छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ असार २९ गते यो पुलको ठेक्का सम्झौता भएको थियो । जसअनुसार २०७४ असार २८ गते निर्माण सम्पन्न भइसक्नु पर्थ्यो । तर, हालसम्म पुलको निर्माणको भौतिक प्रगति २४ प्रतिशत मात्रै छ ।

सधैँको चुनावी एजेन्डा

यो पुल २०५६ को प्रतिनिधिसभा निर्वाचनदेखि नै एजेन्डा बन्दै आएको छ । साबिक डोटी निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवारहरूले यहाँ पुल निर्माण गरेर सातनाली-मेल्लेक हुँदै बझाङसम्म सडक मार्गबाट जोड्ने बाचा गरेर भोट मागेका थिए । त्यो निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवार भक्तबहादुर बलायर विजयी भए । बलायर त्यसअघि पनि २०४८ र २०५१ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उसो त बलायर पुल बन्ने क्षेत्रका स्थायी बासिन्दा पनि हुन् । उनी निर्वाचित भएपछि मन्त्रीसमेत बने, तर पुल निर्माणको सुरसारसम्म भएन ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा उम्मेदवारहरूले यो पुलको एजेन्डालाई फेरि महत्त्वका साथ उठाएका थिए । त्यस बेला नेकपा एमालेबाट हर्कबहादुर सिंह निर्वाचित भए । उनको कार्यकालमा पनि पुल निर्माण सुरु हुन सकेन । यद्यपि, पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने गरिएको थियो ।

त्यसपछि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार रहेको वीरबहादुर बलायरले बझाङसँग डोटीलाई सडक मार्गबाट जोड्ने महत्त्वाकाङ्क्षी एजेन्डा अघि सार्दै त्यसैको महत्त्वपूर्ण भागका रूपमा यो पुललाई अगाडि सारेका थिए । वीरबहादुर चुनाव जिते पनि । उनी पनि यही क्षेत्रका बासिन्दा हुन् ।

यो पुल २०५६ को प्रतिनिधिसभा निर्वाचनदेखि नै एजेन्डा बन्दै आएको छ । साबिक डोटी निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवारहरूले यहाँ पुल निर्माण गरेर सातनाली-मेल्लेक हुँदै बझाङसम्म सडक मार्गबाट जोड्ने बाचा गरेर भोट मागेका थिए ।

वीरबहादुर सांसद भएकै बेला यो पुलको निर्माणको ठेक्का सम्झौता भएर काम सुरु भयो । त्यही बिचमा उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री पनि बनेका थिए । उनी मन्त्री रहेकै बेला निर्माणको काम सुरु भए पनि सम्पन्न हुन सकेन । ठेक्का सम्झौताको म्याद नै सकियो, तर, काम १० प्रतिशत मात्रै सम्पन्न भएको थियो ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा यो पुलको चर्चा अझै चुलियो । तत्कालीन वाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर आले मगरले दुई वर्षमै पुलको निर्माण सकाएर शिखर नगरपालिका-११ को मल्लीसातमा ‘गाडी चढेर आउने’ बाचा गर्दै भोट मागे । तर, त्यो दुई वर्ष घर्किएर दुई चुनाव सकिन लाग्दा आले गाडीमा चढेर आएको देख्न नपाएको स्थानीय जोगबहादुर बोहरा बताउँछन् ।

उसो त ०७४ को चुनाव जितेका आले २०७९ मा पनि भोट माग्न मल्लीसात पुगेका थिए । फेरि उस्तै बाचा गर्न लाज मानेनन् । तर, त्यसपछि पनि पुल निर्माणको काम सकिएको छैन ।

‘त्यो चुनावमा आलेले हामीलाई झन् मूर्ख बनाए । सबै प्रक्रिया मिलाइसकेको छु, चुनाव लगत्तै काम सकिन्छ भनेर भोट मागे,’ बोहरा भन्छन्, ‘तर पुल जस्ताको तस्तै रह्यो । यस पटक त आले अर्कै ठाउँमा उम्मेदवार भएर गए भन्ने सुनेको छु ।’

अहिलेको निर्वाचनमा पनि दल र उम्मेदवारले यो पुलको काम सकाउने बाचा दिइरहेकै छन् ।

२०७४ मा तत्कालीन वाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर आले मगरले दुई वर्षमै पुलको निर्माण सकाएर शिखर नगरपालिका-११ को मल्लीसातमा ‘गाडी चढेर आउने’ बाचा गर्दै भोट मागे ।

न ठेक्का रद्द हुन्छ, न ठेकेदारले काम गर्छ

यो पुल निर्माणको काम सडक डिभिजन कार्यालय कुलपातेले हेरिरहेको छ । डिभिजन कार्यालयको टेन्डरमा पप्पु–राजेन्द्र जेभीले ठेक्का पाएको छ । पप्पु कन्स्ट्रक्सनले पुल निर्माणको सबै काम राजेन्द्र निर्माण सेवालाई दिएको छ । जसका मालिक भीमबहादुर साउँद हुन्, उनी नेपाली कांग्रेस डडेलधुराका सभापति हुन् ।

१२ वर्षसम्म पनि सडक डिभिजन कार्यालयले ठेक्काको म्याद थपिरहेकै छ । तर, ठेकेदार कम्पनीले कामै गर्दैन । पुल छिटो निर्माण गर्न २०८० फागुनमा सडक विभागका तत्कालीन महानिर्देशक र ठेकेदार भीमबहादुर साउँदबिच छलफल भएको थियो । सो छलफलपछि ठेकेदारले दुई वर्षभित्र सक्छु भनेर म्याद थपाएको थियो । त्यो बेला दुई वर्षमा काम नसके ठेक्का रद्द गर्ने सहमति पनि बनेको सडक डिभिजन कुलपातेका तत्कालीन सूचना अधिकारी रामचन्द्र जैशीले बताएका थिए । तर त्यो प्रतिबद्धताले पनि काम गरेको छैन ।

अदालतको आदेशको अटेरी

स्थानीयले पुलको काम छिटो सम्पन्न गर्न परमादेश माग गर्दै २०७९ फागुन १६ मा उच्च अदालत दिपायलमा रिट निवेदन दिएका थिए । अदालतले २०८० जेठ १० गते सुनुवाइ गर्दै पुल यथाशक्य चाँडो निर्माण गर्न सडक डिभिजनका नाममा परमादेश जारी गरेको थियो ।

तर, त्यो परमादेशको पनि बेवास्ता गर्ने काम भएको छ । पछिल्लो समय गत असारमा ठेक्काको म्याद पुनः थप भएको छ । थप भएको म्याद अनुसार ठेकेदारले मंसिर पहिलो सातादेखि निर्माण कार्य सुरु गर्नु पर्ने थियो । तर हालसम्म काम सुरु भएको छैन ।

यसबारे डिभिजन कार्यालयका सूचना अधिकारी गौरव धामीसँग बुझ्दा उनले ठेकेदारबाट माइल स्टोनसहितको कार्य योजना आएको र सो अनुसार काम नभए ठेक्का सम्झौता रद्द गर्ने बताए ।

विश्वस्त छैनन् स्थानीय

पुल निर्माण नहुँदा शिखर नगरपालिका–११ सडक सञ्जालमा जोडिन पाएको छैन । सडक नहुँदा स्थानीयवासी सास्ती भोग्दै आएका छन् । ‘बिरामी हुँदा हामीले डोकोमा बोकेर तीन घण्टाको बाटो हिँड्नु पर्ने बाध्यता छ,’ स्थानीय पदम बोहरा भन्छन्, ‘बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटोमै ज्यान जान्छ, गर्भवती महिला बाटोमै सुत्केरी भइदिन्छन् ।’

दैनिक उपभोग्य सामग्री पिठ्यूँमै बोकेर घण्टौँ हिँड्नुपर्ने बाध्यता अझैसम्म हट्न नसकेको अर्का स्थानीय नाथबहादुर साउँद बताउँछन् । ‘१२ वर्षमा खोलो फर्किन्छ भन्थे । यो त एक जुग(युग) नै हो । एक जुग सकिँदा हाम्रो पुल बनेन,’ उनले भने ।

यस्तो ढिलासुस्ती र राज्यको लाचारीले स्थानीयमा पुल निर्माण हुनेमा आशा सकिँदै गएको छ ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?