+
+
Shares

दमकमा पत्रकार आचार्यमाथि आक्रमण गर्ने एमाले कार्यकर्ताविरुद्ध जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १८:५१

१६ फागुन, विराटनगर । नेकपा एमालेको घरदैलोका क्रममा पत्रकार अर्जुनकुमार आचार्यमाथि सांघातिक आक्रमण गर्ने नेकपा एमाले निकट ‘युथ भोलेन्टियर्स फोर्स’का सदस्य विरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

घाइते पत्रकार आचार्यले शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गरेका हुन् ।

रातोपाटी अनलाइन कोशी ब्यूरो प्रमुख आचार्यमाथि बिहीबार कमल गाउँपालिकाको जीवनचोकमा आक्रमण भएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलो अभियान भइरहेका बेला केही महिलासँग भोलेन्टियर्स फोर्सको कार्यकर्ताबीच विवाद भएको थियो ।

एमाले कार्यकर्ताले गाली गरेपछि बढेको विवादको भिडियो खिचिरहेका आचार्यलाई एमाले निकट भोलेन्टियर्स फोर्सको समूहले हातपात गरेको थियो ।

आचार्यले दर्ता गरेको जाहेरीमा कमल गाउँपालिका–६ का युवराज पाठक सहित पाँच जनाको समूहलाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।

जाहेरीमा अभद्र व्यवहार (मुलुकी अपराध संहिता बमोजिम) सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाउन माग गरिएको छ । उनले  लुटिएको मोबाइल फोन, चस्मा फिर्ता गर्न र उपचार खर्च भराउन समेत माग गरिएको छ ।

आक्रमणपछि बागमती अञ्चलमा दर्ता भएको २५६१ नम्बरको सेता स्करर्पियोमा आचार्यलाई अपहरण गर्ने उद्देश्यले चढाउन खोजिएको र दमक पुगेर थप देखाइदिने धम्की दिइएको समेत जाहेरीमा उल्लेख छ ।

आचार्यको अनुहार, ढाड, कोखा र टाउकोमा चोट लागेको छ । यद्यपि उनको उपचार पछि अवस्था सामान्य छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले किटानी गरिएका व्यक्तिहरुको पहिचान भइसकेको र खोजी जारी रहेको बताए ।

घटनाको पत्रकार महासंघ, फ्रिडम फोरम र विभिन्न सञ्चार सम्बद्ध संस्थाहरूले प्रेस स्वतन्त्रताको रक्षा र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?