+
+
Shares

रास्वपाको बेवास्ताले असन्तुष्ट थिए बाबुराम

जेनजी आन्दोलनपछि वैकल्पिक शक्तिबीच सहकार्य गराएर अभिभाकीय भूमिका पाउने आशा गरेर हौसिएका डा. बाबुराम भट्टराई निर्वाचनमा रास्वपाले बेवास्ता गर्दा असन्तुष्ट बनेका थिए । सोही कारण प्रलोपाले गोरखामा रास्वपालाई नभएर कांग्रेसलाई सघाउने निर्णय गरेको छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८२ फागुन १६ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. बाबुराम भट्टराई आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीले गोरखाको दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ।
  • भट्टराईले रास्वपाबाट समर्थन नपाएपछि उम्मेदवारी फिर्ता लिएका थिए र प्रलोपा कांग्रेससँग सहकार्यमा लागेको छ।
  • कांग्रेसले प्रलोपाको समर्थनले दुवै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको बताएको छ।

१६ फागुन, गोरखा । डा. बाबुराम भट्टराई आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाको दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय सार्वजनिक भएसँगै जिल्लाको चुनावी माहौल थप तंरगित बनेको छ । सामाजिक सञ्जालमा मिश्रित खालका टीकाटिप्पणी आइरहेका छन् ।

भट्टराईको उम्मेदवारी फिर्तासँगै गोरखाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रलोपा उम्मेदवारविहीन बनेको थियो । सोही कारण प्रलोपाको मत आफ्नो पक्षमा पार्न अन्य दल प्रयासरत देखिन्थे । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी र कांग्रेसले प्रयास गरिरहेका थिए । धेरैको अड्कल प्रलोपाले रास्वपालाई सहयोग गर्छ भन्ने थियो । तर, प्रलोपाले कांग्रेसलाई समर्थन गर्ने निर्णय बाहिरिएको छ ।

विगतमा कांग्रेससँग हुँदै आएको सहकार्य यस पटक पनि निरन्तरता दिएको प्रलोपाले बताए पनि भित्री कुरा भने अर्कै रहेको स्रोतको दाबी छ । मुख्यतः भट्टराई र प्रलोपा पछिल्लो समय रास्वपासँग असन्तुष्ट रहेको बताइन्छ ।

यसको कारण फागुन २१ को चुनावसँगै जोडिएको छ । गोरखा-२ मा उम्मेदवारी दिँदा भट्टराईले रास्वपाको साथ खोजेका थिए । रास्वपाकै समर्थनमा चुनाव लड्न चाहन्थे । जेनजी आन्दोलनपछि उनले  राजनीतिमा सक्रियता बढाउनुको कारण पनि त्यही थियो ।

जेनजी आन्दोलनपश्चात् नयाँ पार्टीहरू एकसाथमा आउनुपर्ने पक्षमा उभिएर भट्टराईले रवि लामिछानेदेखि बालेन शाहसम्मलाई भेटेर एक हुन आह्वान पनि गरेका थिए । जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री बन्दा शपथग्रहण समारोहमा पनि उनी पुगेका थिए । त्यसपछिका अन्य संवादका क्रममा पनि उनी जोडिँदै आएका थिए ।

वैकल्पिक शक्तिका बिचमा सक्रिय भएर अभिभावकीय भूमिका खेल्ने भट्टराईको चाहना थियो । त्यो प्रस्ताव स्वयं रास्वपाले राख्दा उनी फागुन २१ को चुनाव लड्न हौसिएका थिए । त्यही हौसलाका आधारमा उनले गोरखा-२ मा उम्मेदवारी दर्ता गराएका थिए । तर, रास्वपाले उनलाई समर्थन गर्न चाहेको देखिएन । उल्टै रास्वपाबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी प्रतिस्पर्धी भएर मैदानमा उत्रिए ।

त्यसपछि भने २०६४ सालमा देशमै सर्वाधिक लोकप्रिय मत पाएका भट्टराई अलमलमा परे । यद्यपि उनले उम्मेदवारी दर्तापछि पनि केही दिन रास्वपासँग छलफलको प्रयास गरेका थिए । रास्वपाले उनको प्रयासलाई बेवास्ता गरिदियो । रास्वपा भट्टराईसँग औपचारिक छलफल गर्नसमेत तयार देखिएन ।

‘रास्वपासँग गोरखा–२ मा हामीलाई सहयोग गरे हामी गोरखा–१ मा सहयोग गर्छौँ भन्ने प्रस्ताव गरेका थियौँ,’ प्रलोपाका नेता यानप्रसाद भट्टले भने, ‘तर उहाँहरू मान्नुभएन । रास्वपाले अरू दलको अस्तित्व स्वीकार गर्न सकेको देखिएन ।’

रास्वपाको साथ दिने संकेत नदेखेपछि अन्ततः भट्टराई ‘ब्याक’ भएर उम्मेदवारी फिर्ता लिए । भट्टराईसँगै प्रलोपाले गोरखा–१ बाट पनि प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता लिएको थियो ।

त्यसपछि भने २०६४ सालमा देशमै सर्वाधिक लोकप्रिय मत पाएका भट्टराई अलमलमा परे । यद्यपि उनले उम्मेदवारी दर्तापछि पनि केही दिन रास्वपासँग छलफलको प्रयास गरेका थिए । रास्वपाले उनको प्रयासलाई बेवास्ता गरिदियो ।

भट्टराईले उम्मेदवारी फिर्ता लिँदा पछि रास्वपाको सहयोगमा राष्ट्रपति बनाउने चर्चासमेत चलेको थियो । त्यसपछि त्यही किसिमले रास्वपाले छलफल गर्ने आशा भट्टराईमा थियो । तर रास्वपाले त्यसपछि पनि संवाद गर्न चाहेन । त्यसपछि भने रास्वपाले भट्टराई र पार्टीकै अपमान गरेको अनुभूति गरेको प्रलोपाले कांग्रेसलाई समर्थन गर्ने मनस्थिति बनाएर निर्णयमा पुगेको स्रोतको दाबी छ ।

यो निर्णय जिल्ला स्तरबाटै भएको प्रलोपा जिल्ला अध्यक्ष नारायण खत्री बताउँछन् । ‘उम्मेदवारी थुतेर गएपछि जिल्लाबाटै मिलाउनु म हस्तक्षेप गर्दिनँ भनेर बाबुरामजी जानुभएको हो । आवश्यकताअनुसार हामीले जिल्ला स्तरबाटै सहकार्यको निर्णय गरेका हौँ,’ खत्रीले भने ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले कांग्रेससँगको सहकार्यलाई आफूले सकारात्मक रूपमा हेरेको बताए । ‘म प्रलोपाको कार्यकारी भूमिकामा छैन । अभिभावक र शुभचिन्तक मात्र हुँ,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘स्थानीय स्तरको आवश्यकतालाई हेरेर जिल्लाले निर्णय गर्ने छुट पार्टीले दिएको छ । त्यहीअनुसार निर्णय गर्‍यो, त्यसमा मेरो सद्भाव छ ।’ रास्वपासँगको असन्तुष्टिबारे भने उनले बोल्न चाहेनन् ।

प्रलोपाको साथले दुवै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको भन्दै कांग्रेस भने हौसिएको छ ।  ‘हामी जितको नजिक-नजिक थियौँ,’ कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले भने, ‘प्रलोपाको समर्थनले अत्यधिक मतसहित जित्ने भयौँ ।’ विगतमा पनि प्रलोपासँग सहकार्य हुँदै आएको बताउँदै उनले यसपटकको सहकार्यले थप उत्साह थपेको जिकिर गरे ।

गोरखामा प्रलोपाको संगठन मजबुत नभए पनि भट्टराईको हकमा सहानुभूति र विश्वास गर्ने जनमत ठुलो छ । पछिल्लो समय उनका अधिकांश समर्थक रास्वपा, नेकपालगायतका दलमा विभक्त भइसकेका छन् ।

प्रलोपाको साथले दुवै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको भन्दै कांग्रेस भने हौसिएको छ ।

भट्टराईले २०६४ र २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीबाट गोरखा–२ मा अत्यधिक मतका साथ जितेका थिए । २०७४ मा भने नयाँ शक्ति पार्टी बनाएका उनले कांग्रेससँगको गठबन्धनबाट जित निकालेका थिए । २०७९ को चुनावमा उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखा–२ छाडेका थिए ।

यस निर्वाचनमा गोरखा–२ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, एमालेबाट मिलन गुरुङ ‘चक्रे मिलन’, नेकपाबाट लेखनाथ न्यौपाने र रास्वपाबाट कवीन्द्र बुर्लाकोटीबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।

यस्तै गोरखा–१ मा कांग्रेसका प्रेमकुमार खत्री, एमालेका रामचन्द्र लामिछाने, नेकपामा हरिराज अधिकारी र रास्वपाका सुधन गुरुङ प्रतिस्पर्धामा छन् ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?