+
+
Shares

आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा केही दिनदेखि नै सुरक्षाकर्मीहरु सहितको टोली पुगिसकेको छ । यातायातको सुविधा पुगेको ठाउँमा सोमबार अपराह्नसम्म केन्द्रमा पुग्न र तयारी गर्न निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते ७:३७
निर्वाचन सामग्री लिएर मतदान केन्द्र जाँदै कर्मचारी । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि देशभरका मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन गर्ने निर्देशन दिएको छ।
  • निर्वाचन सामग्री र मतपत्रको सुरक्षा नेपाल प्रहरीले गर्नेछ र सुरक्षाकर्मीलाई २४ सै घण्टा निगरानी गर्न निर्देशन दिइएको छ।
  • मतदान केन्द्रमा पुग्ने मतदान अधिकृतले चारकिल्ला तोकिएको सूचना टाँस्न र सर्वपक्षीय बैठक गरी मतदान प्रक्रिया सञ्चालन गर्नुपर्नेछ।

१८ फागुन, काठमाडौं । यही फागुन २१ गते निर्वाचन गराउने कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने भएका छन् । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको छ ।

दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा केही दिनदेखि नै सुरक्षाकर्मीहरु सहितको टोली पुगिसकेको छ । यातायातको सुविधा पुगेको ठाउँमा सोमबार अपराह्नसम्म केन्द्रमा पुग्न र तयारी गर्न निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिइसकेको छ ।

‘सोमबार बेलुकीसम्म सबै ठाउँका मतदान केन्द्रहरुमा कर्मचारी र सुरक्षाकर्मीहरुको टोली पुग्नुपर्छ भनेर हामीले यसअघि नै निर्देशन दिइसकेका छौं’ निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘निर्वाचन सामग्री पुगेर मतदान केन्द्रमा पुग्ने उनीहरुले सोमबार नै केही कामहरु समेत गर्नुपर्ने हुन्छ ।’

प्रवक्ता भट्टराईका अनुसार, सोमबार अपराह्नसम्म चारकिल्ला तोकेर मतदान केन्द्रको हाता तोकिएको सूचना टास्नुपर्छ । उनीहरुले कुन/कुन ठाउँको परिधिभित्रको क्षेत्र मतदान केन्द्र हो भनेर सबैले स्पष्टसँग देख्नेगरी सूचना निकाल्छन् ।

देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीहरुको उपस्थितिमा सम्बन्धित मतदान अधिकृतहरुले निर्वाचन सामग्री बुझ्छन् । र, निर्वाचन नहुञ्जेलसम्म सुरक्षाकर्मी र निर्वाचन गराउने कर्मचारीहरुको टोली साथमा नै रहन्छन् ।

निर्वाचन आयोगका प्रवक्ता भट्टराईका अनुसार, आइतबारसम्म विकटका दुई सयभन्दा बढी मतदान केन्द्रमा कर्मचारीहरु पुगिसकेको रिपोर्ट आएको थियो । आयोगले सुदूरपश्चिम र कर्णालीमा सडकको सुविधा नपुगेका केन्द्रहरुलाई प्राथमिकतामा राखेर कर्मचारी परिचालन गरेको थियो । आइतबार अपराह्नसम्म सडक सुविधा नपुगेका र सदरमुकामबाट टाढा रहेका करिव ३ सय मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसकेका थिए ।

तुलनात्मक रुपमा सडकको सुविधा पुगेको ठाउँमा भने आइतबार अपराह्नसम्म कर्मचारी पुगेका थिए । शहरी क्षेत्र र तराईका केन्द्रहरुमा ढिलोमा पनि सोमबार अपराह्नसम्म कर्मचारीहरु मतदान केन्द्रमा पुगिसक्नेछन् ।

मतदान अधिकृतको जिम्मामा रहने मतपत्र लगायतका निर्वाचन सामग्रीहरुलाई नेपाल प्रहरीले सुरक्षा दिएको हुन्छ । निर्वाचन आयोग र प्रहरी हेडक्वाटरले सुरक्षाकर्मीहरुलाई मतदान अधिकृत लगायतका कर्मचारी र सिलबन्दी गरिएका मतपत्र लगायतका सामग्रीलाई नछाड्नु र २४ सै घण्टा निगरानी गर्नु भनेर निर्देशन दिएको छ ।

मतदान केन्द्र निर्धारण कार्यविधि अनुसार, हरेक स्थानीय तहको एउटा वडामा कम्तिमा एउटा मतदान केन्द्र रहन्छ । तर मतदाताहरुलाई टाढा हुने भएमा एकभन्दा बढी केन्द्र पनि तोकिने व्यवस्था छ । एउटा मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता हुदैनन् ।

बढी मतदाता हुने भएमा एउटा मतदान स्थल तोकेर त्यसभित्र क, ख, ग गरी अलगअलग मतदान केन्द्र तोकिन्छ । तर निर्देशिकाले एकै ठाउँमा सातवटा भन्दा बढी केन्द्रहरु तोक्न नमिल्ने व्यवस्था गरेको छ ।

मतदान केन्द्रमा पुग्ने मतदान अधिकृतले चारकिल्ला तोकिएको सूचना निकालेपछि सकेसम्म छिटो सर्वपक्षीय बैठक डाक्नुपर्नेछ । त्यसपछि उनीहरुले निर्वाचनको प्रचारप्रसार गर्न रोकिएको सूचना पनि निकाल्नुपर्नेछ ।

त्यसपछि उनीहरुले मतदान केन्द्र बनाउने, मतदान शुरु भएदेखि सम्पन्न हुँदासम्म पटकपटक सर्वपक्षीय बैठक गर्ने र मतपेटिकाका मुचुल्काहरु बनाउने काम गर्नुपर्नेछ ।

मतदान सकिएर सबै दलका प्रतिनिधिहरुको उपस्थितिमा मतपेटिका मुचुल्का गरेपछि मतदान केन्द्रको काम सकिन्छ । अनि मतदान अधिकृतले मतपेटिका सहितका निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ ।

निर्वाचन सामग्री बुझेर मतदान गराई निर्वाचन अधिकृतलाई मतपेटिका बुझाएपछि मात्रै मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरुको जिम्मेवारी पुरा हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउँछन् । उनी भन्छन्, ‘त्यतिञ्जेलसम्म कर्मचारी र साथमा खटिने सुरक्षाकर्मीहरु साथमा रहेर मतदानको काम गराउनुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?