१८ फागुन, काठमाडौं । नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भूसालले यो निर्वाचनलाई अवाञ्छित र अपरिहार्य भनेका छन् ।
उनको प्रष्टोक्ति छ– भवितव्यले नचाहेको समयमा चुनाव हुँदैछ, त्यसैले अवाञ्छित हो । तर यो चुनाव नभए श्वास फेर्ने स्पेस समेत रहँदैन, त्यसैले अपरिहार्य हो ।
निष्कर्षमा भूसाल भन्छन्– चुनाव हुनुपर्छ, तर यसले निकास दिँदैन ।
यस्तो विरोधाभासपूर्ण निष्कर्ष निकालेका भूसालले आफू नेतृत्वको दल पनि चुनावमा सहभागी गराएका छन् । संगठनात्मक अवस्था अथवा अरू कुनै मानकलाई आधार मान्दा उनका उम्मेदवारहरूले जित्ने सम्भावना लगभग कमजोर छ ।
चुनावी नतिजा कस्तो होला भन्ने बुझ्न उनका दलका उम्मेदवार संख्या एउटा जवाफ हो । यो पार्टीले प्रत्यक्षतर्फ ३५ जना र समानुपातिक तर्फ बन्दसूचीमा १०९ जनाको नाम बुझाएको छ । पार्टी अध्यक्ष चन्द्रदेव जोशी र कार्यबाहक अध्यक्ष भूसाल स्वयं उम्मेदवार छैनन् ।
चुनाव जितेर सरकार बनाउने अथवा सरकारमा सहभागी हुने अपेक्षा पनि गरेका छैनन् । गत ५ फागुनमा चुनावी घोषणापत्र सार्वजनिक गर्दा जोशी र भूसालले जितको आशा गरेको देखिएन ।
बरू भूसालले यो चुनावलाई ‘महामूर्ख सम्मेलन’, ‘गाइजात्रा’ र ‘अप्रिलफुल’ जस्ता चाडसँग तुलना गरे । ‘जनकपुरमा महामूर्ख सम्मेलन हुन्छ । त्यसमा जसले बढ्दा मूर्खतापूर्ण अभिव्यक्ति दिन सक्छ, त्यो पुरस्कृत हुन्छ । संभवतः अप्रिलफुल त्यस्तै हो,’ उनले भने, ‘यो चुनाव पनि राज्यले आयोजना गर्छ, र जसले बढी ढाट्न सक्छ, सवभन्दा बढी झुट बोल्न सक्छ, उसले जित्छ ।’
भूसालले यो चुनावलाई गाइजात्रासँग दाँज्नुमा भने जेनजी आन्दोलनपछिका परिस्थिति विश्लेषणलाई आधार मानेका छन् । उनका विश्लेषणमा जेनजी आन्दोलनबारे सही निष्कर्ष ननिकाली फगत चुनावमा होमिने कार्यले मुलुकको संकट समाधान गर्दैन ।

‘घटना के हो भन्ने कुरा गौरीबहादुर कार्कीलाई जिम्मा लगाएर निर्वाचनमा जाँदैछौ,’ जाँचबुझ आयोगले केही नगर्ने शंका सहित भूसालको निष्कर्ष छ, ‘जेनजीले विरोध गरेका थिए, उग्र भयो । प्रहरीले गोली चलाउँदा मान्छे मर्यो, भोलिपल्ट आक्रोशले देश जल्यो भन्छ, यसले केही पनि गर्दैन ।’
तर २३–२४ भदौको प्रदर्शन, नरसंहार र विध्वंशको जवाफ नेपालीलाई दिएर मात्र चुनावमा जानु सुल्टो बाटो हुने भूसालको निष्कर्ष छ ।
‘हाम्रो राजनीतिको नालायकीले समाजमा असन्तुष्टि थुप्रिदै गएको पृष्ठभूमिमा जेनजी प्रदर्शन भएको थियो । र त्यसमा टेकेर षडयन्त्रकारीहरुले मुलुकलाई अग्नि कुण्डमा धकेलेका थिए,’ भूसालले भन्दै आएका छन्, ‘नेताहरु नालायक थिए । त्यसको निहुँमा षडयन्त्रकारीहरुले राष्ट्रलाई घुँडा टेकाएका थिए । यी तथ्यलाई हामीले राजनीतिक र कानुनी रुपमा किटानी गर्नुपर्थ्यो । दण्डित गर्नुपर्थ्यो ।’
तर जेनजीहरूलाई विद्रोहसम्म पुग्नुपर्ने परिस्थिति सिर्जना गर्ने नेताहरुको नालायकी राष्ट्रलाई नबताइ र विध्वंशका अपराधीहरुलाई दण्डित नगरी हुँदै गरेको चुनावले मुलुकलाई निकास नदिने यो पार्टीको ठहर छ ।
‘त्यत्रो विषयलाई अनदेखा गरेर आज यो राष्ट्र निर्वाचनमा जाँदैछ । केहीले त्यसलाई विदेशी षडयन्त्र हो भनेर खारेज गरेका छन्, र आफ्ना नालायकी ढाँट्ने प्रयत्न गरेका छन्,’ भूसालको भनाइ छ, ‘अर्काथरीले त्यस विध्वंशलाई मौन समर्थन गरेका छन् । कतिपयले जिब्रो चपाएका छन्, अवसरवादी बाटो लिएका छन् ।’
यसरी जेनजी आन्दोलनका क्रममा सतहमा आएकै समस्यालाई छोपेर गरिने चुनावी नतिजाले सरकार गठन गरेपनि लोकतन्त्र संकटमै रहने भूसालले विश्लेषण गरेका छन् ।
तसर्थ आफ्नो पार्टीलाई प्रतिपक्षी शक्ति बनाउने उनको सार्वजनिक घोषणा छ । ‘आजको राजनीतिको हामी प्रतिपक्ष हौं,’ २१ फागुन नकुर्दै भूसालले भनेका छन्, ‘कमरेड ओलीको एमाले, कमरेड प्रचण्डको नेपाली कम्युनिष्ट पार्टी, गगन र विश्वप्रकाशको नेपाली कांग्रेस, बालेनजीहरुको रास्वपा यिनीहरू सारतः एउटै हुन् ।’
‘ओली–प्रचण्डको प्रयोग असफल’
माओवादी, एकीकृत समाजवादी सहित २३ भन्दा बढी घटक समाहित भइसकेको नेपाली कम्युनिष्ट पार्टीमा महासचिव बन्ने अवसर त्यागेर छुट्टै पार्टी चलाइरहेका भूसालले पछिल्लो समय भिडियो सन्देश मार्फत आफ्नो कुरा राख्दै आएका छन् ।
लगातार सार्वजनिक गरिरहेका भिडियोहरुको सार भने फरक छैन । उनको विश्लेषणमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको सबैजसो प्रयोग असफल भइसकेको छ ।

‘सम्झौं त, कमरेड प्रचण्डको नामले यो देश कसरी जुर्मुराएको थियो । कमरेड प्रचण्डसँग के थिएन, सबै थोक थियो । उनीसँग केबल विचौलियातन्त्रको मोहिनीसँग जोगिने संकल्प थिएन,’ गत ११ माघमा सार्वजनिक भिडियोमा भूसालले भनेका छन्, ‘कमरेड ओली इतिहासमा संभवत लोकप्रियताको सर्वश्रेष्ठ उदाहरण थिए । सपनाको कुरा गर्न उनी माहिर थिए ।’
ओलीलाई उनले पपुलिज्मको पितामहकै उपमा दिने गर्छन् । ‘ओलीजी हिजो कहाँ थिए र आज कहाँ छन् ? सबैलाई थाहा छ,’ उनले भन्ने गरेका छन् ।
तर अझैपनि सत्ताको कुलत उनीहरुमा नगएको निष्कर्ष सहित भूसालले यी दलहरुको जितमा निकास देखेका छैनन् । ‘कमरेड ओली र प्रचण्डका सबै प्रयोग असफल भइसकेका छन् । तर असफलता र नालायकीको धित मरेको छैन,’ भूसाल भन्छन्, ‘उनीहरु राजनीतिको केन्द्रमै छन्, यिनीहरु पनि मुख्य शक्तिका रुपमा प्रतिस्पर्धा गर्दैछन् ।’
‘रवि–बालेन पनि पुरानाजस्तै’
कार्यबाहक अध्यक्ष भूसालले नयाँ भनेर आएका रवि लामिछाने र बालेनसँग पनि विचौलियातन्त्रसँग लड्ने ठोस कार्यक्रम नभएको बताएका छन् ।
‘यिनीहरु विचार, सिद्धान्त, इतिहास, समाज, तर्क, विज्ञान सबैसँग बेखर छन् । तिनका लागि समाजवाद, पूँजीवाद एउटै हो । धनी गरीब उस्तै हुन् । सुशासन कुशासन आफैं हुन्छ,’ नयाँ शक्तिहरुबारे भूसाल भन्छन्, ‘यिनले जानेको एउटै कुरा हो– पुरानो सबै खराब हो, नयाँ सबै राम्रो हो ।’

नयाँहरुको योग्यता भन्नु नै पुरानाहरुले रोपेको आक्रोश, घृणा र असन्तुष्टि रहेको उनको बुझाइ छ । ‘के गर्छौं भनेर तपाईंले उनीहरुलाई (नयाँहरुलाई) सोध्नुभयो भने देश बनाउँछु भन्नेछन् । कसरी बनाउँछौं भन्यो भने जसरी बन्छ त्यसरी बनाउँछौ भन्छन्,’ भुसाल भन्छन् ।
‘देउवाकै विचार बोकेको कांग्रेस’
गगन थापा सभापति भएर नेपाली कांग्रेस परिवर्तन दाबी गरेपनि देउवाकै विचार, सिद्धान्त र संगठनबाट अलग हुन नसकेको भूसालको बुझाइ छ ।
‘देउवाको नालायकीको भारी बोकेर जनताको घरदैलोमा जानुपर्ने अपमानबाट नेपाली कांग्रेस तत्कालका लागि बचेको छ । तर यो अर्कै नेपाली कांग्रेस होइन,’ उनले भन्ने गरेका छन्, ‘यो कांग्रेसले विचौलिया र दलाल पूँजीवाद चिन्छ, तर चिन्छु भन्न सक्दैन । देउवा फेरेकोमा गौरावान्वित छ, तर देउवाकै विचार, सिद्धान्त र संगठनले नेपाललाई समृद्ध बनाउने कुरा गर्छ ।’
यो निर्वाचनका यी तीन शक्ति ब्यावहारिक रुपमा एउटै भएको निष्कर्ष भूसालले निकालेका छन् । ‘यसरी हेर्दा विचौलितन्त्रलाई हेर्ने, बुझ्ने दृष्टिकोणका हिसाबले यी मुख्य पार्टीका भाषा र मात्रामा फरक होलान्, तर तर व्यवहारिक रुपमा ती सबै एकै हुन्,’ उनले भनेका छन् ।

प्रतिक्रिया 4