१८ फागुन, नुवाकोट । प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारको समय घर्किंदै जाँदा नुवाकोट क्षेत्र नं. २ मा राजनीतिक दलहरुमा मतदाताको घरदैलोमा पुग्न र उनीहरुलाई रिझाउन तछाडमछाड छ । राजनीतिक दलहरु र तिनका उम्मेद्वारहरु मात्र होइन, आम मतदातामा पनि जित–हारको अड्कलबाजी उत्तिकै रोमाञ्चक छ ।
नुवाकोट क्षेत्र नं. २ मा विदुर र बेलकोटगढी दुई नगरपालिकासहित तारकेश्वर, किस्पाङ र म्यागङ गाउँपालिका गरी कुल ५ स्थानीय तह छन् । यस क्षेत्रमा खासगरी कांग्रेस, नेकपा, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुने अनुमान छ ।
नुवाकोट २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हिरानाथ खतिवडा, नेपाली कांग्रेसका जगदिश्वर नरसिंह केसी, नेकपा एमालेका केशवराज पाण्डे, रास्वपाका अच्युतम लामिछाने र राप्रपाका झनक प्याकुरेलसहित १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
२०७९ सालमा जितेको काग्रेसले यो क्षेत्रमा आफ्नो निरन्तरता चाहेको छ । एमाले पुरानो विरासत फर्काउने कसरतमा छ भने नेकपा आफ्नो यसअघिको मत जोगाएर प्रभाव विस्तार गर्ने दाउमा छ । रास्वपा यी तीनवटै दललाई चुनौति दिने गरी निर्वाचनमा होमिएको छ ।
गत निर्वाचनमा रास्वपाले तत्कालीन माओवादी केन्द्रसहितको चुनावी गठबन्धनबाट उम्मेद्वार बनेका कांग्रेसका अर्जुननरसिंह केसीलाई टक्कर दिँदै दोस्रो स्थान जमाउन सफल भएको थियो । केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी हुँदा रास्वपाका सुमन विक्रम पाण्डेले १६ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए ।
सो क्षेत्रमा एमालेका नारायण खतिवडाले १५ हजार ५ सय ६१ मत ल्याएका थिए । कांग्रेसका केसी यो पटक समानुपातिकतर्फ खसआर्य क्लस्टरको पहिलो नम्बर सूचीमा छन् भने उनले भाइ जगदिश्वरनरसिंहलाई चुनावी मैदानमा उतारेका छन् ।
पहिलो र दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद् भइसकेका कांग्रेसका केसी २०७४ मा प्रदेशसभामा एमालेका पाण्डेसँग पराजित भएका थिए । पाण्डे भने ०७० को निर्वाचनमा केसीका दाजु अर्जुननरसिंहसँग पराजित भएका थिए ।
१३ वर्षपछि नेकपाको आफ्नै उम्मेदवार
नेकपाका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य हिरानाथ खतिवडा २०७४ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नुवाकोट क्षेत्र नं २ मा २०६४ को पहिलो संविधानसभाको निर्वाचन जितेको तत्कालीन माओवादी नयाँ तर, प्रदेश सांसद हुँदा आफ्नो क्षेत्रमा विकासका कार्यक्रम ल्याएका खतिवडामार्फत् आफ्नो पुरानो विरासतलाई फर्काउने ध्येयमा छ ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ठूला मानिएका दलका उम्मेदवारहरु पुरानै अनुहारका छन् तर, नेकपाले भने नयाँ अनुहारको रुपमा खतिवडालाई अघि सारेको छ ।
अघिल्ला निर्वाचनहरुमा पटक–पटकको गठबन्धनबाट कहिले कांग्रेस त कहिले एमालेलाई सहयोग गरेर जिताएको माओवादीले यसपटक १३ वर्षपछि आफ्नै उम्मेद्वारलाई मतदान गर्न पाउने अवसरले पनि कार्यकर्ता तहमा उत्साह देखिएको बुद्धिजीवी बसुराम रिजाल बताउँछन् ।
विगतमा आफ्नै उम्मेद्वार नहुँदा निष्कृय बसिरहेकाहरु नेकपाका नेता–कार्यकर्ताहरु पनि खतिवडालाई जिताइछाड्ने अठोट बोकेर गाउँगाउँमा परिचालित छन् । गत भदौमा भएको हिंसात्मक जेनजी आन्दोलनमा कांग्रेस–एमाले गठन्धन सरकारको दमनकारी नीतिलाई चुनावी मसलाको रुपमा प्रचार गरिरहेका छन् ।
०७९को निर्वाचनको अंकगणित
२०७९ को निर्वाचनमा कांग्रेसले समानुपातिकमा २० हजार ८५ मत प्राप्त गर्दै पहिलो बनेको थियो । समानुपातिक मत हेर्दा एमाले दोस्रो स्थानमा रहेको देखिन्छ । त्यतिबेला एमालेले १५ हजार २४८ मत र रास्वपाले १६ हजार ४७७ मत पाएको थियो । साविक माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्दै आफ्नो उम्मेदवार उठाएको थिएन । माओवादीले समानुपातिकमा ११ हजार १५५ (समाजवादी ७२१ सहित) मत प्राप्त गरेको थियो । तर, यो अंकगणितमा अहिले ठूलो फेरबदल आउनसक्ने सम्भावना छ ।
विवाद र भ्रष्टाचारमा नमुछिएका खतिवडा प्रतिनिधिसभामा नयाँ अनुहार हुन् । साथै २०७४ सालमा यहाँबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । खतिवडाले अरुले गर्न नसकेका विकास निर्माणका काम आफूले गरेर देखाएको भन्दै मत मागिरहेका छन् । नुवाकोटको उत्तरी दुर्गम क्षेत्रमा पक्की सडक, कृषि क्षेत्र विस्तार, विकासका लागि सिंचाइ आयोजनाहरु, खानेपानी, खेलकुद मैदान, पर्यटकीय र साँस्कृतिक सम्पदाको प्रबर्द्धनका काम पनि आफूले गरेको उनको दाबी छ ।
उसो त खतिवडा राजनीतिसँगै विगत १५ वर्षदेखि कृषिमा भिजिरहेका सफल कृषक पनि हुन् । उनले गरिरहेको अन्य कृषि कर्मसँगै पोल्ट्री व्यवसाय अहिले नुवाकोट र रसुवाका कृषकहरुले अनुसरण गरी व्यवसायिक कृषि उद्यमबाट सफलता पाएका छन् । ‘नाफाका लागि राजनीति रोज्नेहरुलाई भन्दा कृषि बुझेको र भिजेको उम्मेद्वार पायौँ भन्नेमा पक्कै पनि मतदाता खुशी छन्’, खतिवडा भन्छन्, ‘मैले यसअघि प्रदेशसभामा निर्वाचित भएर गएपछि ५ वर्षको पुरै कार्यकाल आफ्नो क्षेत्रको विकास निर्माण र सेवामा जनताले महसुस गर्नेगरी काम गरेकोले पनि मेरो झन् आवश्यकता मतदाताले बुझेको पाएको छु ।’
शिक्षकको जागिर र अवसर हुँदाहुँदै पनि समाजको परिवर्तन र जनताका अधिकार ल्याउन भन्दै उनी २०५२ सालमा नेकपा माओवादीले सञ्चालन भएको जनयुद्धमा नेता खतिवडा होमिएका थिए । उनले आफूसहित सिंगै परिवार परिवर्तन र क्रान्तिमा लगाएका थिए । पार्टी र आन्दोलनका विभिन्न कालखण्डमा सफल नेतृत्व गरेका उनी हाल नेकपाका केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज छन् ।
साविक माओवादीका नेता पोष्टबहादुर बोगटीको राजनीतिक आदर्शबाट समाज बदल्ने हिम्मत बोकेर राजनीतिमा सक्रिय नेता खतिवडा बोगटीकै विश्वासपात्र थिए । २०६४ सालमा यहाँबाट निर्वाचित बोगटीको विरासत धान्ने र उत्तराधिकारीको रुपमा पनि आफूलाई मतदाताले अनुमोदन गर्ने खतिवडाको विश्वास छ ।
यसपटक यहाँ रास्वपाका अच्युतम लामिछाने पहिलोपटक चुनावमा प्रतिस्पर्धा गर्दैछन् । यसअघिको मत जोगाउँदै जित्न निकाल्ने रणनीतिमा उनी छन् । तर गत चुनावमा उपविजेता सुमनविक्रम पाण्डेको टिकट खोसिँदा स्वयं पाण्डे र अर्का नेता दिनेश आचार्य लगायतका नेताहरुले रास्वपा छोडिसकेका छन् । जसका कारण लामिछानेका लागि प्रतिस्पर्धा कठिन हुनसक्ने विश्लेषण स्थानीय गर्दछन् ।
अर्कोतर्फ मतदातालाई आकर्षित गर्ने नाममा भुईंमा लम्पसार परेको, लाङटाङको पानी रोनाल्डोलाई खुवाएर देश धनी बनाउनेजस्ता एजेण्डाहरु बाँडेको भन्दै कतिपयले उनको आलोचना पनि गर्दछन् । तर उनले कांग्रेस र एमालेको असन्तुष्ट मतलाई आफूतर्फ तान्न सक्ने आँकलन भने गरिएको छ । यदि यसमा लामिछाने सफल भएमा त्यसको प्रत्यक्ष फाइदा आफूलाई नै हुने अनुमान गरेको नेता खतिवडा बताउँछन् ।
प्रतिक्रिया 4