१९ फागुन, काठमाडौं । दक्षिण सुडानको उत्तरी क्षेत्रमा पर्ने एक गाउँमा अज्ञात व्यक्तिहरूको समूहले आक्रमण गर्दा वरिष्ठ सरकारी अधिकारीसहित कम्तीमा १६९ जनाको मृत्यु भएको छ ।
रुवेङ्ग प्रशासनिक क्षेत्रका सूचना मन्त्री जेम्स मोन्युलक मिजोकले दिएको जानकारी अनुसार मृतकमध्ये ९० जना बालबालिका, महिला र वृद्ध रहेका छन् । प्रहरीसहित ७९ जना क्षेत्रीय सुरक्षाबलका सदस्यहरु पनि मारिएका छन् । उनका अनुसार अन्य ५० जना घाइते भएका छन् । अधिकांशलाई उपचारका लागि छिमेकको अबेई प्रशासनिक क्षेत्रमा लगिएको छ ।
मन्त्री मिजोकले युनिटी स्टेटबाट आएका दर्जनौं सशस्त्र युवाहरुको समूहले आक्रमण गरेको बताए । उनका अनुसार आक्रमणकारीहरूको सम्बन्ध सुडान पिपल्स लिबरेसन आर्मी इन अपोजिसन (एसपीएलए–आईओ) सँग रहेको आरोप पनि उनले लगाए । एसपीएलए–आईओले भने आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै युनिटी राज्यका अधिकारीहरूले हिंसालाई राजनीतिक रंग दिएको आरोप लगाएको छ ।
मन्त्री मिजोकले बीबीसीलाई बताएअनुसार आक्रमणकारीहरू आइतबार बिहान मानिसहरू सुतिरहेकै बेला गाउँमा प्रवेश गरी अन्धाधुन्द आक्रमण गरेका थिए । आक्रमणकारीहरूले घर र बजारमा आगजनीसमेत गरेका थिए ।
मन्त्री मिजोकका अनुसार सरकारी सुरक्षाबलले पछि आक्रमणकारीहरूलाई धपाएकाले अहिले अवस्था पूर्णरूपमा नियन्त्रणमा छ ।
स्थानीय सञ्चारमाध्यम र एएफपी समाचार एजेन्सीका अनुसार मृतकको संख्या धेरै भएकाले र सुरक्षा अवस्था संवेदनशील रहेकाले आइतबार सामूहिक चिहान खनेर शव गाडिएको थियो ।
गत वर्ष पनि सोही गाउँमा यस्तै घटनामा ४२ भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो ।
शान्ति सैनिकले सघाए
संयुक्त राष्ट्रसंघले दक्षिण सुडान फेरि पूर्ण गृहयुद्धतर्फ धकेलिन सक्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
सन् २०११ मा स्थापना भएको विश्वकै कान्छो राष्ट्र दक्षिण सुडान स्थापना भएयता गृहयुद्ध, गरिबी र भ्रष्टाचारले ग्रस्त रहँदै आएको छ ।
दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघ मातहत नेपालबाट समेत शान्ति सैनिकहरु खटिने गर्दछन् । बीबीसीका अनुसार शान्ति सैनिकहरूले झडपमा घाइते भएका कम्तीमा २३ जनालाई आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन् ।
उनीहरुले शान्ति बहालका लागि सबै पक्षलाई तत्काल हिंसा रोक्न र संवादमा बस्न आह्वान गरेको छ ।
प्रतिक्रिया 4