+
+
Shares

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटीभीसहित मतगणनास्थल तयार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते ९:१९

२० फागुन, स्याङ्जा । यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्याङ्जामा मतगणनाको सम्पूर्ण तयारी पूरा गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा फरक–फरक स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला समन्वय समितिको हल) मा हुनेछ भने क्षेत्र नम्बर–२ को मतगणना क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालय (वालिङ् नगरपालिकाको कार्यालय) को हलमा गरिने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन विशेष प्रबन्ध गरिएको छ । मतगणकहरूलाई जालीभित्र राखेर सीसीटीभी क्यामेराको निगरानीमा मतगणना गरिनेछ । उम्मेदवारका प्रतिनिधिहरूलाई जालीबाहिरबाट प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी बस्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।

‘मतगणना सुरक्षित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको छ’, मुख्य निर्वाचन अधिकृत गौतमले भने ।

जिल्लाभर ११ स्थानीय तह र ९७ वडा छन् । स्याङ्जा क्षेत्र नम्बर-१ मा हरिनास गाउँपालिकाका ७, बिरुवा गाउँपालिकाका ८, फेदीखोला गाउँपालिकाका ५, आँधीखोला गाउँपालिकाका ६, अर्जुनचौपारी गाउँपालिकाका ६, पुतलीबजार नगरपालिकाका १४, भीरकोट नगरपालिकाका १-४ नम्बर वडा साथै वालिङ नगरपालिकाका ३ र ४ नम्बर वडा गरी ५२ वडा पर्छन् भने र क्षेत्र नम्बर–२ मा चापाकोट नगरपालिकाका १०, गल्याङ नगरपालिकाका ११, कालीगण्डकी गाउँपालिकाका ७, भीरकोट नगरपालिकाका १-४ नम्बर वडा बाहेकका ५ र वालिङ नगरपालिकाका ३ र ४ नम्बर वडा बाहेकका १२ वडा गरी ४५ वडा पर्छन् ।

जिल्लामा कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । तीमध्ये क्षेत्र नम्बर–१ मा ६४ हजार ७७५ पुरुष, ६६ हजार ११० महिला र एक जना अन्यसहित एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर २ मा ५७ हजार ६८९ पुरुष र ६० हजार २४१ महिला गरी एक लाख १७ हजार ९३० जना मतदाता रहेका छन् ।

क्षेत्र नम्बर–१ मा एक स्वतन्त्रसहित १२ जना र क्षेत्र नम्बर–२ मा दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १९९ मतदान केन्द्र र ३२२ मतदानस्थल रहेका छन् । कारागारमा रहेका बन्दीका लागि समानुपातिक मतदान गर्न एक अस्थायी मतदान केन्द्र पनि तोकिएको छ ।

३२३ मतदान स्थलमा सोमबारदेखि नै कर्मचारी र सुरक्षाकर्मी पुगेर तयारी थालेका छन् । निर्वाचनमा ३२३ मतदान अधिकृत, ३२३ सहायक मतदान अधिकृतसहित कुल १ हजार ९३५ जना कर्मचारी खटिएका छन् ।

जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा ५६ मतदानस्थललाई अति संवेदनशील, ७१ संवेदनशील र ७२ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेको छ । निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था पनि कडाइ गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?