+
+
Shares

६ परिकार, जुन विश्वभर लोकप्रिय छन्

पास्ता इटालीको परम्परागत खाना हो । रोचक कुरा के भने, हजारौं प्रकारमा थरीथरी तरिकाले पकाइन्छ । लामो, सानो, गोलो वा चौडा-आकार अनुसार नाम फरक हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पिज्जा इटालीको नेपल्सबाट उत्पत्ति भई सन् १८८९ मा रानी मार्गेरिटाको सम्मानमा विशेष पिज्जा बनाएपछि विश्वभर फैलिएको छ।
  • सुशी जापानको परिकार हो जुन चामल र ताजा माछासँग बनाइने र विश्वभर लोकप्रिय छ।
  • ह्याम्बर्गर अमेरिकाबाट विकास भएको फास्ट फुड हो जसले विश्वभर छिटो लोकप्रियता पाएको छ।

विश्वभरका स्वादका पारखीहरूबीच बारम्बार चर्चा हुने केही खानेकुरा छन्, जसले देश, भाषा र संस्कृतिको सिमाना पार गरेर सबैको मन जितेका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय स्रोत जस्तै, टेस्टएट्लास, सीएननहरूले गरेको सर्वेक्षणमा बारम्बार शीर्ष स्थानमा देखिने यी परिकारहरू केवल खाना मात्र होइनन्, आफ्ना देशको इतिहास, परम्परा र जीवनशैली बोकेका सांस्कृतिक धरोहर हुन् ।

इटालीको पिज्जा, पास्तादेखि जापानको सुशी, अमेरिकाको ह्याम्बर्गर, मेक्सिकोको टाकोस र भियतनामको फो परिकार विश्वभर प्रायः सबैले चिनेका र कुनै न कुनै रूपमा स्वाद लिएका छन् ।

यी खानेकुराहरू फरक–फरक रूप र स्वादमा सडक किनारका साना स्टलदेखि पाँचतारे होटलसम्म पाइन्छन् ।

१. पिज्जा (इटाली)

संसारभरका मानिसको जिब्रोलाई लोभ्याउने परिकार हो, पिज्जा । तातो–तातो पिज्जाबाट आउने सुगन्धले नै यसको पारखीहरुमा भोकले जगाउँछ ।

साथीभाइसँग भेटघाट होस् वा परिवारसँगको समय पिज्जा धेरैको पहिलो रोजाई हुन्छ । साधारण मार्गेरिटादेखि विभिन्न टपिङयुक्त विकल्पसम्म, पिज्जा सबै उमेरका मानिसको रुचिको परिकार बनेको छ ।

पिज्जा उत्पति इटालीको नेपल्स शहरबाट भएको मानिन्छ । सुरुमा पिज्जा विपन्न परिवारको साधारण खाना थियो, रोटीमाथि टमाटर र सानो चिज राखेर बनाइन्थ्यो ।

सन् १८८९ मा एक पिज्जा बनाउने व्यक्तिले इटालीकी रानी मार्गेरिटाको सम्मानमा रातो टमाटर, सेतो चिज र हरियो बेसिल राखेर विशेष पिज्जा बनाए । त्यसपछि यो झन् चर्चित भयो ।

दोस्रो विश्वयुद्धपछि यो अमेरिका पुग्यो र त्यहाँबाट विश्वभर फैलियो ।

पिज्जाको स्वाद कस्तो ?

पातलो र नरम बेसमाथि हल्का अमिलो टमाटर सस लगाइन्छ । माथि राखिएको मोजारेला चिज पग्लिएर तानिन्छ, जसले खाँदा मजा दिन्छ।

तुलसीको हल्का सुगन्ध र जैतूनको तेलले थप स्वाद दिन्छ । तातो–तातो पिज्जा खाँदा बाहिर हल्का क्रन्ची र भित्र नरम अनुभव हुन्छ । अहिले मासु, तरकारी, मशरूमदेखि अनेकौं टपिङ हालेर बनाइन्छ ।

२. सुशी (जापान)

जापानको चर्चीत परिकार हो, सुशी । परिकार जापानी भए पनि अहिले विश्वभर लोकप्रिय छ । सुरुमा माछा बचाइराख्न चामलसँग राख्ने चलन थियो । पछि चामल र ताजा माछासँगै खाइने परिकार बनेको हो । समयसँगै सुशी सजिलो र छिटो खाने स्ट्रीट फुडको रूपमा विकास भयो । अहिले साना रेस्टुरेन्टदेखि ठूला होटलसम्म सुशी पाइन्छ ।

सुशीको स्वाद कस्तो ?

सुशीको स्वाद ताजापनमा आधारित हुन्छ । भिनेगर मिसाइएको चामल हल्का अमिलो र मिठो हुन्छ । माथि राखिएको काँचो माछा नरम र रसिलो हुन्छ । सोया ससमा हल्का डुबाएर खाँदा नुनिलो स्वाद आउँछ । वासाबीले नाकसम्म पुग्ने तिखोपन दिन्छ भने अचार गरिएको अदुवाले मुख सफा गर्छ ।

केही रोलहरूमा एभोकाँडो वा काँक्रा राखिन्छ, जसले क्रिमी र कुरकुरे स्वाद थप्छ । सुशी पेट हल्का तर सन्तुष्टि दिने खानेकुरा भएकोले धेरैको रोजाइमा पर्छ ।

३. ह्याम्बर्गर (अमेरिका)

ह्याम्बर्गर अमेरिकाको सबैभन्दा लोकप्रिय फास्ट फुड हो । यसको नाम जर्मनीको ह्याम्बर्ग शहरबाट आएको भए पनि आजको स्वरूप अमेरिकामा विकास भएको हो । मासुको गोलो टुक्रा रोटीको बीचमा राखेर सजिलै खान मिल्ने भएकाले यो छिट्टै लोकप्रिय भयो । ठूला फास्ट फुड चेनहरूका कारण यो विश्वभर फैलियो ।

ह्याम्बर्गरको स्वाद कस्तो ?

राम्रो ह्याम्बर्गरमा हालिने रसिलो मासुको प्याटी मुख्य आकर्षण हुन्छ । ग्रिल गर्दा आउने धुवाँजस्तो सुगन्धले भोक बढाउँछ । टोस्ट गरिएको बन हल्का कुरकुरे हुन्छ ।
पग्लिएको चिज नरम र क्रिमी हुन्छ । लेटुस र टमाटरले ताजापन दिन्छ भने ससले मिठो–तिखो स्वाद थप्छ । एक टोकाइमै मासुको रस, चिजको नरमपन र तरकारीको क्रन्च मिसिन्छ ।

अहिले चिकेन, भेग र पनिर बर्गर पनि पाइन्छन् । सजिलो, पेटभर र स्वादिलो भएकाले ह्याम्बर्गर सबै उमेरका मानिसले मन पराउँछन् ।

४. पास्ता (इटाली)

पास्ता इटालीको परम्परागत खाना हो । रोचक कुरा के भने, हजारौं प्रकारमा थरीथरी तरिकाले पकाइन्छ । लामो, सानो, गोलो वा चौडा-आकार अनुसार नाम फरक हुन्छ । पहिले साधारण गहुँको पिठोबाट बनाइन्थ्यो । पछि टमाटर सस र विभिन्न सामग्री मिसाएर अनेक स्वाद बनाइयो । आज पास्ता विश्वभर घरघरमा छिटो र मिठो पकाइने परिकार बनेको छ ।

पास्ताको स्वाद कस्तो ?

पास्ताको स्वाद ससमा भर पर्छ । टमाटर सस भएको पास्ता हल्का अमिलो र मिठासयुक्त हुन्छ । सेतो क्रिमी सस भएको पास्ता नरम र गाढा स्वादको हुन्छ । पेस्टो ससमा तुलसीको हरियो सुगन्ध आउँछ । राम्रो पास्ता न धेरै गलिएको न धेरै कडा-मध्यम नरम हुन्छ । सस र पास्ता राम्रोसँग मिसिएपछि प्रत्येक गाँस समान स्वाद आउँछ । माथि छर्किएको चिजले थप स्वाद दिन्छ ।

५. टाकोस (मेक्सिको)

टाकोस मेक्सिकोको प्रसिद्ध स्ट्रीट फुड हो । मकैको पातलो रोटी (टोर्टिला)भित्र विभिन्न सामग्री राखेर बनाइन्छ । धेरै वर्षअघि स्थानीय मानिसहरूले मकैको रोटीमा माछा वा मासु राखेर खाने गर्थे । समयसँगै यसमा नयाँ स्वाद थपिँदै गयो र अहिले विश्वभर लोकप्रिय भयो ।

टाकोसको स्वाद कस्तो ?

तातो गहुँको पिठोको डल्लाभित्र राखिएको ग्रिल्ड मासु रसिलो र सुगन्धित हुन्छ । माथि राखिएको सानो काटिएको प्याज र धनियाले ताजापन दिन्छ । कागती निचोर्दा हल्का अमिलो स्वाद आउँछ । साल्साले तिखोपन थप्छ । एक गाँस नरम रोटी, रसिलो मासु र तिखो सस मिसिन्छ । केही टाकोसमा चिकेन, माछा पनि विकल्प पनि हुन्छ ।

६. फो (भियतनाम)

फो भियतनामको चर्चित चाउचाउको सुप हो । यो तातो रसमा चामलबाट बनेको चाउचाउ र मासु राखेर बनाइन्छ । पहिले सडक वरपर बेचिने साधारण खाना थियो, तर अहिले विश्वभर चर्चित छ । धेरै मानिसले यसलाई सान्त्वना दिने खाना मान्छन् ।

फोकोको स्वाद कस्तो ?

फोको मुख्य स्वाद यसको तातो र सुगन्धित रसमा हुन्छ । लामो समय पकाइएको रस गहिरो र मिठासयुक्त हुन्छ । नरम चामलका चाउचाउ सजिलै चपाउन मिल्छन् । पातलो काटिएको मासु तातो रसमा नरम हुन्छ ।

माथि राखिने धनिँया, तुलसी र कागतीले ताजापन दिन्छ । चाहिनेले खुर्सानी वा सस थप्न सक्छ । एक चम्चा रस पिउँदा शरीर न्यानो हुन्छ र मन सन्तुष्ट हुन्छ । हल्का तर पेटभरी हुने भएकाले फो धेरैको मनपर्ने परिकार बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?