२१ फागुन, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका-४ मा विवादका कारण रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । हराएका मतपत्र पनि सबै फेला नपरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
मतदानको क्रममा विवाद बढेपछि दलगत कार्यकर्ताहरूबिच झडप भएको थियो । उनीहरूले कर्मचारीमाथि हातपातको समेत प्रयास भएपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो । सोही क्रममा मतपत्र समेत हराएको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले हराएका मतपत्रहरूको खोजी जारी रहेको जानकारी दिए ।
‘५४/५५ वटा मतपत्र हराएकोमा ४४ वटा फेला परेका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी आलेले भने, ‘अरू मतपत्रको पनि खोजी जारी छ ।’
उनले मतदान सुरु गर्नका लागि दलका प्रतिनिधिबिच छलफल भइरहेको जानकारी दिए ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही बुथ एजेन्टहरूलाई नियन्त्रणमा लिएको छ । तामाकोशी-४ का यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ, अर्जुन योगी लगायत प्रहरी नियन्त्रणमा छन् ।
तर स्थानीय प्रशासनले भने मतपत्र लुटिन थालेपछि बुथ एजेन्टलाई सुरक्षित ठाउँमा लगेर राखिएको जनाएको छ ।
प्रतिक्रिया 4