+
+
Shares

लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

देशभर ३१ वटा वायु गुणस्तर मापन केन्द्र स्थापना भए पनि १२ वटा मात्रै सक्रिय रहेको वातावरण विभागले जनाएको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ फागुन २६ गते १९:००

२६ फागुन, बुटवल । वायु गुणस्तर मापनका आधारमा संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा पुग्दा लुम्बिनी प्रदेशका मुख्य सहरमा वायु प्रदूषणको अवस्था यकिन गर्न सकिएको छैन ।

लुम्बिनी प्रदेशका चार स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना भए पनि हाल दाङ देउखुरीको मात्र सञ्चालन छ । जसका कारण घना जनघनत्व भएका बुटवल, भैरहवा र नेपालगन्ज लगायतका सहरहरूमा वायु प्रदूषणको मात्रा कति छ भन्ने यकिन हुन नसकेको हो ।

काठमाडौंको हावाको गुणस्तर सूचकांक १९० भन्दा माथि पुगेको छ, जुन मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ ।

बुटवल, भैरहवा र नेपालगन्ज लगायत औद्योगिक-व्यावसायिक सहरहरू भारतसँग सीमा जोडिएका कारण यहाँको वायु प्रदूषण मात्रा पनि उच्च हुनसक्ने प्रदेश सरकारका वातावरण निरीक्षकको अनुमान छ । तर प्रदूषणको स्तर मापन हुन नसक्दा नागरिकहरू आफ्नो स्वास्थ्य अवस्थामा पर्न सक्ने असरबारे अनविज्ञ हुन बाध्य छन् ।

लुम्बिनी प्रदेशका बुद्ध जन्मस्थल लुम्बिनी, नेपालगन्ज, घोराही र देउखुरी गरी ४ मध्ये देउखुरीको केन्द्रले मात्रै सक्रिय रूपमा वायु गुणस्तर मापन गरिरहेको प्रदेशको वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले बताए ।

प्रदूषणको स्तर मापन हुन नसक्दा नागरिकहरू आफ्नो स्वास्थ्य अवस्थामा पर्न सक्ने असरबारे अनविज्ञ हुन बाध्य छन् ।

उनका अनुसार पछिल्लो देउखुरी आसपासमा मंगलबार दिउँसो पछिल्लो २४ घण्टाको औसत वायुको गुणस्तर एक्यूआई १६५ रहेको छ भने आज दिउँसोको मात्रा ११४ रहेको छ । एक्यूआईको मात्रा २०० माथि हुँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ भने ३०० माथि पुग्दा अति हानिकारक हुने वातावरण निरीक्षक चौधरीले बताए ।

‘दाङभन्दा रुपन्देहीका बुटवल, भैरहवा र नेपालगन्ज औद्योगिक सहर र भारतको सीमा नजिक भएकाले ती सहरहरूको वायु प्रदूषण स्वतः बढी हुन्छ । तर वायु गुणस्तर मापन केन्द्रहरू रूपले सञ्चालन हुन नसकी बन्द भएकाले कुन स्तरमा प्रदूषण छ भन्ने भन्न सकिने अवस्था छैन ।’

पछिल्लो २४ घण्टामा वायु गुणस्तर मापनको सूचक पीएम २.५ को मात्रा ८३.२ माइक्रोग्राम/घनमिटर रहेको चौधरीले बताए । पछिल्लो २४ घण्टामा देखिएका पीएम २.५ को मात्रालाई वायु गुणस्तर सूचाङ्क (एअर क्वालिटी इन्डेक्स अर्थात् एक्यूआई गणितीय हिसाबले परिणत गर्दा देउखुरीसहित सबै सक्रिय देशभरका १२ वटा स्टेसनको वायु गुणस्तर अस्वस्थ्यकर तहमा रहेको चौधरीले बताए ।

‘अस्वस्थकर तह रहेको वायु गूणस्तरको स्केल १५१–२०० सम्म हो, यस तहमा दम, मुटु र उच्च रक्तचाप समस्या भएका व्यक्तिहरूलाई प्रत्यक्ष असर गर्छ र बालक, वृद्ध, अशक्त लगायत अन्य सबै व्यक्तिलाई अप्रत्यक्ष रूपमा असर गरेको हुन्छ,’ वातावरण निरीक्षक चौधरीले भने, ‘स्वस्थ वायु गुणस्तरको सूचाङ्क ० देखि ५० सम्मको हुन्छ र २०० भन्दामाथि अत्यन्त अस्वस्थकर मानिन्छ ।’

वायु गुणस्तर सूचाङ्क अर्थात् एक्यूआईको तहअनुसार नागरिकहरू घर भित्रै बस्ने, बाहिर कति निस्कने वा कतिसम्म शारीरिक क्रियाकलाप गर्ने, बालबालिका, वृद्ध एवं स्वास्थ्य जोखिममा रहेकाहरूको क्रियाकलाप कतिसम्म सीमित गर्ने वा कस्तो वायु भएको बेला विपद्को रूपमा नै लिने, सो स्थानमा जाने कि नजाने ? जाने भए कति समय भित्र निस्किने ? जाँदा के–कस्तो सावधानी लिएर जाने ? जस्ता सुझाव सरकारी निकायले दिनुपर्ने हो । तर मापन केन्द्र सञ्चालनमा नहुँदा नागरिकको स्वास्थ्यमाथि खेलबाड भएको चौधरीले औँल्याए ।

वातावरण विभागका वातावरण निरीक्षक प्रकाश केसीले काठमाडौँसहित देशभर ३१ वटा वायु गुणस्तर मापन केन्द्रहरू जडान गरिएको भए पनि जम्मा १२ वटा मात्रै सक्रिय रहेका बताए ।

१२ मध्ये काठमाडौं उपत्यकामा ६ वटा सक्रिय छन् भने भक्तपुर र इलाममा रहेका स्टेसनहरूले सबैभन्दा उच्च पीएम २.५ (दुवै स्थानमा १०३ माइक्रोग्राम/घनमिटर) रेकर्ड गरेको देखिन्छ । केसीका अनुसार बन्द भएका वायु गुणस्तर मापन केन्द्रका मेसिनरी यन्त्रहरूको मर्मत–सम्भार भइरहेकाले सञ्चालनमा आउन समय लाग्नेछ ।

वायु गुणस्तरको अवस्था सर्वसाधारणले सूचनाको हकको रूपमा हेर्न पाउने व्यवस्था मिलाउन, वायु गुणस्तर सूचाङ्कबमोजिम प्रदूषणको स्रोत र प्रदूषण  नियन्त्रण गर्न अधिकार प्राप्त निकाय गठन गर्न, सम्बन्धित क्षेत्रका जनशक्ति बढाउन र आपतकालीन घोषणासमेत गर्न सक्ने कानुनी संयन्त्रको विकास गर्न जरुरी रहेको वातावरण निरीक्षक चौधरीको सरकारलाई सुझाव छ ।

विश्व बैंकले यसै वर्ष प्रकाशन गरेको वायु प्रदूषणसम्बन्धी एक प्रतिवेदनमा नेपालमा विशेषतः काठमाडौं उपत्यका र समग्र तराई क्षेत्रमा वायु प्रदूषण बढ्दै गएको देखाएको छ ।

लुम्बिनी प्रदेशमा १२ जिल्लाको वातावरण र वायु प्रदूषणको अवस्था हेर्ने एक जना मात्र वातावरण निरीक्षक चौधरी हुन् । वातावरण विभागमा पनि १०–१२ जना मात्र वातावरण निरीक्षक रहेकाले जनशक्ति अपर्याप्त र तीनै तहका सरकारले न्यून बजेट विनियोजन गर्दा वातावरण संरक्षण तथा वायु प्रदूषण नियन्त्रणका क्षेत्रमा अपेक्षाकृत काम हुन नसकेको विभागका वातावरण निरीक्षक केसीले बताए ।

विश्व बैंकले यसै वर्ष प्रकाशन गरेको वायु प्रदूषणसम्बन्धी एक प्रतिवेदनमा नेपालमा विशेषतः काठमाडौं उपत्यका र समग्र तराई क्षेत्रमा वायु प्रदूषण बढ्दै गएको देखाएको छ ।

प्रतिवेदनबमोजिम नेपालका तराई क्षेत्रको पनि दक्षिणी क्षेत्र परासी, बुटवल, भैरहवा वायु प्रदूषणको चपेटामा परेको देखिन्छ । सोही प्रतिवेदनले नेपालमा प्रत्यक्ष रूपमा वायु प्रदूषणले गर्दा बर्सेनि २६ हजार मानिस मृत्यु भइरहेको र नेपालीको औसत आयु करिब ३.५ वर्षले घटिरहेको जनाएको छ ।

वायु प्रदूषणले गर्दा उच्च रक्तचाप, मुटुसम्बन्धी रोगहरू, फोक्सो संक्रमण र क्यान्सर, मधुमेह जस्ता रोग निम्त्याउने वरिष्ठ फिजिसियन डा. नन्दुप्रसाद पाठक बताउँछन् ।

‘वायु प्रदूषणमा धुलोका अति साना कणहरू, कार्बन मोनोअक्साइड, ओजोन र नाइट्रोजन डाइअक्साइड जस्ता हानिकारक रसायनहरू मिसिएका हुन्छन् । यी कण यति मसिना हुन्छन् कि हाम्रो नाक र घाँटीको सुरक्षा प्रणालीलाई समेत पार गरेर सिधै फोक्सोको भित्री भागसम्म पुग्छन्,’ डा. पाठक भन्छन्, ‘तीनै तहका सरकारले वायु प्रदूषणको असरबाट हुने क्षति नियन्त्रणलाई प्राथमिकतामा राख्न जरुरी छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?