+
+
Shares

पोखरामा अवैध ‘ट्रान्स पार्टी’, ३८ जना समातिँदा १२ जनाविरुद्ध मुद्दा

पोखरामा यसअघि पनि प्रहरीको आँखा छलेर विभिन्न ठाउँमा ट्रान्स पार्टी हुने गरेका थिए । यद्यपि धेरैपछि मात्रै यति ठूलाे संख्यामा पार्टी गर्नेहरु पक्राउ परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १७:०८

१७ चैत, पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमाथि रहेको सेदीको जंगल छ । त्यही जंगल नजिकैको एक पुरानो घरमा सोमबार अर्कै उत्सव चल्दैथियो ।

रात छिप्पिँदै जाँदा जंगलमा बत्ती बल्नथाले । सँगै संगीत बज्न थाल्यो । र, झुम्न थाल्यो युवाको जमात । जसमा मादक पदार्थ, ड्रग, लागु औषध सबै उपलब्ध थियो ।

त्यो उत्सवमा सम्बन्धका कुनै सीमा थिएनन् । उपस्थित युवा एक-अर्कासँग नजिकिँदै गएर परस्पर अँगालोमा पुगिसकेका थिए । त्यहाँ ब्राजिल, भारतदेखि नेपाली नागरिकसम्म थिए ।

ठ्याक्कै त्यही बेला अकस्मात् प्रहरी पुग्यो । एकाएक माहौल अशान्त बन्यो । त्यहाँ प्रहरी पुग्नुको कारण ‘ट्रान्स पार्टी’ भएर हो । ट्रान्स पार्टी नेपालमा अवैध मानिन्छ ।

प्रहरीका अनुसार त्यो ट्रान्स पार्टी कम्तीमा ७२ घण्टा चल्ने तयारी थियो । तर, पहिलो दिन नै उनीहरू प्रहरीको निगरानीमा परे । गोप्य संयन्त्र खडा गरेर त्यो जमातले सेदीको जंगलमा ट्रान्स पार्टी आयोजना गरेका थिए । जसको सूचना प्रहरीले पायो ।

सूचना पाउनासाथ जिल्ला प्रहरी, वडा प्रहरी कार्यालय बैदाम र लागु औषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोली राति साढे १ बजे पार्टी स्थलमा पुगेको हो ।  प्रहरीले त्यहाँबाट ३८ जनालाई समात्यो ।

‘प्रहरी टोली पुग्दा विदेशी र नेपाली युवायुवती लागु औषधको नशामा रमाइरहेका थिए,’ एक प्रहरी अधिकारीले भने, ‘त्यहाँ थरी थरीका लागु औषधसमेत भेटियो । त्यसपछि ट्रान्स पार्टी नै भएको निष्कर्षमा हामी पुग्यौँ ।’ सोही क्रममा केही बेर प्रहरी र पार्टीकर्ताबिच केही बेर विवाद भएको थियो ।

प्रहरीले त्यहाँबाट एमडीएमए, चरेस, कोकिनजस्तो देखिने सेतो धुलो, खैरो हेरोइन जस्तो पदार्थ, ‘आइस’ (एम्फेटामिन जस्तो देखिने पदार्थ), गाँजा, म्याजिक मसरुम, एलएसडी (लाइसर्जिक एसिड डाइथाइलामाइड) कागज र तरल फेला परेको प्रहरीले जनाएको छ ।

१२ जनामाथि मुद्दा, २६ छाडिए

प्रहरीले पक्राउ परेका ३८ जनामध्ये १२ जनालाई मुद्दा चलाउने निष्कर्ष निकालेको छ । बाँकी २६ जनालाई भने सोधपुछ गरेर छाडेको छ ।

मुद्दा चलाइएकामा भारतीय नागरिक ३१ वर्षीया श्रृष्टी चन्द र ३५ वर्षीय अनुभव शर्मा छन् ।  यस्तै पोखरा–६ का २७ वर्षीय विशाल परियार, पोखरा–५ प्रस्याङका २५ वर्षीय आशिष दर्जी, पोखरा–६ का ३२ वर्षीय बमेन्द्र पुन, दाङका २९ वर्षीय सौरभ महरा, काठमाडौंका २१ वर्षीय निकुञ्ज कार्की, ३१ वर्षीय सक्षम कोइराला, ३१ वर्षीय रोशन अधिकारी, २८ वर्षीय विवेक परियार र २६ वर्षीय सौरभ भनिने लोकबहादुर घर्तीमगरमाथि पनि प्रहरीले मुद्दा चलाउने निष्कर्ष निकालेको छ ।

यस्तै ब्राजिलका नागरिक ४८ वर्षीय चार्ल्स गुवाइवामाथि पनि मुद्दा चलाउने प्रहरीको तयारी छ ।

पोखरामा यसअघि पनि प्रहरीको आँखा छलेर विभिन्न ठाउँमा ट्रान्स पार्टी हुने गरेका थिए । यद्यपि धेरैपछि मात्रै यति ठूलाे संख्यामा पार्टी गर्नेहरु पक्राउ परेका हुन् ।

२०७५ चैतमा पोखराको खहरेमबाट ४४ जना नेपाली र विदेशी पक्राउ परेका थिए । २०६९ सम्म पोखराको फूलबारी रिसोर्टमै ट्रान्स पार्टी हुने गरेको तथ्यले देखाएको थियो । अहिले फूलबारी बन्द ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?