Comments Add Comment

निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार छ : महेश बस्नेत

FNCCI-with-Mahesh-basnet
१ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ऐन कानुन औद्योगिक मैत्री नभएको बताउँदै त्यसलाई समयसापेक्ष बनाउन सरकारसँग आग्रह गरेको छ ।

महासंघले नवनियुक्त उद्योगमन्त्री महेश बस्नेतसँग २३ वर्षअघि बनाइएको ऐनमा समसामयिक सुधार गर्नुपर्ने र मस्यौदा भएको नयाँ औद्योगिक व्यवसाय ऐन यथाशीघ्र ल्याउन आग्रह गरेको हो ।

महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले निजीक्षेत्रसँग सम्बन्धित बजेटमा समेत उल्लेख भएको तीन दर्जनजति ऐन कानुन तत्काल निर्माण गर्न आग्रह गरे ।

उनले सरकारी निकायमा समन्वय नहुँदा त्यसको असर निजीक्षेत्रमा पर्ने भएकाले एकद्वार प्रणालीबाट काम सम्पादन हुने गरी अभिभावकत्व ग्रहण गर्न मन्त्रालयसंग आग्रह गरे ।

‘भारतमा औद्योगिक कानुनले निजीक्षेत्रलाई धेरै प्रोत्साहन गरेको छ, सहुलियत दिएको छ’ पाण्डेले भने- ‘नेपालका ऐन कानुन हेर्ने हो भने लगानी बढ्नु त परै जावस, भएका उद्योगहरुको पनि भविष्य धरापमा परेको छ ।’

उनले राजनीतिक दलका ट्रेड युनियनका कारण पनि समस्या थपिएको भन्दै त्यसको निराकरणका लागि दिर्घकालीन समाधान खोजिनुपर्ने बताएका छन् ।

सो अवसरमा उद्योगमन्त्री महेश बस्नेतले निजीक्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ भन्नेमा सरकार विश्वस्त रहेको बताए ।

ऐन कानुन, पूर्वाधार विकास, उर्जाजस्ता क्षेत्रमा गर्नुपर्ने कामका विषयमा निजीक्षेत्रसँग परामर्श गरी अघि बढ्न तयार भएको बताउँदै मन्त्री बस्नेतले कुनै असमझदारी भए परामर्शबाट सुल्झाउन आग्रह गरे ।

FNCCI-with-Mahesh-basnet-2

उद्योग सचिव उत्तम भट्टराईले मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलमा  रहेको औद्योगिक व्यवसाय ऐनको मस्यौदाले निजीक्षेत्रका हक अधिकार सुरक्षित गरेको भन्दै हतोत्साही नहुन आग्रह गरे । उनले अधिकार खोज्दा कर्तव्य नविर्सन समेत व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, समिति सभापति उमेश श्रेष्ठ, कार्यसमिति सदस्य अन्जान श्रेष्ठले अनावश्यक ठाउँमा भ्याट र कर लगाएर सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको बताए । सो अवसरमा महासंघका महानिर्देशक डा. हेमन्त दवाडी पनि सहभागी थिए ।

‘प्लाष्टिक उद्योग संरक्षण गरिदेउ’

यसैबीच प्लास्टिक उद्योग संघको नवनिर्वाचित प्रतिनिधिमण्डलले महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेसँग भेट गरी प्लास्टिक उद्योगको संरक्षण गरिदिन आग्रह गरेको छ ।

विना अध्ययन सरकारले आगामी वर्षभित्र प्लास्टिक झोला उद्योगमा प्रतिबन्ध लगाउन खोजेको र त्यसबाट अर्बौंको लगानी डुब्ने भन्दै ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष शरद शर्माको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले देशभर सयभन्दा बढी प्लास्टिक उद्योग रहेको र हजारौंको रोजगार डुब्ने खतरा रहेको जानकारी गरायो ।

अध्यक्ष पाण्डेले उद्योगीहरुको सरोकारप्रति आफू सचेत रहेको भन्दै त्यसका लागि उपयुक्त बाटो खोज्न सघाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले महासंघले समेत प्लास्टिकमुक्त शहरका कार्यक्रममा सघाउँदै आएको जानकारी गराउँदै यसको स्थायी विकल्पतर्फ सोच्न व्यवसायीहरुले अग्रसर हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment