News Summary
Generated by OK AI. Editorially reviewed.- अप्रिल १५ लाई पहिलोपटक अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने तयारी तीव्र बनाइएको छ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरिका ७५३ स्थानीय तह र सात प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने गरी आरोग्य दिवस मनाउने निर्णय गरेको छ।
- नेपालले संयुक्त राष्ट्र संघ महासभाबाट अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गराएको छ, जसले समग्र आरोग्य अवधारणालाई विश्वस्तरमा सुदृढ बनाउने छ।
१९ चैत, काठमाडौं । १५ अप्रिलमा पहिलो पटक मनाउन लागिएको अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस तयारी तीव्र बनाइएको छ ।
जसअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय आरोग्य दिवस आयोजक समिति बैठकले अप्रिल १५ (२ वैशाख २०८३) देशभरिका ७ सय ५३ वटै स्थानीय तह र सात प्रदेशमा प्रभावकारी, सहभागितामूलक र दीर्घकालीन प्रभाव पार्ने गरी मनाउने निर्णय गरेको छ ।
बैठकमा सहभागीले आरोग्य दिवसलाई औपचारिक कार्यक्रममा सीमित नगरी राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
उनले आरोग्यलाई राष्ट्रिय गौरव, जनजीविका र दीर्घकालीन विकाससँग जोड्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले योग र ध्यानका गुरु भगवान शिव भएको उल्लेख गर्दै योग परम्परासँग जोडिएको पवित्र स्थल पशुपतिनाथको सन्दर्भ उठाउँदै वेलनेसलाई केवल प्रचारमा सीमित नराखी जनजीविकासँग जोड्नुपर्ने बताए ।
‘नागरिकमा बढ्दो निराशा अन्त्य गर्न र राष्ट्रिय गौरव जोगाउन वेलनेस आवश्यक छ, हामीले वेलनेस पर्यटन अरूलाई बेच्नुअघि आफ्नै मूल्य चिन्नुपर्छ,’ उनले भने, ‘यो सुरुवात मात्र हो, लामो यात्रा बाँकी छ, तर आधारभूत संरचना, मौलिकता र हाम्रो पहिचान जोगाउँदै अघि बढ्न सके वेलनेस नेपालको समृद्धिको नयाँ आधार बन्ने छ ।’
प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले वेलनेसलाई नेपालको आध्यात्मिक परम्परा र सांस्कृतिक मौलिकतासँग जोडेर अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।
उनले कार्यक्रमलाई प्रभावकारी बनाउन परम्परागत सोचभन्दा फरक र परिणाममुखी दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे । निरोगी जीवन र स्वस्थ समाज निर्माणमा टेवा पुर्याउने वेलनेसलाई दीर्घकालीन रूपमा मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने उनको धारणा थियो ।
‘वेलनेसलाई व्यवहारमा उतार्न हामीले क्षेत्रगत ढाँचामा काम गर्नुपर्छ, विद्यालयमा ध्यान अभ्यास, होटल क्षेत्रमा स्वस्थ खानपान र हिमाली क्षेत्रमा माइन्डफुलनेससँग जोडिएका गतिविधिले छोटो समयमा नै व्यापक सन्देश दिन सक्छन्,’ उनले भने ।
त्यसैगरी मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले आरोग्यलाई नेपालको ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्न सकिने उल्लेख गरे ।
‘यो केवल एक दिवस होइन, नेपालको मौलिक ज्ञान, संस्कृति र जीवनशैलीलाई विश्वभरि फैलाउने ऐतिहासिक अवसर हो,’ उनले भने, ‘आजको बैठक मार्फत जिम्मेवारी बाँडफाँट गर्दै कार्यान्वयनलाई स्पष्ट बनाइएको छ ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले वेलनेस पर्यटन नेपालको प्रमुख सम्भावना भएको उल्लेख गरे ।
‘नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाले हामीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाएको छ , अब वेलनेस पर्यटन उत्पादन विकास, प्याकेजिङ र प्रवर्द्धनलाई सशक्त बनाउँदै नेपालको आम्दानीको मुख्य धारा बनाउने समय आएको छ,’ जोशीले भने, ‘त्यसका लागि हामीले देशभित्र र बाहिर यस दिवसलाई भव्यताका साथ मनाउनुपर्ने आजको आवश्यकता हो ।’
वेलनेस पर्यटनका सम्भावना र अवसरबारे प्रस्तुति दिँदै सुदीप बैजुले नेपाललाई विश्वकै प्रमुख वेलनेस गन्तव्यका रूपमा विकास गर्न सकिने बताए । उनले योग, आयुर्वेद, ध्यान र आध्यात्मिक अभ्यासजस्ता मौलिकतालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सके उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्न सकिने धारणा राखे ।
जीवन विज्ञानका संस्थापक सदस्य एलपी भानुले वेलनेस जीवन जिउने कला भएको उल्लेख गर्दै विश्वले खोजेको र नेपालले दिन सक्ने मुख्य विषय भएको उल्लेख गरे ।
नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघ महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा घोषणा गरेको थियो । जुन नेपालका लागि एक महत्त्वपूर्ण कूटनीतिक उपलब्धि मानिएको छ ।
यो निर्णयले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय सन्तुलनका रूपमा परिभाषित गर्दै ‘समग्र आरोग्य’ अवधारणालाई विश्वस्तरमा सुदृढ बनाउन टेवा पुर्याउने छ ।
नेपालको पर्यटन आम्दानी ६१ करोड २० लाख अमेरिकी डलर रहेकोमा वेलनेस पर्यटनको हिस्सा २ करोड ५० लाख डलर (करिब ४ प्रतिशत) छ ।
प्रतिक्रिया 4