News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले नियमित कारोबार समयपछि पनि सेयर खरिद बिक्री आदेश दिन सकिने व्यवस्था गर्न लागेको छ।
- नेप्सेले कारोबार समय ३ बजे सकिएपछि साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म अर्डर प्रविष्ट गर्न प्रस्ताव गरेको छ।
- धितोपत्र बोर्डले सेयर बजारको सर्किट ब्रेकरको सीमा ८ प्रतिशत पुर्याउने विनियमावली संशोधन प्रस्ताव गरेको छ।
२२ चैत, काठमाडौं । धितोपत्र बजारको नियमित कारोबार समयभन्दा अघिपछि पनि खरिद बिक्री आदेश गर्न पाइने व्यवस्था हुने भएको छ । विदेशमा रहेका नेपाली र कार्यालय समयमा सेयर कारोबार गर्न नपाउनेलाई सहज हुनेगरी यस्तो व्यवस्था गर्न लागिएको हो ।
कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नपाएको गुनासो सुनवाई गर्न नियमित कारोबार समय पछि पनि अर्डर गर्न सकिने व्यवस्था गर्न लागिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए ।
धितोपत्रको दोस्रो बजारमा पर्याप्त तरलता कायम गर्न तथा कारोबारको आकार समेत बढाउन यसले मद्दत गर्ने श्रेष्ठको भनाइ छ । ‘नेप्सेको नियमित कारोबार दिउँसो ३ बजे बन्द हुन्छ, नयाँ व्यवस्थापछि बजार बन्द भए पनि खरिद बिक्री आदेश प्रविष्ट हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि नेप्सेले पठाएको कारोबार विनियमावलीको संशोधन प्रस्ताव पनि स्वीकृत हुने चरणमा छ ।’ धितोपत्रको प्राथमिक बजारका लगानीकर्ता दोस्रो बजारमा प्रवेश गराउनलाई पनि ‘अफ आवर’ खरिद/बिक्री आदेशको व्यवस्था गर्न लागिएको उनले बताए ।
नेप्सेको नियमित कारोबार सकिएपछि खरिद/बिक्री आदेश दिनेले सोही दिनको अन्तिम मूल्यका आधारमा तोकिए अनुसार मूल्य घटाइ वा बढाइ खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था प्रस्ताव गर्दै धितोपत्र बोर्डमा पठाएको नेप्सेका एक अधिकारीले बताए । नेप्सेको नियमित कारोबार ३ बजे सकिन्छ भने साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको आदेश प्रविष्टको समय दिने व्यवस्था गर्न प्रस्ताव गरिएको ती अधिकारीको भनाइ छ ।
यसरी खरिद/बिक्री आदेश दिँदा कम्पनीहरुको सेयर मूल्यको हकमा अन्तिम मूल्यमा २ प्रतिशत बढी वा घटी गरेर मूल्य तोक्न सकिने जानकारी उनले दिए । नेप्सेले पनि आफ्नो कारोबार प्रणाली सो अनुसार तयार गरिसकेको उनले बताए । हाल नेप्सेमा बिहान १० ः ३० देखि १० ः ४५ सम्म प्रिकारोबार हुन्छ भने ११ बजेदेखि ३ बजेसम्म नियमित बजार खुल्छ । सो समयमा मात्र अर्डर दिन सकिने व्यवस्था छ ।
साधारण सेयरमा वैदेशिक रोजगारीमा भएकालाई आरक्षण नै छ । तर, ती लगानीकर्ताले दोस्रो बजारमा कारोबार गरेका छैनन । यो व्यवस्थाले गैरआवासीय नेपालीका लागि पनि थप सहज व्यवस्था बन्ने छ । यसले धितोपत्र बजारमा गैरआवासीय लगानीकर्ताको प्रवेश गराउन पनि सहज हुने नेप्सेका अधिकारीको भनाइ छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीलाई कारोबार गर्न अनुमति दिने सुझाएको छ ।
त्यसको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ दफा ९ र १० परिमार्जन गरी पूँजी लगानी कोष खडा नगरिकन व्यक्तिगत रुपमा नै गैरआवासीय नेपाली नागरिकता परिचयपत्रको आधारमा कारोबार गर्न दिने व्यवस्था गर्न सुझाएको छ । त्यसैगरी आयोगले दोस्रो बजारमा सेयर खरिदका लागि लगानीकर्ताले भित्र्याएको रकमको एक वर्षमा दुई पटक पचास प्रतिशतसम्म रकम फिर्ता लान सक्ने व्यवस्था गर्नुपर्ने सुझाएको छ ।
सो विनियमावली स्वीकृतिका लागि बोर्डले सोमबार सञ्चालक समितिको बैठक समेत आह्वान गरिसकेको छ । धितोपत्र बजारमा नविनतम अभ्यास भित्र्याउने र चलायमान बनाउने काम ढिला नगरी गर्न अर्थमन्त्रीको निर्देशन अनुसार काम अघि बढेको श्रष्ठको भनाइ छ ।
सर्किट ब्रेकरको माथिल्लो सीमा ८ प्रतिशत
नेपाल धितोपत्र बोर्डले सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको उतारचढाव नियन्त्रण गर्ने (सर्किट ब्रेकर) खुकलो बनाउँदै ८ प्रतिशत पुर्याउने भएको छ । बोर्डले नेप्सेको कारोबार विनियमावलीको संशोधनलाई अन्तिम रुप दिँदै सर्किट ब्रेकरको सीमा थप २ प्रतिशत विन्दुले बढाएको हो ।
जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनालको पहलमा सेयर बजार सुधार सुझाव कार्यदल गठन भएको थियो । बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार सर्किट ब्रेकर सम्बन्धी व्यवस्था थप खुकुलो बनाउने अन्तिम चरणमा पुगेको हो ।
कायदलले हाल प्रचलनमा रहेको नेप्से सूचकांकलाई इक्वीटी इन्डेक्सको रुपमा कायम राखी कारोबारयोग्य सेयरहरूको आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई बेञ्चमार्क सूचकांकको रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्न सुझाएको थियो ।
बोर्ड स्रोतका अनुसार सोमबारको सञ्चालक समितिमा प्रस्ताव जाने उक्त विनियमावलीमा सर्किट ब्रेकरको सीमा २ प्रतिशत बिन्दुले बढाइएको छ ।
अहिले कारोबारको पहिलो एक घण्टाभित्रमा ४ प्रतिशत नेप्से बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्छ र कारोबार २० मिनेट स्थगित हुन्छ । त्यस्तै दोस्रो पटक खुलेको बजारमा ५ प्रतिशत नेप्से बढेमा वा घटेमा दोस्रो सर्किट ब्रेक लाग्छ र ४० मिनेटसम्मका लागि कारोबार स्थगित गरिन्छ । त्यसपछि खुलेको बजार सूचकमा ६ प्रतिशतको वृद्धि वा गिरावट भएको खण्डमा दिनभरीका लागि कारोबार बन्द गर्ने अभ्यास छ । पहिलो र दोस्रो सर्किटपछि ‘इन्टरभल’ समय राखिएको छ । सो समयपछि मात्रै कारोबार हुने गर्छ ।
नयाँ प्रस्तावअनुसार सर्किट ब्रेक लाग्ने दरको सीमा ४, ६, ८ प्रतिशतमा रहेको बोर्डका ती अधिकारी बताउँछन् । हालको सर्किट ब्रेकर सम्बन्धी व्यवस्था कारोबार विनियमावलीको विनियम १७ मा उल्लेख छ । सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो । समग्र सूचकको हकमा सर्किट ब्रेकर प्रयोग हुन्छ भने कम्पनीको सेयर मूल्यको हकमा अधिकतम १० प्रतिशतसम्मको उतारचढाव सीमा तोकिएको छ ।
प्रतिक्रिया 4