+
+
Shares

सातामै लगानीकर्ताले गुमाए साढे ४ खर्ब, कहाँ थामिएला बजारको पहिरो ?

यतिबेला बजार घट्नुको प्रमुख कारण सरकारले व्यवसायीलाई गरेको धरपकड हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान कार्य प्रभावकारी बनाउन भन्दै कतिपय व्यवसायीका सम्पत्ति रोक्का भएको छ भने केही पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते २१:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ सरकार गठन भएयता सेयर बजार नेप्से ९.५९ प्रतिशत (२८४ अंक) घटेर २६७६ मा झरेको छ।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धानका कारण ठूला व्यवसायीमाथि धरपकड हुँदा बजारमा मनोवैज्ञानिक असर परेको छ।
  • लगानीकर्ताले पूँजीबजार सुधारका काम तीव्रता दिन सरकारलाई दबाब दिइरहेका छन्।

२२ चैत, काठमाडौं । नयाँ सरकार गठन भएयता सेयर बजार त्रसित छ, जसले गर्दा सरकार सरकारको बनेको एक साता अवधिमै बजार परिसूचक नेप्से ९.५९ प्रतिशत (२८४) अंक घटिसकेको छ ।

समग्रमा यो बीचमा लगानीकर्ताको सम्पत्ति मूल्य ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर घटेको छ । सरकार गठन हुनुअघि सेयर परिसूचक नेप्से २९६० अंक पुगेको थियो ।

अघिल्लो आइतबारदेखि घट्न थालेको बजार यो आइतबारको कारोबारपछि २६७६ मा झरेको छ । नयाँ सरकार गठनअघि सेयर बजारमा कुल सम्पत्ति मूल्य अर्थात् बजार पूँजीकरण ५० खर्ब रुपैयाँ रहेकोमा अहिले ४५ खर्ब ५० अर्बमा झरेको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार एकैदिन ३.७९ प्रतिशत (१०५ अंक) घटेको हो । बजारमा ठूलो अंकको गिरावट आइरहँदा बजारमा आबद्ध सबै त्रसित छन् ।

कतिपयले उच्च नोक्सानी बेहोरेरै सेयर बेच्न बाध्य भएका छन् । यतिबेला बजार घट्नुको प्रमुख कारण सरकारले व्यवसायीलाई गरेको धरपकड हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान कार्य प्रभावकारी बनाउन भन्दै कतिपय व्यवसायीका सम्पत्ति रोक्का भएको छ भने केही पक्राउ परेका छन् ।

यसले बजारमा मनोवैज्ञानिक असर परेको छ । सम्पत्ति शुद्धीकरणको मामलामा केही व्यवसायीमाथि धरपकड हुँदा अरूसमेत त्रसित बनेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष नरेन्द्र सिजापति बताउँछन् ।

‘ठूला व्यवसायीले ठूलै परिमाणको सेयर होल्ड गर्छन्, अहिलेको अवस्थामा उनीहरूले नै बिक्री बढाएका हुन सक्छन्,’ उनले भने ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान राज्यको नियमित काम भएकाले यसकै कारण सेयर बजार त्रसित हुन जरुरत नभएको सरोकारवाला बताउँछन् । तर, बजारमा ठूला व्यवसायी नै सेयर बेच्न लागे भन्ने हल्लाले थप ठूलो अंकमा झार्न प्रेरित गरेको उनको दाबी छ ।

‘बजार घटेकै कारण अरू कारोबारी तथा लगानीकर्ता समेत बेचेर उम्किन खोजेको देखिन्छ, यसले बढी असर पारेको छ,’ सिजापतिले भने ।

सरकारले सेयर बजारको विपक्षमा नभई सुशासनलाई जोड दिन खोजेको सरकारी अधिकारी बताउँछन् । यसअघि केही लगानीकर्तासँगको भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजारलाई पारदर्शी र सुशासनयुक्त बनाउन सरकारको प्रयास रहने, पूँजीबजारको विकासमा ध्यान रहेको बताएका थिए । तर, पनि बजार सम्हालिन सकेको छैन ।

सेयर बजारका ठूला लगानीकर्ता पनि सम्पत्ति शुद्धीकरणका नाममा सरकारको निसानामा परेको हल्लासँगै डर फैलिएको एसोसिएसन  अध्यक्ष सागर ढकाल बताउँछन् ।

‘यो डरको आयु धेरै लामो छैन, सरकारले कानुन कार्यान्वयन गर्दा वा सुशासन कायम गर्न खोज्दा सेयर बजार घट्नुपर्ने त होइन, तर मनोविज्ञानकै आधारमा बजार चल्ने भएकाले अस्वाभाविक घट्यो,’ ढकालले भने ।

बजारको गिरावट धेरै तल नझर्ने उनको दाबी छ । ‘केही दिनमा नै बजार सूचकले सकारात्मक लय समाउने छ,’ उनले भने, ‘सरकारले पनि लगानीकर्तालाई विश्वासमा लिने गरी पूँजीबजार सुधारका काम गर्नुपर्दछ ।’

घटेको बजारमा खरिद गर्ने झन् कमजोर देखिएकाले बजारको ओरालो थामिन नसकेको अर्का एक ब्रोकर सञ्चालक बताउँछन् ।

‘ठूला सेयर लगानीकर्तालाई पनि सरकारले धरपकड गर्न सक्ने भन्दै बजारमा त्रास फैलिएको छ,’ ती सञ्चालकले भने, ‘यसले धेरैलाई बजार कतै १८ सयमै झर्ने हो कि भन्ने डर बढाएको छ ।’

बजार धेरै घटिसकेपछि लगानीकर्ता तथा कारोबारीलाई नियामकले समेत आश्वस्त पार्नुपर्नेमा त्यसो हुन सकेको छैन । ‘बजारको शुद्धीकरणसँगै लगानीकर्ताको अत्मविश्वास मजबुत बनाउनेतर्फ बोर्डको ध्यान केन्द्रित छ,’ धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भने, ‘सरकार सेयर बजारप्रति नकारात्मक छैन, सुधारका लागि गर्नुपर्ने काम द्रुत गतिमा अघि बढाउन निर्देशन गरिरहेको छ ।’

सेयर बेचेको पैसा सम्बद्ध लगानीकर्ता तथा कारोबारीको बैंक खातामा सिधै जम्मा हुन्छ, सेयर खरिद गर्दा पनि बैंकिङ माध्यमबाटै भुक्तानी हुने हो ।

‘त्यसैले अवैध रकम बजारमा आएको थियो भने पनि त्यो रकम सेयर बेचेर वैध हुने वा अन्त लुकाउन सम्भव हुँदैन,’ एक ब्रोकर सञ्चालकले भने, ‘त्यस्तो अवैध सम्पत्ति बैंकमा भए पनि रोक्का नै हुन्छ, सेयर भए पनि रोक्का नै हुन्छ वा घरजग्गामा गएको खण्डमा पनि रोक्का हुन्छ ।’

केही व्यवसायी पक्राउ परेपछि बजारमा ठूलो अफवाह फैलाइएको र यसले लगानीकर्ताको मनोबल कमजोर बनेको नेपाल इन्भेस्टर्स फोरम अध्यक्ष तुलसीराम ढकाल बताउँछन् ।

‘सम्पत्ति शुद्धीकरणको मामलामा सोधपुछका लागि केही व्यवसायी पक्राउ पर्दैमा बजार यसरी झर्नुपर्ने होइन,’ उनले भने, ‘सेयर बजारमा बैंकिङ प्रणालीबाटै पैसा आउने हो, नगदमा कारोबार हुँदैन ।’

व्यवसायीको धरपकड बाहेक बजार घट्ने अरू आधार अहिले नरहेको ढकाल बताउँछन् । ‘ब्याजदर अति न्यून छ, लगानीका अन्य विकल्प छैनन्, नीतिगत सुधार धमाधम भइरहेको छ, वैशाखदेखि मार्जिन कारोबार सुरु हुँदैछ,’ ढकालले भने, ‘मुद्रा सञ्चितिदेखि अन्य तथ्यांक राम्रा छन् ।’

बजार छोटो समयमै उच्च दरले घटेकाले छोटो समयमै उही गतिमा रिकभर पनि हुन सक्ने उनको भनाइ छ ।

केही लगानीकर्ता आन्दोलनमा

सरकारले पूँजीबजारमा आवश्यक सुधारका काम पनि नगर्ने र सर्वसाधारणलाई आश्वस्त पार्ने काम पनि नगरेको भन्दै केही लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् । लगानीकर्ताको एउटा संगठनले आज सिंहदरबारको दक्षिण गेटमा केही बेर प्रदर्शन गरेको थियो ।

‘कसैले अवैध सम्पत्ति आर्जन गरेको वा अन्य वित्तीय गडबडी गरेको भए कारबाही हुनैपर्छ,’ आन्दोलनमा रहेका लगानीकर्ता तिलक कोइरालाले भने, ‘तर, बजार एकोहोरो झरिरहँदा केही पनि नबोल्ने, पूँजीबजार सुधारका काम पनि नगर्ने हुनु भएन ।’

आफूहरूको माग पूँजीबजार सुधारका कामलाई तीव्रता दिन सम्बद्ध पक्षलाई दबाब दिने मात्रै रहेको उनले बताए ।

‘सेयर बजारकै प्रविधि तथा प्रणाली सुधारका लागि गर्नुपर्ने थुप्रै काम छन्, त्यतातिर सरकारको ध्यान जाओस्, कमसेकम बजारका लागि काम भइरहेको सन्देश आओस् भन्ने हाम्रो चाहना हो,’ कोइरालाले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?